Logo

कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने प्रक्रिया थालियो

कर्णालीको एकमात्र प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गरिने भएको छ ।
प्रदेश राजधानी वीरेन्द्रनगर ४ मा रहेको कर्णाली प्रदेश अस्पताल सुर्खेतलाई प्रदेश सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्न लागेको हो । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनका लागि बजेटमा बिनियोजन गरेको छ । वीरेन्द्रनगर ४ कालागाउँमा रहेको प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गर्ने प्रक्रिया थालनी भएको छ । सोहिअनुरुप प्रदेश अस्पतालले प्रक्रिया सुरु गरेको छ । ‘सुर्खेत स्वास्थ्य विज्ञान प्रतिष्ठान’ बनाउनका लागि बनाइएको ऐनको मस्यौदामाथि सुर्खेतमा सरोकारवालाहरू र विज्ञसँग छलफल गरिएको छ ।
प्रतिष्ठानका लागि विशेषज्ञ चिकित्सकीय स्वास्थ्य सेवा उपलब्ध गराउन पाँच सय शैयाको अस्पताल बनाउने प्रदेश सरकारको लक्ष्य छ । उक्त अस्पताल मध्यपश्चिम क्षेत्रीय अस्पतालबाट २०७५ कार्तिक १३ गते प्रदेश अस्पतालका रूपमा रुपान्तरण भएको थियो ।
प्रदेश अस्पतालमा अहिले तीन सय २५ जनाको दरवन्दी छ । तीमध्ये ९१ दरबन्दीमा मात्र पदपूर्ति भएको छ । अस्पताल विकास समितिमार्फत ६२ र अन्य स्रोत मार्फत दुई सय ८१ जनशक्ति अस्पतालसँग छन् । ४ सय ३९ जनशक्ति अहिले अस्पतालमा कार्यरत छन् ।
अस्पतालले १ सय ५० शय्याका लागि सरकारबाट अनुमति पाएको छ । तर अस्पताल विकास समितिमार्फत थप १ सय ४७ गरी कुल २ सय ९७ शय्यामार्फत अस्पतालले सेवा प्रवाह गरिरहेको छ ।
अस्पतालमा हालको जनशक्ति क्षमता, भौतिक पूर्वाधार, सेवाग्राहीको चाप, सेवाप्रवाहको अवस्था तथा भावी योजनाले अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गर्न लागिएको अस्पताल निर्देशक प्रा.डा. डम्बर खड्काको भनाई छ ।
कर्णालीमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न तथा सेवा क्षेत्रलाई विस्तार गर्न तथा दक्ष स्वास्थ्यकर्मीको उत्पादन तथा विकास, स्वास्थ्य अनुसन्धान तथा त्यसका नवीनता र स्वास्थ्य सेवा क्षमता सुदृढीकरण गर्न प्रतिष्ठानको आवश्यकता रहेको खड्काको भनाइ छ । अस्पतालको क्षेत्राधिकारमा २० विगाह जमिन पर्छ । यो जमिन स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनका लागि पर्याप्त रहेको डा. खड्काले जानकारी दिए । अस्पतालसँग ६ वटा भवनहरू अस्पताल मापदण्डका छन् ।
एक वर्षभित्रै अस्पतालमा मृगौला प्रत्यारोपण सेवा समेत सुरु गर्ने अस्पतालको तयारी छ । यसका साथै ‘क्याथल्याब’को स्थापना, विद्युत तथा वैकल्पिक ऊर्जाको पर्याप्त व्यवस्था, थप एमआरआई मेसिनको जडान, डायलासिस सेवामा विस्तार र बर्थिङ सेन्टर सञ्चालन गर्ने अस्पतालको तयारी छ ।
अस्पतालमा सेवाग्राहीको चाप पनि बढ्दो छ । आर्थिक वर्ष २०७६/०७७ मा दुई सय ५२ जना सेवाग्राहीले दैनिक सेवा लिएको अस्पतालबाटा हालको अवस्थामा बढेर २०७८/०७९ मा अस्पतालमार्पmत दैनिक ५ सय २५ जना सेवाग्राहीले सेवा लिने गरेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्