छथर गाउँपालिकाले स्वास्थ्य सुविधा उपलब्ध गराउने

नेपाल सरकारले दिने स्वास्थ्य सुविधा छथर गाउँपालिकाले उपलब्ध गराउने भएको छ । मृगौला प्रत्यारोपण गरेका, डायलसिस गरिरहेका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीले पाउने मासिक पाँच हजार गाउँपालिकाले उपलब्ध गराउने भएको गाउँपालिकाले जनाएको छ । सेवा लिन वडा कार्यालयबाट प्रकृया पूरा गरी गाउँपालिकामा सूचीकृत हुनसमेत आग्रह गरिएको छ ।
गाउँपालिकाले दीर्घरोगीहरूलाई पाँच हजारदेखि २५ हजार सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताए । “हामीले गाउँपालिकामा रहेका दीर्घरोगीहरूलाई सहयोग मात्रै गरेका छैनौ स्वास्थ्य बिमासमेत नि:शुल्क गर्दै आएका छौं । गाउँपालिकामा रहेका नागरिकलाई सरकार आफूसँग भएको अनुभूति दिलाउने उद्देश्यका साथ हामीले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएका छौं,” उनले भने । गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरैमा पुगेर स्वास्थ्य जाँच औषधि वितरण गर्दै आएको छ । गाउँपालिकाको तथ्यांकअनुसार दीर्घरोगीलाई करिब २५ लाख रुपैयाँ वार्षिक सहयोग गरेको जनाएको छ ।
गाउँपालिकामा रहेका नागरिकलाई स्वास्थ्य सेवादिन विभिन्न वडामा स्वास्थ्य इकाई केन्द्र स्थापना गरेको छ । आर्थिक रूपमा कमजोर तथा विपन्न परिवारका नागरिकलाई गाउँपालिकाले ल्याएको कार्यक्रमले राहत पाएको स्थानीय बताउँछन् । गाउँको केन्द्रमा स्वास्थ्य इकाई स्थापनाले घण्टौ लामो बाटो हिँडेर स्वास्थ्य सेवा लिनुपर्ने बाध्यता हटेको छथर–२ का सुकमाया लिम्बुले बताइन् । “गाउँमा औषधि नहुँदा सामान्य झाडा पखालालाग्दा समेत बोकेर स्वास्थ्य चौकी जानु पथ्र्याे तर, अहिले गाउँमै स्वास्थ्य केन्द्र छ हामीलाई सुविधा भएको छ,” लिम्बुले भनिन् । गाउँगाउँमा सवारी साधान नपुग्दा यहाँका नागरिकले कि घण्टौं हिँडेर कि बोकेर स्वास्थ्य सेवा लिनुपर्ने बाध्यता रहेको थियो ।