चाडबाडमा चिनी हाहाकार

चाडपर्वको अगाडि बजारमा चिनीको हाकहाकार भएको छ । दसैं, तिहार तथा छठ पर्व घरदैलोमा आइपुग्दा पनि सरकारले चिनीको व्यवस्था गर्न नसकेको भन्दै उपभोक्ता अधिकारकर्मीहरु प्रधानमन्त्री ग्हार्न थालेका छन् ।
चाडबाडमा खासगरी दैनिक उपभोग्य वस्तुका सामग्रीको बढी उपभोग हुने बेलामा सरकारले आवश्यक सामग्रीहरुको आपूर्ति व्यवस्थापन बिगतका दिनहरुमा जस्तै यस वर्ष गर्ने जमर्को गरेको भए पनि उपभोक्ताले चिनी नपाउने भएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए । “सरकारले दसैं, तिहार तथा छठ लक्षित सुपथ मूल्यका पसल सञ्चालन गरी बजार मूल्य हस्तक्षेप गरी आम उपभोक्तालाई राहत प्रदान गर्ने प्रयास गरेको छ । तर सरकारले प्रयास गर्दैगर्दाको अवस्थामा मन्त्रालयहरुबीचमा समन्वय नहुँदा उपभोक्ताले चिनी भने नपाउने भएका छन्,” उनले भने ।
आपूर्ति मन्त्रालयले चाडबाडलाई लक्षित गरी सहुलियत दरमा चिनी उपलब्ध गराउनको लागि साल्ट ट्रेडिङ कर्पोरेशन र नेपाल खाद्य व्यापार कम्पनीलाई क्रमश: ३० र १० हजार मेट्रिक टन चिनी आपूर्ति गर्नको लागि छुट मूल्यमा आयात गर्न सिफारिस गरेकोमा अर्थ मन्त्रालयले बेवास्ता गर्दा अहिले बजारमा प्रतिकिलो ११० रुपैयाँमा किन्न उपभोक्ता बाध्य भएका छन् ।
स्वदेशी उद्योगसँग मौज्दातमा ११ हजार टनमात्र चिनी मौज्दात रहेको भनिरहँदा एकोहोरो रुपमा बजारमा चिनी पर्याप्त छ र भाउ बढ्नुपर्ने कुनै कारण छैन भनी अडान लिएर बजार भाउ बढाउने खेल अर्थ मन्त्रालयबाट भइरहेको आरोप पनि उनले लगाए । मञ्चले गरेको अध्ययनका क्रममा भारतले निर्यातमा प्रतिबन्ध लगाइसकेको चिनी आपूर्ति नेपालमा पर्याप्त आपूर्ति भइरहनुको कारण नेपालको दक्षिणी सिमावर्ती क्षेत्रबाट तस्करी भई आउने चिनीको परिमाण दैनिक ३०० मेट्रिक टनको हाराहारीमा रहेको पाइएको तथा त्यही चिनी नै अहिले बजारमा पर्याप्त मात्रामा उपलब्ध भइरहेको मञ्चको भनाइ छ ।
वैध रुपमा चिनी आयात गर्दा ४० प्रतिशत भन्सार महसुल तथा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्दै आएकोमा यसरी अवैध बाटोबाट आयात गर्दा सरकारलाई ठूलो परिमाणमा राजस्व गुमिरहेको पनि महर्जनले बताए । अर्कोतिर पहाड तथा सहरी क्षेत्रका जनताले महँगो मूल्यमा चिनी उपभोग गर्न बाध्य भइरहेका कारण सरकारको ध्यानाकर्षण गर्दै मञ्चले उपभोक्तालाई सहुलियत दरमा चिनी उपलब्ध गराउने वातावरण बनाइदिन प्रधानमन्त्रीलाई गुहारेको छ ।
यसैबीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले स्थानीय तहहरुलाई बजार अनुगमन गर्न आग्रह गरेका छन् । शनिबार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थापाथलीमा स्थापना गरेको चाडवाड लक्षित सुपथ मूल्य पसल उद्घाटन गर्दै मन्त्री बडूले स्थानीय तहहरुलाई प्रभावकारी रुपमा बजार अनुगमन गर्न आग्रह गरेका हुन् । उनले दसैं, तिहार, छठ लगायत चाडपर्वहरु आइरहेको र चाडपर्वको बेलामा बजारमा अस्वाभाविक रुपमा मूल्यवृद्धि हुने भएकाले तीनै तहको सरकारले बजार अनुगमन गर्नुपर्ने बताए ।
उनले मन्त्रालयले जनशक्ति बढाएर अनुगमन बढाइरहेको भए पनि मन्त्रालयको एकल प्रयासमात्र सम्भव नहुने भन्दै बजार अनुगमनका लागि प्रदेश र स्थानीय तहको अधिकार बढेको भए पनि ती तहहरुबाट अपेक्षित र प्रभावकारी रुपमा अनुगमन हुन नसकेको पनि बताए । मन्त्री बडूले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई आफ्नो सम्पतिको यथार्थ अभिलेखिकरण राख्न निर्देशनसमेत दिए ।
उहाँले कम्पनीको सम्पतिलाई सदुपयोग गर्दै जनतालाई सस्तो सेवा दिन पनि निर्देश दिए ।
मन्त्री बडूले चाडपर्व लक्षित सुपथ मूल्य पसलमा विक्रि वितरण गर्ने खाद्यवस्तुको संख्या र सहुलियत बढाएको बताए । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४१ जिल्लाका ४५ वटा शाखाहरुमा एकै पटक सुपथ मूल्य पसल उद्घाटन भएर सञ्चालनमा आएको जनाएको छ ।