Logo

दोस्रो चरणमा थप केयरगिभर इजरायल पठाउने तयारी

इजरायल सरकारले हाल इजरायल प्रवेश गरेका १ हजार १०० बाहेक दोस्रो चरणमा थप नेपाली केयरगिभर लैजाने भएको छ । यसका साथै इजरायलको कृषि क्षेत्रमा समेत नयाँ मोडालिटीमा नेपाली श्रमिक पठाइने भएको छ ।
नेपालमा तत्काल रोजगारीको सम्भावना नभएको र रेमिट्यान्स आय समेत घट्दै गइरहेको जनाउँदै सरकारले थप नेपाली युवालाई रोजगारीको लागि इजरायल पठाउने योजना बनाएको हो । इजरायल सरकारले यसअघि नै १ हजार नेपाली श्रमिकलाई केयरगिभरको सहायक कामदारको रुपमा रोजगारीको अवसर दिन इजरायल प्रवेश गराइसकेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भएको छलफलपछि नेपालबाट कृषि क्षेत्र र केयरगिभरमा सहायक कामदारको रुपमा थप नेपाली युवा पठाउने तयारी सुरु गरिएको हो । गत मंगलबार इजरायलको जनसंख्या तथा अध्यागमन अथोरिटी (पिवा) की निर्देशक सेर्ली राइसिन सहित मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसाल, वैदेशिक रोजगार विभागका निर्देशक डम्बर सुनुवार र नेपालस्थित इजरायली राजदूत हनान गोडरबीच कृषि तथा केयरगिभरमा थप नेपाली पठाउने विषयमा छलफल भएको छ ।
मन्त्रालयका उपसचिव भुसालले इजरायलको केयरगिभरको क्षेत्रमा थप नेपालीलाई रोजगारी दिने गरी नयाँ नेपालीको छनोट गर्ने योजना रहेको बताए । थप कति नेपाली लैजाने भन्नेबारे संख्या यकिन नभए पनि कृषि र केयरभिगरमा थप नेपाली लैजाने सम्बन्धमा इजरायल सरकार सकारात्मक रहेको मन्त्रालयले जनाएको छ । यसअघि केयरगिभरमा छनोट भएका मध्ये अभिमुखिकरण गरेर बाँकी रहेका थप १०० नेपालीलाई पठाउने सम्बन्धमा समेत छलफल भएको उपसचिव भुसालले जानकारी दिए । हालसम्म दुई सरकारबीच भएको श्रम सम्झौताअनुसार १ हजार २४ नेपाली इजरायल प्रवेश गरिसकेका छन् । हाल रोजगार सम्झौता केही ढिलो भएका नेपालीलाई पठाउने सम्बन्धमा विभागले काम गरिरहेको छ । केही दिनभित्र बाँकी रहेका नेपालीलाई समेत पठाउने गरी छिटोछरितो भिसा र हवाई टिकटको प्रक्रिया अघि बढेको विभागले जनाएको छ । यसअघि इजरायलले ६७४ महिला र ३२० पुरुषलाई इजरायलका विभिन्न वृद्धाश्रम (वेताबोद) र अस्पतालमा काम गर्ने गरी नेपालीलाई रोजगारी दिइसकेको छ । इजरायलले केयरगिभर बाहेक कृषि क्षेत्रका लागि १ हजार नेपाली लैजाने जनाएको छ ।

अवैध हुन्डी कारोबारीलाई कारवाही गरिने
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले पछिल्लो समय इजरायलमा बढ्दै गइरहेको हुन्डी कारोबारलाई नियन्त्रण गर्न सरकारी निकायलाई निर्देशन दिएका छन् । इजरायलमा भइरहेको हुन्डी कारोबारसम्बन्धी समाचारलाई आधार मानेर हुन्डी कारोबारीलाई कारवाही गर्ने निर्णय भएको हो ।
सचिव अर्यालको निर्देशनमा उपसचिव भुसाल, विभागका निर्देशक सुनुवार, पिवाकी निर्देशक राइसिन र नेपालस्थित इजरायली राजदूत गोडरबीच अवैध हुन्डी कारोबारलाई नियन्त्रण गर्ने सम्बन्धमा छलफल समेत भएको छ । छलफलमा नेपालको प्रचलित कानुन बमोजिम हुन्डीबाट नेपालमा पैसा पठाउने काम गैरकानुनी भएकोले इजरायलमा सक्रिय हुन्डी कारोबारीलाई तुरुन्त कारवाही गर्ने निर्णय भएको छ । यसका साथै इजरायलमा कार्यरत नेपाली श्रमिकलाई औपचारिक माध्यमबाट नेपाल पैसा पठाउन अग्रह गरिने भएको छ । यसका लागि इजरायलस्थित नेपाली दूतावासलाई सक्रिय बनाउने तथा त्यहाँ वैधानिक तरिकाले रेमिट्यान्स सेवा प्रदान गर्दै आएका बैंक तथा वित्तीय संस्थाको सेवालाई श्रमिकमैत्री बनाउने गरी काम अघि बढाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्