अग्रिम टिकट बुकिङ खुल्यो
यात्रुलाई गन्तव्यमा पुर्याउनै चुनौती

वर्षाका कारण सडक बिग्रिँदा यस वर्षको दसैंमा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुलाई सहज रुपमा गन्तव्यमा पुर्याउन चुनौती रहेको यातायत व्यवसायीहरुले बताएका छन् । यस वर्षको दसैंमा यात्रुको संख्या पनि बढ्ने अनुमान व्यवसायीहरुको छ ।
“विगतका वर्षमा भन्दा यो वर्ष दसैंको लागि बाहिरिनेको संख्यामा वृद्धि हुनेछ,” नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले भने, “कोभिड–१९ पछिको सामान्य समयको दसैं र दसैंपछि निर्वाचनसमेत हुने भएकाले गर्दा उपत्यकाबाट बाहिरिनेको संख्या बढ्ने देखिएको छ ।”
विगतका दसैंमा काठमाडौंबाट २२ लाखको यात्रु हाराहरीमा बाहिरिने गरेकोमा यो वर्ष भने करिब २५ लाखले उपत्यका छाड्ने अनुमान छ । यसरी उपत्यकाबाट बाहिरिने यात्रुको सहजीकरणका लागि मागअनुसार सवारीसाधन थप गरेर गन्तव्यमा पुर्याउने योजना रहेको व्यवसायीहरुले बताएका छन् । तर गन्तव्यसम्म पुर्याउनको लागि भने बिग्रिएको सडक चुनौती रहेको अध्यक्ष स्वाँरले बताए । दसैंमा सडकलाई सहज बनाउनको लागि सडक विभागले मर्मत गर्ने जनाएको छ । सडकमा सहज सवारीको आवतजावत गराउनको लागि सडक विभागले आइतबार सरोकारवाला निकायसँग छलफल गर्ने भएको छ । दसैं–तिहार तथा प्रदेश तथा संघको निर्वाचन पनि मंसिरमा रहेकाले गर्दा यो वर्ष उपत्यकाबाट बाहिरिनेको संख्यामा उल्लेख्य वृद्धि हुने यातायात व्यवसायीहरुले बताएका छन् । वर्षाका कारण सडकमा धेरै नै खाल्डाखुल्डी परेको छ, जसका कारण यात्रुलाई गन्तव्यमा पुर्याउन समस्या पर्ने र यात्रा असुरक्षित हुने हुदाँ मर्मत अनिवार्य गर्नुपर्ने अध्यक्ष स्वाँरको भनाइ छ ।
दसैं–तिहारमा उपत्यकाबाट बाहिरिने लामो तथा छोटो दूरीका यात्रुको लागि शनिबारबाट अग्रिम टिकट खुला भएको छ । चाडपर्वलाई लक्षित गरी यातायात व्यवस्थापनमा सहजता ल्याउनको लागि सार्वजनिक यातायात सेवा अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने, अग्रिम टिकट बुकिङ तथा उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्रुवाहक सवारीसाधनको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायीसँगको सहकार्यमा प्रभावकारी अनुगमन गर्ने–गराउने यातायात व्यवस्था विभागले बताएको छ । साथै सवारीको यन्त्र तथा उपकरण चेकजाँच गरेरमात्र यात्रुलाई सवार गराउने गरी व्यवस्था मिलाइएको विभागले जनाएको छ । यसले गर्दा सवारीको अवस्थितिका बारेमा जानकारी हुने र सडक दुर्घटनामा न्यूनीकरण हुने विश्वास विभागको छ ।
मुख्य सडकलाई मर्मत/सम्भार गरी यातायात सञ्चालनलाई सहज बनाउन पहल गर्ने, यातायात आवागमन सहज बनाउन खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरुको ढुवानी गर्ने बाहेकका टेलर लगायतका ठूला सवारीसाधन असोज १५ गतेदेखि २२ गतेसम्म नारायणघाटदेखि काठमाडौंसम्म सञ्चालन गर्न रोक लगाइएको छ । साथै यात्रुको आगमनलाई सहज बनाउनको लागि घटस्थापनादेखि पूर्णिमासम्मको लागि यात्रुवाहक सवारीलाई नेपालभर रुट पर्मिट खुला गरिएको छ । यसले गर्दा सवारीले यात्रु लिएर नेपाल जुनै गन्तव्यमा पनि सवार हुन पाउनेछन् । यसको अनुगमन तथा नियन्त्रण महानगरीय ट्राफिक प्रहरी महाशाखा र विभागको समन्वयमा गर्ने जनाइएको छ ।
सरोकारवाला निकायसहितको बैठकले दसैंका लागि मध्यम तथा लामो दूरीका सार्वजनिक सवारी बाहिरिने यात्रुको सहजीकरणको लागि उपत्यकामा १४ र १ साँगामा गरी १५ वटा यात्रु सहायता कक्ष राखिएको यातायात विभागका सूचना अधिकारी इश्वरीदत्त पनेरुले बताए । यात्रु सहायता कक्षमा दुई जना सुरक्षाकर्मी, २ जना उपझोक्ताकर्मी र यातायात व्ययवसायीहरुका प्रतिनिधि रहने विभाले जनाएको छ । यात्रुको सहजिकरणको लागि यात्रु सहायता कक्ष राखिएको र आधिकारिक काउन्टरबाट नै टिकट खरिद गर्न विभागले यात्रुहरुलाई सुझाएको छ । जसका कारण यात्रुले ठगिने, तोकिएको सिट नपाउने लगायत समस्या हल हुने विश्वास लिइएको छ ।
यातायात व्यवसायीका प्रतिनिधिले अनिवार्य रुपमा परिचयपत्र वा ड्रेस लगाउनुपर्ने व्यवस्था विभागले गरेको सूचना अधिकराी पनेरुको भनाइ छ । उनले भने, “वर्षाका कारण बिग्रिएको सडकको तत्काल अस्थायी मर्मत गरेर सवारी आगमनमा सहजता ल्याउन र यात्रुलाई समयमा नै गन्तव्यमा पुर्याउनको लागि सडक मर्मतको लागि सडक विभागसँगको समन्वयमा अन्य डिभिजन कार्यालयहरुलाई अनुरोध गरेका छौं ।”
सडक विभागले भने वर्षा निरन्तर भइरहेकाले गर्दा बिग्रिएका सडकको मर्मत तथा सम्भार विभागको कार्ययोजना अनुसार गर्न नसकिएको जनाएको छ । वर्षा अझै पनि जारी रहेकाले गर्दा बिग्रिएका सडकको मर्मत तथा सम्भार गर्न कठिनाइ भएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए । दसैंमा यात्रुको आवतजावतमा सहजता ल्याउनको लागि र सवारीको चाप अत्यधिक वृद्धि हुने हुँदा निमार्णाधीन सडकबाहेकका उपत्यका सहित मुलकभरकै सडकको मर्मत गर्ने कार्यतालिका रहेको थियो तर वर्षाले गर्दा काम गर्न नपाइएको विभागको भनाइ छ । महानिर्देशक थापाले भने, “काठमाडौंबाट बाहिरिने र भित्रिने यात्रुको सुविधाका लागि नाकासहित मुलुकभरका सडक सुधार गरी खाल्डाखुल्डी पुर्दै सडक सवारीलाई सहज बनाउने गरी आन्तरिक तयारी भइरहेको छ । यो नियमित प्रकृया नै हो । वर्षा कम हुनेबित्तिकै मर्मतको काम तिव्र रुपमा गरिने छ ।”