Logo

नयाँ स्टक एक्सचेन्ज सञ्चालन गर्न आवेदन खुला

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ स्टक एक्सचेन्ज स्थापना तथा सञ्चालनका लागि आवेदन आह्वान गरको छ । सेबोनले आइतबार सूचना प्रकाशन गरी योग्य संस्थाहरुबाट नयाँ स्टक स्थापना गरी सञ्चालन गर्नका लागि निवेदन आह्वान गरेको हो ।
धितोपत्र बजारलाई थप प्रतिस्पर्धी, प्रभावकारी, लगानीकर्तामैत्री एवं अन्तर्राष्ट्रियस्तरको प्रविधिसहितको क्षमतायुक्त बनाई धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षण गर्नका निम्ति तथा अर्थतन्त्रमा रहेका स्थापित वास्तविक क्षेत्रका संगठित संस्थालाई धितोपत्र बजारमा भित्र्याई राष्ट्रिय पुँजी निर्माण र परिचालनलाई सहजीकरण गर्नका लागि निजी क्षेत्रको लगानीमा थप एक धितोपत्र बजार सञ्चालन गर्न दिइने बोर्डको सूचनामा उल्लेख छ ।
धितोपत्र बजारको सेवा तथा गुणस्तरमा प्रतिष्पर्धा, विकास र विस्तार गरी धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पहुँच अभिवृद्धि गर्न आवश्यक भएकोले धितोपत्र सम्बन्धी ऐन, २०६३ सो अन्तर्गत बनेका नियम र निर्देशिका तथा अन्य प्रचलित कानुनको अधीनमा रही धितोपत्र बजार सञ्चालन गर्ने उद्देश्यले प्रचलित कानुनबमोजिम सीमित दायित्वको संगठित संस्था स्थापना गर्न चाहनेले बोर्डबाट सिफारिस लिनुपर्ने व्यवस्था रहेको सूचनामा उल्लेख गरिएको छ ।
बोर्डले धितोपत्र बजार सञ्चालन गर्न संगठित संस्था स्थापना गर्न चाहनेलाई सिफारिस गर्न लागेको हुँदा सो प्रयोजनको लागि धितोपत्र सम्बन्धी ऐन २०६३, धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ (संशोधन सहित) र धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस प्रदान गर्ने सम्बन्धी निर्देशिका, २०७९ बमोजिमका सर्तहरूको अधीनमा रही निवेदन पेश गर्न अनुरोध गरेको छ ।
सूचना प्रकाशित भएको मितिले ४५ दिनभित्र सेबोनसमक्ष निवेदन पेश गर्न आह्वान गर्दै बोर्डले रितपूर्वक नभएका वा म्याद नाघी आएका वा कुनै सर्त समावेश गरी पेस भएका निवेदन उपर कुनै कारवाही नहुने पनि जनाएको छ । यस्तै, सूचना बमोजिम पेस हुन आएका निवेदन स्वीकृत गर्ने वा नगर्ने अधिकार बोर्डमा सुरक्षित रहने पनि सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्