Logo

जीटुजीबाट इजरायल गएका श्रमिक हुन्डीको भरमा

इजरायलमा रेमिट्यान्स सेवाको पहुँच न्यून

सरकारले रेमिट्यान्स सेवाका लागि सहजीकरण गर्न नसक्दा इजरायल गएका ८० प्रतिशत श्रमिकले पहिलो महिना नै करोडौं रुपैयाँ हुन्डीमार्फत नेपाल पठाएका छन् । रेमिट्यान्सको काम गर्ने वित्तीय संस्था अभावका कारण दुई सरकारबीच सम्झौता गरेर पठाइएका १ हजार नेपालीले पहिलो महिना नै हुन्डीमार्फत पैसा पठाउनु परेको हो ।
एक कम्पनीमा काम गर्ने १५ जनामध्ये १४ जनाले आफ्नो पहिलो महिनाको तलब नै हुन्डीमार्फत पठाएका छन् । रेमिट्यान्स पठाउने बैंकको अभावका कारण बाध्य भएर हुन्डीमार्फत पैसा पठाएको श्रमिकले बताएका छन् ।
रेमिट्यान्स सेवा दिँदै आएका बैंकको पहुँच सीमित भएको र औपचारिक माध्यमबारे सरकारले चेतना जगाउन नसक्दा इजरायल गएका नेपाली श्रमिक हुन्डीमार्फत पैसा पठाउन बाध्य भएको पाइएको छ । श्रमिक इजरायल जानुअघि अभिमुखीकरणमा औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउन जानकारी दिए पनि इजरायलमा सो अनुसारको बैंकिङ सेवाको पहुँच हुन नसक्दा नेपालीहरुले हुन्डीमार्फत पैसा पठाउन बाध्य भएको बताएका छन् ।
विगत ७ महिनायता जीटुजीमार्फत इजरायल गएका १ हजार नेपालीमध्ये ८० प्रतिशतले हुन्डी प्रयोग गरेको त्यहाँ रहेका नेपालीले बताएका छन् । “बैंकमार्फत पठाउने चाहना भए पनि रेमिट्यान्स गर्ने बंैक नै कम छन्,” एक नेपाली श्रमिकले कारोबारसँग भने, “पैसा भएपनि बैंकमार्फत पठाउन समय लिनुपर्ने र महँगो भएका कारण हुन्डी प्रयोग गर्नुपरेको छ ।”
इजरायलमा विगत ९ वर्षदेखि सनराइज बैंकले रेमिट्यान्सको सेवा प्रदान गर्दै आए पनि महँगो हुने जनाउँदै श्रमिकले हुन्डी मार्फत पैसा नेपाल पठाउने गरेको जनाएका छन् । सनराइज बैंकका इजरायल प्रतिनिधि अभिमन्यु दाहालले चेतना अभावका कारण इजरायलमा भएका नेपालीले हुन्डीको प्रयोग गर्ने गरेको बताए । सनराइज बैंकले बैंकिङ माध्यमबाट पैसा पठाउन विभिन्न समयमा जनचेतनामूलक कार्यक्रम गर्दै आएका कारण पछिल्लो समय बैंकमार्फत पैसा पठाउनेको संख्या बढेको प्रतिनिधि दाहालले जानकारी दिए । सनराइज बैंकले इजरायलको वल्र्डकम फाइनान्ससँग सहकार्य गरेर नेपालमा वैधानिक माध्यमबाट पैसा पठाउने सेवा दिँदै आएको छ । यसैगरी सनराइज बैंकले एसटिबि युनियन लिमिटेडसँग मिलेर इजरायलमा रहेका नेपालीलाई कार्यालय भिजिट नगरी नेपालमा पैसा पठाउने सम्बन्धमा सहकार्य गर्ने तयारी समेत शुरु गरेको छ । इजरायलमा रहेको सनराइज बंैकले त्यहाँ रहेका नेपालीका लागि सबै प्रकारका बैंकिङ सेवा दिने गरे पनि सेवा शुल्कको भ्रममा परेर नेपालीले हुन्डीमार्फत पैसा पठाउने गरेको पाइएको छ । इजरायलमा नयाँ तथा पुराना नेपाली श्रमिक मध्ये हालसम्म इजरायलमा रहेको सनराइज बैंकमा खाता भएका नेपालीको संख्या ४ हजारभन्दा बढी रहेको छ । इजरायलमा रेमिट्यान्स सेवाका सम्बन्धमा नेपालस्थित सनराइज बैंकमा सम्पर्क गर्दा बैंकले इजरायलको रेमिट्यान्स सेवा विस्तार गर्ने सम्बन्धमा अध्ययन भइरहेको जनाएको छ ।

हुन्डीको गिरोह नै सकृय
इजरायलमा रहेका नेपालीका अनुसार त्यहाँका गल्ली–गल्लीमा हुन्डी सञ्चालनमा रहेका कारण पनि धेरै नेपालीको हुन्डीप्रति आर्कषण बढेको हो । हुन्डीमार्फत पैसा पठाउँदा १ लाख रुपैयाँमा ३ देखि ४ हजारको फरक पर्ने गरेका कारण पनि धेरै नेपाली केही पैसाको प्रलोभनमा हुन्डीमार्फत पैसा पठाउने गरेको पाइन्छ । हाल १ अमेरिकी डलर बराबर बैंकमार्फत १२७ र हुन्डीमार्फत १३० रुपैयाँ पाउने गरेका कारण पनि इजरायलमा हुन्डी मौलाएको त्यहाँ रहेका नेपाली बताउँछन् ।
औपचारिक बैंकिङ प्रणालीको सहज पहुँच नभएपछि दुई सरकार (जीटुजी) सम्झौतामा गएका ८० प्रतिशत श्रमिकले हुन्डीमार्फत पैसा पठाउने गरे पनि नेपाल राष्ट्र बंैक र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कुनै पहल गर्न सकेका छैनन् ।
नेपाल र इजरायल सरकारबीच भएको गत वर्षको सम्झौताअनुसार १ हजार नेपाली श्रमिक इजरायल प्रवेश गरिसकेका छन् । सरकारले रोजगारीका लागि गएका श्रमिकको लागि रेमिट्यान्सको लागि भरपर्दो र सहज माध्यमको व्यवस्था गर्न नसक्दा हजारौं नेपाली हुन्डीमार्फत पैसा पठाउन बाध्य भएको त्यहाँ कार्यरत नेपालीले जनाएका छन् ।
कतिपय नेपालीले वेस्टर्न युनियनमार्फत पैसा पठाएको भए पनि महँगो सेवा शुल्कका कारण पुन: हुन्डीमार्फत नै पठाउने मनस्थिति बनाएको त्यहाँ कार्यरत एक नेपालीले कारोबारसँग गुनासो गरेका छन् । कतिपय नेपालीले महँगोमा भए पनि बैंकिङ माध्यमबाट पठाउन प्रयास गरे पनि पैसा पठाउने समय र रेमिट्यान्स कारोबार गर्ने संस्थाको सीमित पहुँचका कारण पैसा पठाउन समस्या भएको गुनासो गरेका छन् । सरकारले पछिल्लो समय मुलुकी अपराध संहिता २०७४ लाई संशोधन गरेर हुन्डी कारोबारलाई थप कडाइ गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्