पर्यटन व्यवसाय दर्ता गर्न विभागको आह्वान

पर्यटन विभागले दर्ता नभई सञ्चालनमा रहेका पर्यटनसँग सम्बन्धित व्यवसाय दर्ता गराउन आग्रह गरेको छ । विभागले बुधबार ध्यानाकर्षणपत्र जारी गर्दै व्यवसाय सञ्चालनका लागि दर्ता गर्न आह्वान गरेको हो ।
पर्यटनसँग सम्बन्धित विभिन्न व्यवसाय दर्ताबिना सञ्चालनमा रहेको पाइएकाले ध्यानाकर्षण गराइएको विभागका निर्देशक सूर्यप्रसाद उपाध्यायले बताए । उनले भने, “हाल कतिको संख्यामा पर्यटन व्यवसाय गरिरहेका छन् वा गर्नको लागि निर्माणका क्रममा रहेका छन् भनेर विभागमा दर्ता गराएका छैनन् । त्यो पहिचान गर्न बाँकी छ । सञ्चालनमा रहेका पर्यटन व्यवसायलाई दर्ताको लागि आह्वान गएिरको हो ।”
विभागले भनेको छ, ‘कतिपय व्यवसायीले सम्बन्धित कार्यालयबाट नियमानुसार त्यस्ता व्यवसाय/उद्योग दर्ता नगरी, इजाजत नलिई, नवीकरण नगराई सञ्चालन गरेको र गराएको बुझिएको छ । त्यस्तो व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरूले त्यस्तो व्यवसाय/उद्योग दर्ता गरी, इजाजत लिई, नियमानुसार नवीकरण गराई व्यवसाय सञ्चालन गर्नु–गराउनुहुन सुचित गरिन्छ ।’
पर्यटन ऐन, २०३५ को दफा ४५ (क) अनुसार प्याफ्टिङ, ग्लाइडिङ, सफारी, क्याम्पिङ, हाइकिङ बर्ड वाचिड, स्किइङ तथा तोकिएका अन्य पर्यटन व्यवसायहरुको दर्ता गर्ने, इजाजत लिने, नवीकरण गर्ने, इजाजत निलम्बन गर्ने तथा दर्ता खारेज गर्ने सम्बन्धमा तोकिए बमोजिम हुने प्रावधान छ । त्यस्तै सोही ऐनको दफा ४५ बमोजिम जलयात्रा, पदयात्रा तथा ४५ (क) मा उल्लेख भएका पर्यटन सम्बन्धी क्रियाकलापमध्ये तोकिएका क्रियाकलाप गर्न पर्यटकले तोकिएको दस्तुर तिरी तोकिएबमोजिम अनुमति लिनुपर्ने र ४५ (क) अनुसार पर्यटन व्यवसाय गर्ने व्यक्तिले पर्यटन ऐन वा सो ऐनअन्तर्गत बनेका नियम वा नेपाल सरकारले दिएको निर्देशन वा आदेश उल्लंघन गरेमा त्यस्तो व्यक्तिलाई तोकिएको जरिवाना गर्न सक्ने प्रावधान रहेको छ ।
यसरी सूचना जारी गरेर पनि दर्ता गर्न नआएका र पर्यटन ऐनबमोजिम सञ्चालन नभएका पर्यटन व्यवसायलाई कानुनबमोजिम कारबाही गर्ने निर्देशक उपाध्यायको भनाइ छ । तोकिएको समयमा पनि दर्ता प्रक्रियामा नआए प्रचलित कानुनबमोजिम दण्ड सजाय र जरिवाना वा बन्दसमेत गर्ने विभागले बताएको छ । यसैगरी वातावरण संरक्षण नियमावली, २०७७ को नियम ३ सँग सम्बन्धित अनुसूचि १ (२) अनुसार दुई करोडदेखि पाँच करोड रुपैयाँसम्म लगानी हुने पर्यटन व्यवसायले इजाजत लिएर निर्माण वा सञ्चालन गर्न पाउने कानुनी व्यस्था रहेको छ । बन्जी जम्प, स्वीङ, क्यानोनिङ, स्काइ डाइभिङ, जिप फ्लाइङ, हाइ रोप्स, स्काइ वाक, प्याराग्लाइडिङ, अल्ट्रालाइट, एम्युजमेन्ट पार्क र फन पार्क तथा अन्य साहसिक एवं पर्यटन पूर्वाधारका आयोजना निर्माण तथा सञ्चालन गर्दा संक्षिप्त वातावरणीय अध्ययन गरी इजाजत लिएर मात्रै व्यवसाय सञ्चालन गर्नुपर्ने प्रावधान रहेको छ ।
नियमअनुसार पर्यटन व्यवसाय सञ्चालनमा रहेको पाइएको भएर नै विभागले पहिलो चरणमा व्यवसाय दर्ता गर्नलाई ध्यानार्कषण गराएको विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले बताए । उनले भने, “जानकारी गराएर पनि दर्ता प्रक्रियामा नआएको खण्डमा भने विभागले संयन्त्र गठन गरी अनुसन्धान गरेर पहिचान गरी कारवाही गर्नेछ ।” के कति संख्यामा बिनादर्ता पर्यटन व्यववसाय सञ्चालनमा रहेको छ त्यो भने पहिचान नभएको विभागले जनाएको छ ।
८ हिमाल आरोहण गर्न ४५४ लाई अनुमति
आगामी सिजन (शरद ऋतु) को लागि ६० देशका ४ सय ५४ आरोहीले विभिन्न हिमाल आरोहणको अनुमति लिएका छन् ।
पर्यटन विभागका अनुसार शरद ऋतु अर्थात् अटम सिजनमा ८ वटा हिमाल आरोहणको लागि ४८ समूहका ३ सय ४४ पुरुष र १ सय १० महिलाले आरोहण अनुमति लिएका छन् । धौलागिरी (८,१६७ मि.) मा ३४, हिम्लुङ हिमाल (७,१२६ मि.) मा ७ जना, मनास्लु (८,१६३ मि.) मा ३ सय ९४ जना, सगरमाथा(८,८४८.८६ मि.) मा ५ जना र सैवुङ (६,३४६ मि.)मा लागि १ जना, नुप्त्से (७,८५५मि.)मा ५, कुम्भकर्ण (७,७१० मि.)मा ४ जना र गनचेन्पो (६,३७८ मि.) मा ४ जना आरोहीले आरोहण अनुमति लिएका छन् । यसबाट ५ करोड ३२ लाख २७ हजार रुपैयाँ रोयल्टी जम्मा भएको विभागले जनाएको छ ।