सुरक्षित यात्रा बनाउन सबैको दायित्व उत्तिकै «

सुरक्षित यात्रा बनाउन सबैको दायित्व उत्तिकै

नेपालीहरूको ठूला चाडपर्व नजिँकिँदै छन् । यसैबेला ठूला सवारी दुर्घटनाका घटना पनि बढ्ने गरेका छन् । जसले गर्दा प्रत्येक नेपालीलाई चाडबाड खल्लो महसुस गराइदिन्छ । केही दिनअघि भएका सवारी दुर्घटनामात्र एक दर्जन बढीको मृत्यु भइसकेको छ । यो क्रम यत्तिकै रोकिए प्रत्येक नेपालीले खुसीले चाडबाड मनाउन पाउने थिए । काठमाडौंलाई कर्मथलो बनाएर बसेकाहरू दसैं, तिहार, छठलगायतका चाडपर्वका लागि काठमाडौं उपत्यकाबाट धमाधम बाहिरिने क्रम सुरु भएको छ । चाडपर्वलाई लक्षित गरी यातायाता व्यवसायीले अग्रिम टिकट पनि बिक्री गरेका छन् । जसका आधारमा भन्दा गत वर्षमा झण्डै दोब्बर यात्रु उपत्यकाबाट बाहिरिने अनुमान छ । यो क्रम फुलपाती तथा घटस्थापनापछि अझै बढ्न सक्ने अनुमान छ । सरकारले १० असोजबाट २५ ठाउँमा यात्रु सहायता कक्षको व्यवस्था गर्न लागेको पनि जनाएको छ । जसले तोकिएकोभन्दा फरक भाडा लिए, कुनै पनि किसिमको दुव्र्यवहार गरे तथा ठाउँठाउँमा कुनै पनि समस्या हुँदा सम्पर्क गर्न सकिन्छ ।
तर, सडकको अवस्था भने सुधार भएको छैन । अहिले पनि देशका विभिन्न ठाउँमा जाने सडकको अवस्था नाजुक छ । सडककै कारण पनि सवारी दुर्घटना बढेको अनुमान गर्न सकिन्छ । सडक विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ट्राफिक प्रहरी, यातायात व्यवसायी सबैको ध्यान सुरक्षित यातायात भए पनि सडकको दुरावस्थाले सुरक्षित रूपमा यात्रु घर जानसक्ने वातावरण छैन । सडक मर्मतका विषयमा समयमा नै काम नगरेका कारण चाडपर्वको मुखमा धेरै सडक दुर्घटना बढेका छन् । हरेक वर्ष यस्ता घटना बढ्दा पनि सडक मर्मतमा सरकारको ध्यान जान सकेको छैन । पटक पटक वर्षाले गर्दा देशभरका धेरै सडकमा खाल्डाखुल्डी बढेका छन् । वर्षाले ठाउँठाउँमा पहिरोका कारण सडक अवरुद्ध भइरहेको छ । यसै सन्दर्भमा कारोबार राष्ट्रिय आर्थिक दैनिकले यात्रुहरूसँग गरेको कुराकानीको सार :

डिजिटलतर्फ जाँदा ठगीबाट बच्न सकिन्छ
दिनेश शाही
विद्यार्थी
डोटी, हाल : बानेश्वर
चाडपर्वमा यातायातको साहै्र असुविधा छ । पहिले टिकट तथा सिटको कुरा हुन्छ । बस कुनै पुराना हुन्छन्, अनि दुर्घटनाको पनि डर, साथै टिकट काट्दा अन्तिम सिटमा पर्‍यो भने कति गाह्रो हुन्छ । टाढाको बाटो, महिला, छोरी–चेलीबेटीलाई झनै गाह्रो हुन्छ । एक महिनाअघिदेखि टिकट काट्नुपर्छ । गाडी पाइँदैन कि भन्ने डरले चाडपर्वको बेलामा बस भाडा अझै महँगो हुन्छ । सहज तरिकाले जाऊँ न भन्दा हामीजस्तो मध्यम वर्गीयले त्यो पैसाले धान्न सक्दैनौं, साथै अझै महँगो हुन्छ हवाईजहाजको भाडा । असुविधा भन्दै जाने हो भने भनेर पाना भरिएलान् तर असुविधा सकिँदैन । बाटोदेखि लिएर साधनसम्म साथै बिरामी पनि त्यस्तै गाह्रो हुने, यो झरीको समयमा यातायात बिग्रेर, बाटो बिग्रेर कति दिन जाम भएर बाटोमै बस्नुपर्ने अवस्था पनि हुन्छ । यस्ता धेरै छन् यातायातका असुविधा । यसका लागि सरकारले मूल्य घटाउनुका साथै गाडीको संख्या वृद्धि गर्‍यो भने यात्रुले सुविधा राम्रो पाउँछन् कि ? टाढाको बाटोका लागि त उभिएर पनि जान सकिँदैन । अहिले विश्व यस्तो महामारीबाट बल्ल–बल्ल निस्कँदै छ, आर्थिक रूपमा सङ्कट छ अझै । यातायात नबढाउने, यात्रुको चाप मात्रै बढाएर अझै महामारी फैलाउने काम पनि गर्नु भएन । यसले यात्रुलाई धेरै समस्या पर्छ, साथै राज्यलाई पनि त सङ्कट निम्त्याउने कुरा हो यो । यस्ता सङ्कट नहोस् भनेर यातायात संघहरूले विभिन्न रूपले सोच्नुपर्ने कुरा हो, साथै यो सुविधाको निमित्त सरकारले पनि गाम्भीर्यपूर्वक सोच्नुपर्ने हुन्छ । बाटोमा भन्दा बढी सवारी साधनमा समस्या देखिन्छ । टिकट काट्ने बेला राम्रो छ, भन्दै लान्छ भित्र हेर्दा कति समस्या हुन्छ । बाटोमा साधन बिग्रन्छ । कतिपय सिटहरू हल्लिने, राम्रो नपर्ने, झ्याल नहुने, भए पनि बन्द भइराख्ने । यी यावत कुराका असुविधा निकै हुन्छ । बाटो पनि कहिले हिलो, कहिले बन्दै गरेको खच्याकमच्याक हुन्छ, अर्को वर्ष सहज होला भन्यो, हुन्न । आजदेखिको कुरा होइन, बाटोका लागि त कति असहज छ भनेको बाटोको निर्माण सुरु हुँदादेखि हो, तर सम्बन्धित निकायको ध्यान जाँदैन । ठगीबाट बच्नलाई त हामीले आफू सजग हुने हो पहिला । अर्को भनेको डिजिटल जमाना छ अहिले । डिजिटलतर्फ जाँदा ठगीबाट बच्ने राम्रो उपाय यो देख्छु म । घर नजाने भन्ने कुरामा जानै नसकिने परिस्थिति आयो भने नजाँदा पनि हुन्छ । तर, आफ्नो दु:खसुख, आफ्ना आफन्त सबै छोडेर आएको कर्मथलोमा, जन्मथलोलाई माया मार्नु त भएन नि ! साथै, हिन्दूहरूको महान् चाड दसैं जोगाउनु पनि हाम्रो कर्तव्य हो । रमाइलो गर्ने मौका, सुखदु:ख साटासाट गर्ने बेलामा जानुपर्छ भन्ने लाग्छ मलाई ।


सडक राम्रो नहुँदा पनि यात्रा कष्टकर छ
चन्द्रा भट्टराई
व्यापारी
स्याङ्जा, हाल : कलंकी
यातायातमा निकै असहज हुन्छ । विशेष असहज भनेको सिट व्यवस्था गर्नका लागि हो । हामी भनेको मध्यमवर्गीय परिवारबाट आएका हौं । नेपालमा धेरै परिवार मध्यवर्गीय नै छन् । त्यसैले हवाईजहाज चढ्नलाई त्यति पैसा ल्याउन गाह्रो पनि त हुन्छ । त्यसैले हामी बसमा जान बाध्य हुन्छौं । सवारी साधनमा जान धेरै असुविधा हुन्छ । जस्तै— टिकट पाउन निकै गाह्रो हुन्छ । त्यो समयमा टिकट पाइयो भने पनि धेरै खर्च गर्नुपर्छ । आफ्नो गाउँघर जान पनि पर्‍यो । वर्षमा एक पटक आउने चाड हो । गर्मी, बाटो त्यस्तै असहज, धूवाँधूलो, गाडी नपाए छतमा समेत बसेर जान बाध्य हुन्छन् नेपाली जनता । कैयौं दुर्घटना भइसकेको छ । आफ्नो ज्यानै जोखिममा पर्ने हो यो बाटो जानलाई नेपाली जनता । हामीजस्ता खुसी मनाउन गएकाहरू यातायातको असुविधाले कहिले ज्यान गुमाएका दु:ख खबर सुन्नुपर्छ । कतिपय अवस्था त दसैं, बिहे, व्रतबन्धजस्ता शुभकार्यमा जाने व्यक्तिले पनि ज्यान गुमाउनुपर्छ । खुसी हौंला, रमाउँला भन्दाभन्दै दु:खले कति बेला अँगाल्छ, थाहा हुँदैन । कारण अरू होइन, हाम्रो देशका सवारी, यातायात, बाटो नै हो । यातायातको व्यवस्थापन टिकटबाट गर्न सक्छौं, हामीले डिजिटल जमानामा परिवर्तन हरेक कुरामा पायौं तर बसको पनि राम्रो सुविधा हुन्छ भन्ने आसमा छौं । बाटो पाइला–पाइलामा खाल्डाखुल्डी छ । थोरै हिँड्छ, घच्याकघुचुक मात्र हुन्छ । सवारी साधन देख्ने बेला एउटा, चढ्ने बेला अर्को हुन्छ । हरेक वर्ष कुनै बस कस्ता, कुनै साधन बाटोमा बिग्रेर दु:ख हुन्छ । कहिले बाटो बिग्रेर सात–आठ घण्टा जाम बस्नुपर्छ । ठगी घटाउने मुख्य उपाय भनेको आफू सजग हुनुपर्छ । कसैले के भन्छन्, कसैले के भन्छन् । तर, आफूले बुझेर, सचेत भएर हिँड्नु नै राम्रो उपाय हो । किनभने हाम्रो देशका सरकारले जति गरे पनि बिचौलियाले छोडदा रहेनछन् । आफू सजग हुनुपर्छ, बल्ल ठगीबाट बच्न सकिन्छ । घर जानैपर्छ भन्ने अनिवार्य छैन, खुसी बाँडे बढ्छ भन्छन् । आफू जहाँ रह्यो त्यहाँ खुसी दिन पनि सक्नुपर्छ । किनभने हामी परदेशमा छैनौं, सबै नेपाली मिल्ने हो भने सबैको चाड खुसीले मनाउन सकिन्छ । आर्थिक रूपमा सबल नभएका नेपालीदेखि आर्थिक रूपमा अति सफल भएका व्यक्तिले पनि आफ्नो चाड मनाउन जान्ने हो भने खुसी चाहिन्छ, चाडका लागि घर होइन ।

चाडबाडमा यातायात नै मुख्य समस्या हो
असीम श्रेष्ठ
विद्यार्थी
पाल्पा, हाल : काँडाघारी
नेपाली तथा दाजुभाइ–दिदिबहिनीको महान् चाड हो— दसैंतिहार । यसमा यातायातका असुविधा धेरै छन् । आफ्नो उच्च शिक्षा हासिल गर्न भन्दै आएको मजस्तै कति व्यवसायी पनि छन् । आफ्नो जन्मथलोलाई भुलेर कर्मथलोमा आउने हो । विशेष दिन परेको हुँदा हामी आफ्नो जन्मथलो जाने गर्छौं । त्यसका साथै आफ्ना आफन्तसँग भेट गर्न जान्छौं । त्यसमा पनि यातायातको समस्या भनेको मुख्य समस्या हो । जस्तै पैसा महँगो, ठगीको डर । चोर, पकेटमार यही बेलामा बढी हुने, फेरि टिकट तथा सिटको कुरा हुन्छ । बस कुनै पुराना हुन सक्छन्, दुर्घटनाको पनि डर साथै टिकट काट्दा अन्तिम सिटमा पर्‍यो भने कति गाह्रो हुन्छ । टाढाको बाटो झन् महिला, छोरी–चेलीबेटीलाई झनै गाह्रो हुन्छ । १५ दिनअघिदेखि टिकट काट्नुपर्छ । गाडी पाइँदैन कि भन्ने डरले चाडपर्वको बेलामा बस भाडा अझै महँगो हुन्छ । दसैंतिहारमा घर जान टिकट काटेर साथै हामीले आफैं बसपार्कमा गई बस्ने र गाडी चढ्ने कतिपय अवस्थामा सवारी पाइँदैन, छिटो जानुपर्ने हुन्छ । आफूलाई कोही चिनेका ब्यक्तिलाई भनेर गाडी बुकिङ गरेर यातायात व्यवस्थापन गर्नुपर्छ । बाटोको समस्या त बाटोको निर्माणदेखि नै भनेको हो । हरेक नेपालीलाई लामो यात्रामात्र होइन, घरको आँगनसम्म नै हुन्छ, कुनै बाटो राम्रो, कुनै हिलो, कुनै धूलो । यस्तै छ बाटो, समस्या पनि हो । कतिपय बाटो जाम, कति पहिरोले बन्द, कतै साँघुरो हो, सवारी साधन समस्या त धेरै छ । मैले माथि व्याख्या गरेअनुसार लिन सक्छौं । चाडबाडमा हुने यातायातको ठगी, अहिले डिजिटल प्रविधिले जमाना चल्छ । यो बसका लागि पनि किन सुविधा नबनाउने ? यसलाई सुविधा दिएर सहज रूपमा टिकट काट्ने बनाउने, साथै यातायात समिति व्यवस्थापन गर्ने र आफू सजग भई घटाउने । चाडबाडमा घर जानैपर्छ भन्ने लाग्छ, किनभने हामी पढ्न आएका विद्यार्थी हौं । आफ्नो गाउँठाउँजस्तो नहुने रहेछ । परदेश होइन, आफ्नो देश भनेर के गर्नु ? एउटै घरमा बस्ने व्यक्तिले अर्कोलाई चिन्दैनन् । आफ्ना ठूलाबडाबाट आशीर्वाद लिने समय, हिन्दूको महान् चाड, सकेसम्म आफ्नै परिवारसँग मनाऊँ भन्ने हाम्रो सोच रहन्छ ।

दसैंतिहारमा यातायातका साधन थप गर्नुपर्ने हुन्छ
सुवास बोहरा
विद्यार्थी बैतडी, हाल: तारकेश्वर
धेरैभन्दा धेरै असुविधा छ । खासगरी संघीय राजधानी काठमाडौंबाट बाहिर जाने यातायातमा यो समस्या देखिन्छ । दसैंतिहारमा निरन्तर चलिरहेको भन्दा यातायातका साधन थप गर्नुपर्ने हुन्छ । ठ्याक्कै यो दसैंतिहारको समय भनेको वर्षायामको समय भएकाले बाटोमा पहिरो खस्ने, बाटो धेरै ठाउँमा विस्तार गर्न भनेर डोजर आतंक गरेको देखिन्छ । यसले अलि असुविधा भएको जस्तो छ । अर्को कुरा, सवारी साधन पाइहाल्यो भने त्यस्तो बाटोमा समस्या हुँदैन । अनि बाटोमा समस्या भनेको खाना खाँदा हो । गुणस्तरहीन खानेकुरा, बासी खानेकुरा, त्यो पनि अरू बेलाको तुलनामा महँगो हुने गर्छ । यातायातमा ठगी हुन सक्छ । हामी यात्रुहरूले पहिलो नम्बरमा आफैं सतर्क हुने । त्यस्ता घटना घटिहाल्यो भने तुरुन्तै सम्बन्धित निकाय, यातायात कार्यालय ट्राफिक प्रहरीमा खबर गर्ने र विभिन्न ठाउँमा चेकजाँचको व्यवस्थापन गर्‍यो भने यातायात हुने ठगी कम गर्न सकिन्छ ।
सर्वप्रथम त चाडपर्वमा नै सबै अफिस, विद्यालय संघसंस्थामा अलि बढी बिदा पाउने हुन्छ । यसले गर्दा मानिस घर जान रुचाउँछन् । अर्को, धार्मिक आस्था । विभिन्न किसिमको चाडपर्व मनाउने भएकाले र चाडपर्वमा नै सबैसँग भेटघाट हुने भएकाले चाडपर्वमा घर जाने चलन छ । चाडपर्वमा घर जानैपर्ने भन्ने त्यस्तो अरू केही पनि छैन ।

चाडबाडमा यातायातमा ठगी धेरै मात्रामा हुने गर्छ
प्रदीप काफ्ले
विद्यार्थी, स्याङ्जा, हाल : गोठाटार
चाडपर्वमा यातायातको धेरैभन्दा धेरै असुविधा हुने गर्छ । चाडबाडमा गाउँदेखि उच्च शिक्षा हासिल गर्न आएका विद्यार्थी, व्यापारीदेखि बसाइँसराइ गरेर आएका मानिसहरू आफ्नो जन्मथलो जाने गर्छन् । सबै जनता चाडबाडमा घर जाँदा यातायातको असुविधा हुने गर्छ अनि अर्को कुरा, गाडी जाममा परेर ५ देखि ६ घण्टासम्म बस्नुपर्ने हुन्छ । घाम, गर्मी, केही दिन खुसी हुन गएका हामी बाटोमा निराशाको सामना गर्नुपर्छ । शौचालय राम्रो हँुदैन, रोग फैलिएला कि भन्ने डर । अर्कातिर खानेपानीसमेत नपाउँदाको पीडा धेरै हुन्छ अनि चाडबाडमा यातायातमा ठगी धेरै मात्रामा हुने गर्छ । जस्तै— पहिला ७ सय रुपैयाँ गाडी भाडा थियो भने चाडबाडको बेलामा बढेर ११ सयसम्म पुग्न जान्छ । यात्रा गर्दा गाडीमा बस्ने ठाउँ नपाएर त्यत्रो लामो बाटो उभिएर जानसमेत बाध्य हुनुपर्छ । उभिएर यात्रा पनि धेरै गरिएको छ । उभिएर यात्रा गर्दा पकेटमार हुने अनि महिलाहरूलाई धेरैभन्दा धेरै असुरक्षा हुने, बिरामी, अशक्त मानिसहरूलाई गार्‍हो हुने जस्ता समस्याहरूले धेरैभन्दा धेरै दु:ख दिइरहेको छ । बाटोको समस्याले गर्दा तीन–चार घण्टासम्म जाममा परेका पनि छौं । काठमाडौंदेखि स्याङ्जा जाने क्रममा मुग्लिनमा पहिरो खसेर १२ घण्टा जाममा पनि त परेका हौं । प्राकृतिक प्रकोप, कति बेला के हुन्छ पत्तै नहुने । अहिले पनि त सङ्कट नहोला, जाम नहोला भन्ने के भर ? तर, सरोकारवालालाई त्यो कुराको वास्ता छैन । कुनै अवस्थामा त्यस्तो सङ्कट आइपरेमा हामीले कहाँ बस्ने ? भोक, प्यास तथा बिरामी पनि पर्छौं । कतिको ज्यान पनि जान सक्छ । त्यो कुरा सोच्दैन सरकार । पहिले पनि पहिरोका कारण १२ घण्टा जाम बस्दा दुई जना मानिसको ज्यानसमेत गएको थियो । यदि बाटो राम्रो भएको भए त्यो जाममा परेर कुनै पनि मानिसले ज्यान गुमाउनुपर्ने थिएन होला । चाडबाडमा घर जानैपर्छ भन्ने छैन, तर चाडबाडको बेलामा घरका दाइभाउजू, काकाकाकी, बाबाआमा, भाइबहिनी, दिदीभिनाजु, छिमेकीलगायत सम्पूर्ण आफन्तजनहरूसँग भेट गर्न पाइन्छ । त्यसैले चाडबाडमा घरमा जानु आवश्यक छ । हामी पढ्न, काम गर्न आएका हौं तर परिवार खुसी साट्ने सबैभन्दा ठूलो गाउँ हो । त्यहाँ नगए त विदेसिएको जस्तो लाग्छ मलाई । वर्षमा एक पटक आउने खुसी नकार्न पनि सकिँदैन । आशीर्वाद भनेको सित्तैंमा पाए पनि अनमोल हुन्छ, आशीर्वाद थाप्नुपर्छ, जानुपर्छ ।

प्रतिक्रिया दिनुहोस्