चाडबाडको यात्रा सुरक्षित बनाउन सरकारको उपेक्षा

विहीबार मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा यात्रु बस दुर्घटना हुँदा आधा दर्जनभन्दा बढिको जनाको मृत्यु भएको छ । काठमाडौंबाट हेटौंडाका लागि छुटेको बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको हो । ओरालो बाटोमा माथिल्लो घुम्तिबाट खसेको बस तल्लो घुम्तीमा पुगेर अड्डिएको थियो । दसैँ, तिहार, छठलगायतका चाडपर्वका लागि काठमाडौँ उपत्यकाबाट धमाधम यात्रुहरु बाहिरिने क्रम सुरु भएको छ । चाडपर्वलाई लक्षित गरी यातायाता ब्यवसायीले अग्रिम टिकट पनि बिक्री गरेका छन् । जसका आधारमा भन्दा गत वर्षमा झण्डै दोब्बर यात्रु उपत्यकाबाट बाहिरिने अनुमान छ । यो क्रम फुलपाती तथा घटस्थापनापछि अझै बढ्छ । सरकारले १० असोजबाट २५ ठाउँमा यात्रु सहायता कक्षको व्यवस्था गर्न लागेको पनि जनाएको छ । जसले तोकिएकोभन्दा फरक भाडा लिए, कुनै पनि किसिमको दुव्यवहार गरे तथा ठाउँठाउँमा कुनै पनि समस्या हुँदा सम्पर्क गर्नका सकिन्छ ।
तर, सडकको अवश्था भने सुधरा भएको छैन । चितवनसम्म सडकको अवस्था राम्रो भए पनि बुटवाल–नारायणगढ सडक नाजुक छर जसका कारण चाडबाडका यात्रुलाई आवतजावत गर्न सुरक्षित अवश्था छैन । सडक विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ट्राफिक प्रहरी, यातायात व्यवसायी सबैको ध्यान सुरक्षित यातायात भए पनि सडकको दुरावश्थाले सुरक्षित रुपमा यात्रु घर जानसक्ने वातावरण छैन । सडक मर्मतका विषयमा समयमा नै काम नगरेका कारण चाडपर्वको मुखमा धेरै सडक दुर्घटना बढेका छन् । हरेक वर्ष यस्ता घटना बढ्दा पनि सरकारको ध्यान भने जाँदैन । तयसमाथि यस पटक वर्षाले गर्दा देशभरका धेरै सडकमा खाल्डाखाल्डी बढेका छन् । वर्षाले ठाउँठाउँमा पहिरोका कारण सडक अवरुद्ध भइरहेको छ । यसै सन्दर्भमा कारोबार राष्ट्रिय आर्थिक दैनिकले यात्रुहरुसंग गरेको कुराकानीको सार :
अनुगमन प्रभावकारी हुनुपर्छ
देवराज चापागाईं
स्वास्थ्यकर्मी, स्याङ्जा
हाल : गोठाटार, काठमाडौं
धेरै असुविधा हुन्छ, जस्तै— टिकट पाउन निकै गाह्रो हुन्छ । त्यो समयमा टिकट पाइयो भने पनि धेरै खर्च गर्नुपर्छ । आफ्नो घरगाउँ जान पनि पर्यो, वर्षमा एक दिन आउने चाड हो । गाडी भीडभाड, त्यही माथि महामारीको समयमा रोगको पनि डर छ, महामारी अझै फैलिएला कि भन्ने । अर्कोतिरबाट सोच्नुपर्यो, धेरै कमाउने भए त हामीजस्तै सबै हवाईजहाजमा जान हुन्थ्यो । हामी मध्यमवर्गीय परिवार परियो । सरकारले जे–जस्तो सुविधा दिएका छन्, त्यसरी नै हिँड्नुपर्यो । तर, यस्तो अवस्थामा हिँड्न पनि डर । नजाऊँ भने पनि हिन्दू धर्मको महान् चाड दसैं, मनले मान्दैन । कहिले यातायातको समस्या, कहिले भीडभाड, कहिले जाम, यस्तै समस्यै समस्या छ । दसैंतिहारमा त्यसै पनि टिकट पाउन गाह्रो हुन्छ । त्यसैले एक महिना अगाडिदेखि नै बसपार्कमा गएर टिकटको व्यवस्थापन गर्नुपर्छ । मेरो घर स्याङ्जा हो, म काठमाडौंदेखि पुग्दासम्म आठ घण्टाको बाटो, कहिले जाम, बाटोघाटो, धूवाँधूलो गर्दै जाँदा १० घण्टासम्म लाग्न जान्छ । त्यही माथि यो बर्खामासको समयमा, पछि पहिरो धेरै जान सक्ने सम्भावना भएकाले अझै लामो यात्रा हुने पनि गर्छ । सवारी साधनको त त्यति समस्या छैन नै, भनौं मलाई खासै समस्या छैन । हामीले दसैंको दिनसम्म घर जान्छु भन्दासमेत टिकटको त्यति समस्या छ जस्तो मलाई लाग्दैन । हामीलाई बाटोको समस्या धेरै हुन्छ । कच्ची बाटो, खाना पनि महँगो, बाटोमा नखाऊँ भने पनि पेट हो, माग्छ । अनि यति होइन र ? यो सामानको भन्दासमेत खाए खानु नत्र धेरै जान्ने हुन पर्दैन । यहाँ यस्तै हो, लेखेको मूल्यभन्दा पनि धेरै मूल्यमा सामान किनेर खानसमेत बाध्य हुनुपर्छ हामी, साथै कहिले जाम, कहिले कच्ची बाटोले पनि बढी सताउँछ । हाम्रो तर्फबाट त त्यति पहल गर्न नसकिएला, यो समस्याको समाधानका लागि त सरकारवालाबाटै पहल हुनुपर्ने हो कि ? जस्तै— पट्रोलदेखि लिएर विदेशबाट आउने मेसिनरी सामान पनि महँगो छ । यस्ता कुराको समाधान गर्न नसकिएला कि ? सामान पनि उत्तिकै महँगो छ । म एउटा स्वास्थ्यकर्मी भएको हुँदा आफ्नो व्यवसाय छाडेर हिँड्न पनि गाह्रो पर्ने टिकट काट्न जानलाई । अहिले पो आधुनिक जमाना छ, घरमै बसेर टिकट काटिन्छ भन्छन् । मलाई त्यति ज्ञान भएन यसका बारेमा । बसपार्कसम्म जान हिँड्न मिल्दैन, त्यसैले अरूको सहयोग लिनुपर्छ । लिँदाखेरि उनीहरूको पनि त काम हुन्छ । त्यसैले सय–पचास नराखी कहाँ काम गर्छन् त, भाडा महँगो छ जानलाई, पट्रोलको मूल्य वृद्धि भएको छ । मेसिनरी सामानको पैसा महँगो छ भन्दै भाडा बढी लिने गरेको पाइन्छ । त्यसका लागि सरकारले आफंै भाडा तोक्ने, नभए यातायात विभागबाट नै यो कुराको मूल्यांकन हुनुपर्छ भन्ने लाग्छ । मेरो विचारमा चाडपर्वमा घर जानैपर्छ । हामी भने हिन्दू धर्मावलम्बी हौं । हाम्रो महान् चाड हो— दसैंतिहार । धर्म–संस्कृति जोगाउने त हाम्रो कर्तव्य पनि हो । आफूभन्दा ठूलाबढाको हातबाट टीका नलाऊँ भने पनि यो मनले मान्दैन । म एउटा स्वास्थ्यकर्मी हुँ । जति बेला पनि जान पनि त मिल्दैन । स्वास्थ्यकर्मीको पनि त आफ्नो कर्तव्य हुन्छ । जानका लागि असहज अर्थात् समयले पनि नदिने हुन्छ । समाजसेवा पनि गर्नुपर्यो, गरिखाने बाटो, काठमाडौंमा राम्रो सुविधा छ भनेर बसेका हौं । बस्यो भन्दैन, आफ्नो जन्मथलो भुल्न मलाई उचित पनि लाग्दैन, साथै मन लागेको बेला जानलाई मलाई मेरो पेसाले पनि दिँदैन । आर्थिक–सामाजिक हिसाबले पनि सोच्नुपर्यो त्यसैले जानु नै पर्छ । वर्ष दिनमा आएको चार्डपर्वलाई नकार्न पनि सकिँदैन ।
सबैभन्दा बढी असुविधा यातायातमा छ
नवीन बस्ताकोटी
ब्यवसायी, काभ्रे
हाल : पेप्सीकोला, काठमाडौ
चाडपर्वमा यातायातको निकै असुविधा हुन्छ । किनभने यो हिन्दूहरूको महान् चाड दसैं भएकाले आफ्नो–आफ्नो घर जाने गर्छन् । त्यसैले भीडभाड निकै हुन्छ । यातायात पनि सीमित मात्रामा भएको हुनाले यात्रुको चाप बढी हुन्छ । कोचाकोच गरेर आफ्नो कामधन्दा छोडेर जानुपर्छ । लाइन लागेर टिकट काट्नुपर्छ तैपनि पूरा सवारी साधन छैन, घर जानका लागि यो गर्मी बाटो त्यस्तै असहज धूवाँधूलो, गाडी नपाए त छतमा समेत बसेर जान बाध्य हुन्छन् नेपाली जनता, कैयौं दुर्घटना भइसकेको छ, आफ्नो ज्यानै जोखिममा पर्ने हो यो बाटो जानलाई, हामीजस्ता निमुखा जनताले जस्तो लाग्छ मलाई, खुसी मनाउन गएका हामी यो यातायातको असुविधाले कैले ज्यान गुमाएर दु:ख हुन्छ कि भन्न पनि त सकिन्न । त्यसैले असुविधा सबैभन्दा बढी यातायातमा छ । चाडपर्वदेखि अन्य विषयमा यातायातको विशेष राज्यले नै पहल गर्नुपर्ने हो, राज्यबाट हुनुपर्ने काम हुँदैन । राज्यले नै बाटोघाटोदेखि लिएर सवारी साधन, बस, सार्वजनिक यातायात भनौं सरकारले नै बढाउनका लागि गरी खान्छु भन्ने जनतालाई ऋण दिएर हुन्छ कि आर्थिक रूपमा सहजीकरण गरिदिएर अथवा राज्यबाट नै सवारी साधन बढाउनेदेखि लिएर बाटोघाटो राम्रो बनाइदियो भने पनि त धेरै सहज हुने गर्छ । हाम्रो देशको चाडपर्वमा हुने मुख्य समस्या भने सवारी साधन, बाटो, हरेक कुरामा असुविधा देख्छु म । तर, यातायातमा यात्रुलाई बढी समस्या छ अपुग मात्रामा अपर्याप्त मात्रा सवारी साधन भएको हुनाले मान्छेहरूलाई जान असहज छ र बाटो पनि त्यस्तै । कहिले ढुङ्गा आएर बस्ने, कहिले हिलो, कहिले धूवाँले सताउँछ, बाटो साँघुरो, दुईवटा ठूला–ठूला सवारी साधन बिग्य्रो भने सबै बाटो जाम भएर ५ देखि १२ घण्टासम्म बाटोमै बस्नुपर्छ । हाम्रो तर्फबाट चाडपर्वमा भएका ठगीलाई रोक्नका निमित्त हामीले घर जाँदा टिकट काटेर मात्रै जाने, टिकट काट्दा सरकारले हामीलाई यति हो, योभन्दा बढी नतिर्नु भनेको भए त अझै सहज हुन्थ्यो । तर पनि चलेको हिसाबले टिकट काटेर मात्र जाने, बिचौलियहरूले मैले यतिमा लान्छु, उतिमा लान्छु भनेर ठग्न खोज्छन् । आफूले विचार पुर्याएर मात्र जाने, सकेसम्म टिकट–काटदा राम्रो, साथै टिकट काउन्टरमा गई कति हो अहिलेको मूल्य भनेर सबै ध्यान पुर्याएर जाने, साथै बीचबीचमा पैसा खै भनेर माग्न ठगी गर्न खोज्छन् । आफ्नो पैसाको बचत गर्न पनि त जान्नुपर्यो । आफ्नो टिकट आफूले जतन गर्ने, परेको बेला देखाउने, ठगी हरेक पेसामा हुन्छ । आफू सचेत हुनुपर्छ । सरकारले हेर्दैन सामान्य कुरालाई, ठगी हुनबाट बच्ने उपाय यी पनि हुन् । चाडपर्वमा घर जानैपर्छ भन्ने पनि छैन । हामी जहाँ छौं त्यहीं आफ्नो हिसाबले के सही लाग्छ त्योअनुसार मनाउन सकिन्छ । भीडमा खाँदिएर, गाह्रो बनाएर चाड मनाउन पनि सक्छौं । किनभने सबै ठाउँमा नेपाली दाजुभाइ, आमाबुवा पाइला–पाइलामा भेटिन्छ । आफू खुसी हुन सिक्नु नै सबैभन्दा ठूलो पर्व हो । जहाँ छौं खुसीसाथ बसौं, मनाऔं, रमाइलो गरांै भन्ने धारणा हुनुपर्यो ।