Logo

पूर्वका उद्योगी भन्छन्–कि ब्याजदर घटाऊ कि हाम्रो जायजेथा जिम्मा लेऊ

ब्याजदर नघटाए उद्योग व्यवसाय बन्द गर्ने चेतावनी

बैंकको चर्को ब्याजका कारण उद्योग व्यवसाय सञ्चालनमा समस्या भएको पूर्वका उद्योगी व्यवसायीले बताएका छन् । उनीहरूले ब्याजदर नघटाए उद्योग व्यवसाय बन्द गर्ने चेतावनीसमेत दिएका छन् । उद्योगीले आफ्ना सम्पूर्ण जायजेथा जिम्मा लिन सरकारलाई आग्रह पनि गरेका छन् ।
राष्ट्र बैंकको पछिल्लो नीतिका कारण बैंकहरूले कमाउने तथा उद्योगीहरूले गुमाउँदै जाने अवस्था सिर्जना भएको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताए । बढ्दो ब्याजदर र त्यसले उद्योगी व्यवसायीलाई पारेको मर्काका विषयमा मोरङ व्यापार संघले पत्रकार सम्मेलन गरेर पीडा पोखेको छ । अध्यक्ष रिजालले विगत केही महिनादेखि चर्किंदै गएको बैंक ब्याजदर, तरलता अभाव तथा आयातमा गरिएको कडाइले उद्योग व्यवसाय नराम्ररी प्रभावित भएको बताए । “पछिल्लो समय बजारमा लगानीयोग्य पुँजीको अभावका कारण उद्योगहरूले क्षमताअनुसार उत्पादन गर्न असमर्थ भएका छन्,” उनले भने, “हाम्रा उत्पादन बजारमा जान्छ, लामो समयसम्म हाम्रा सामानको बजारबाट पैसा आउँदै अनि बैंकले पनि ऋण दिँदैन । पुरानो ऋणको ब्याज तिर्ने पैसा पनि अब हामीसित छैन ।”
विगत ६ महिनामै एकल अंकको बैंकको ब्याजदर दोब्बर हुन गएको तथा बैंकहरूले आफूखुसी ४ प्रतिशतसम्म स्प्रेडदर कायम गरेका कारण विस्तारै लयमा फर्किदै गरेको उद्योग व्यवसाय फेरि धराशायी हुने अवस्थामा पुगेको रिजालले बताए । गत साउनमा मात्र देशका बैंकहरूले नौ सय करोड नाफा कमाए पनि उद्योगहरू भने बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ थियो । “उत्पादन गर्नेहरू गुमाउँदै जाने अनि बैंकहरू कमाउँदै जाने यस्तो पनि हुन्छ,” रिजालले भने, “रुस–युक्रेन युद्धका कारण अहिले विश्वमै आर्थिक मन्दी छ, हामीलाई पनि त्यसले छोएको छ । तर, बैंकहरूलाई चाहिँं मन्दी लाग्दैन । उनीहरूको हरेक दिन नाफा बढ्दै गएको छ ।”
संघका निर्वतमान अध्यक्ष प्रकाश मुन्दडाले बैंकहरूले निर्धारण गरेको कर्जा र निक्षेपको असमान ब्याजदरका कारण उद्योगीहरूले आफ्ना उद्योग बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको बताए । उनले पछिल्लो अवस्थाले उद्योगीले आफ्नो उद्योग कारखाना बेचेर त्या रकम बैंकमा राखेर बसिबसी ब्याज खानुपर्ने अवस्था भएको र यस्तो अवस्था समग्र अर्थतन्त्रका निम्ति राम्रो नभएको टिप्प्णी गरे । “धेरैले अहिले बैंकमा पैसा राखेर ब्याज खाइरहेका छन्,” मुन्दडा भन्छन्, “यसले मुलुकको अर्थतन्त्रलाई झनै धराशायी बनाउँछ ।”
संघका वरिष्ठ उपाध्यक्ष अनुपम राठीले राष्ट्र बैंकले बैकहरू सुधारको उद्देश्यसहित पछिल्लो नीति ल्याए पनि त्यसले उद्योग व्यवसायलाई पार्ने प्रभावका विषयमा अध्ययन नगरिएको कारणले व्यवसायी र उद्योगी समस्यामा परेको बताए । राष्ट्र बैंकले हालै जारी गरेको चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ का केही प्रावधानहरू औद्योगिक, व्यावसायिक वातावरणका निम्ति प्रतिकूल रहेकाले त्यसलाई सुधार गर्नुपर्ने, चालू पुँजी कर्जालाई पारदर्शी एवं एकरुपता कायम गर्नुपर्ने, एकल अंकको ब्याजदर कायम गर्नुपर्ने उद्योगी व्यवसायीले माग गरेका छन् । यस्तै औद्योगिक व्यावसायिक प्रयोजनका कर्जाको ब्याजदर फरक गरिनुपर्ने र संस्थागत ब्याजदर कम गरिनुपर्ने उद्योगीले माग गरेका छन् । राष्ट्र बैंकले चालू आर्थिक वर्षका लागि तय गरेको ७ प्रतिशतको वार्षिक उपभोक्ता मूल्य वृद्धिदर गत साउनमै ८.२६ प्रतिशत पुगेको संघको भनाइ छ ।
उद्योगीहरूले वाणिज्य बैंकहरूले बढाएको ब्याजदर नियन्त्रणका लागि राष्ट्र बैंकले हस्तक्षेप गर्नुपर्ने माग गर्दै उद्योगीहरूले अन्यथा सबै जायजेथासहित उद्योग सरकारलाई जिम्मा लगाउनुपर्ने अवस्था छिट्टै आउने उनीहरूको भनाइ छ । बैंकरहरूको लडाइँको असर मुलुकका उद्योगधन्दाहरूमा परेको बताउँदै उनीहरूले उद्यमशीलता नै ध्वस्त हुने र बसीबसी ब्याज खाने प्रवृत्ति प्रोत्साहित गर्ने काम भएको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्