Logo

कृषिमा समस्या छन्, तर विकल्प छैन

कृषि क्षेत्रमा समस्यै समस्या छ । सरकारले किसानको समस्या समाधानमा चासो दिएको छैन । त्यसैले कृषि क्षेत्र पूर्णरूपमा डामाडोल छ । नयाँ प्रविधि ल्याउने, उत्पादन विविधीकरण गर्ने, आपूर्ति शृंखलाको विकास गर्ने, बजार तथा उत्पादक किसानलाई जोड्ने जस्ता कुराको कुनै ग्यारेन्टी छैन । सरकारले नीति बनाउँछ तर कार्यान्वयन गर्दैन, किसान चिन्तित छन्, मर्कामा छन् । केही सदावहार समस्या छन्, जस्तै किसानले खेती गर्ने बेलामा मल, बिउ तथा सिँचाइ पाउँदैनन् । तर, कृषिमा जति धेरै समस्या भए तापनि नेपालमा कृषि विकासको विकल्प पनि छैन ।
सरकारले किसानको वर्गीकरण गरेर अनुदान दिने र उत्पादित वस्तुको बजारको ग्यारेन्टी गर्ने हो भने कृषि क्षेत्रमा आकर्षण बढ्ने थियो । यसमा सरकारको ध्यान पुगेको छैन । नेपालमा उत्पादित केरा, माछालगायतका वस्तु बिक्री भएन भनेर किसानले गुनासो गरेका छन् । तर भारतीय केरा, माछालगायत निर्वाध रूपमा नेपालमा भित्रिरहेका छन् । नेपालको उत्पादन बिक्री हुँदैन अनि फेरि किसान पीडित हुन्छ । त्यसैले जबसम्म नेपाली किसानले उत्पादनको उचित मूल्य र बजारको ग्यारेन्टी पाउँदैन तबसम्म किसान पेशाबाट विमुख हँुदै जान्छ, आयात बढ्दै जान्छ । कृषिका समस्याका बारेमा कारोबार राष्ट्रिय आर्थिक दैनिकले सरोकारवालासँग गरेको कुराकानीको सार :

आयात रोक्न सरकार अग्रसर भएन
अम्बिकाप्रसाद अधिकारी
अध्यक्ष, नेपाल मत्स्य व्यवसायी संघ
अहिले कृषि क्षेत्र सम्पूर्ण रूपमा डामाडोल छ । कुनै पनि कृषक अहिले उठ्न सक्ने अवस्थामा छैनन् । यो प्रविधि लिने, यो उत्पादन गर्ने, यो उत्पादन नगर्ने भन्ने कुराको ग्यारेन्टी गरिएको छैन । सामान्यतया अहिले एक लिटर पानीको २०/३० रुपैयाँ पर्छ भने दूधको चाहिँ ४०/५० रुपैयाँ पर्छ । पानी र दूधको मूल्य उस्तै–उस्तै भएको छ । अब तरकारी खेती गर्नेले दु:ख गर्‍यो, उब्जायो । तयार हुने बेलामा बजार हुँदैन । धानखेती गर्नेले उत्पादन गर्‍यो । उत्पादन गर्ने बेला एक क्विन्टलको चार हजार पर्छ बेच्ने बेलामा १५ सय हुन्छ । रोप्ने बेलामा मल छैन । अब दुई–दुई वर्षदेखि मलको हाहाकार छ, सबैलाई थाहा भएकै कुरा हो । साथै, बजारमा नेपालको केरा बिक्री भएन भन्ने कुरा भइरा’छ, माछाको पनि त्यही हालत छ । माछा बिक्री नभएर पोखरी भरिराखेको छ भने भारतीय माछा नेपाली बजारभरि जहाँसुकै छ, मेचीदेखि महाकालीसम्म छ । त्यसैले जबसम्म नेपाली किसानले उत्पादन गर्ने कुराको, उत्पादित चिजको उचित मूल्य र बजारको ग्यारेन्टी हँुदैन तबसम्म किसानले दु:ख पाइरहन्छन् । अब यही पारा हो भने यहाँका किसान सबै पलायन भएर सकिन्छन् । यही ठाउँमा पनि किसानले बैंकको ब्याज तिर्न सक्ने अवस्था छैन । दुई वर्षअगाडि कोरोना महामारीले सारा ध्वस्त बनायो । अहिले आएर भारतीय सामानले, भारतीय कृषि उद्योगले यहाँ अस्तव्यस्त बनाइदियो । नेपालको आयात–निर्यात, शिक्षा, सबै समस्या व्याख्या गर्ने हो भने त जति भने पनि सकिँदैन । यति समस्या छन् कि यो कारणले किसानलाई यस्ता असर पारेका छन् भन्ने कुरा भनेर सकिँदैन । यही चाल हो भने अब आउने वर्षमा भएजतिका किसानको लालपुर्जा सबै बैंकमा मात्रै हुनेछन्, किसानको घरबास नै रहँदैन । प्रतिस्थापनका लागि त राज्यले यहाँ उत्पादन हुने वस्तुहरूलाई आयात प्रतिबन्ध गर्नुपर्छ । हाम्रो उत्पादन बिक्री नभएर दिनदिनै कुहिने, हाम्रो माछा, केरा बिक्री नभएर फाल्नुपर्ने । अब भारतीय माछा, भारतीय खाद्यान्न, भारतीय फलफूल, भारतीय दूध सबै निर्बाध रूपमा आउने हो भने त आयात प्रतिस्थापन कसरी हुन्छ ? यसलाई आयात प्रतिस्थापन भन्नै सकिँदैन ।
यसको समाधानका लागि हाम्रो देशमा हाम्रो उत्पादन भइरहेका छन् भने ती सामान आउन रोकिनुपर्‍यो, अनि बल्ल आयात प्रतिस्थापनको कुरा आउँछ । अनि बढी भयो भने हाम्रो देशमा एउटा बिक्री गर्ने खालको वातावरणचाहिँ बन्नुपर्ने हो । त्यो कुराको कल्पनै छैन । अहिले हाम्रो देशमा आन्तरिक उत्पादन पनि खपत गर्न नसक्ने, हाम्रो आन्तरिक बजारमा पनि बेच्न नपाउने/नसक्ने अवस्था छ । त्यसले गर्दा किसानको आयातको बेहाल छ हाम्रो देशमा । निर्यातको कुरा गर्दा खपत गराउन नसकेर भारतीय उत्पादनले हामीलाई आयात गराउँछ । हामीले अब गरेर नसक्ने अवस्थामा पुगिसकेका छौं । हाम्रो काम भनेको उत्पादन गर्ने हो । हामीले गएर नाकामा रोक्न सकिँदैन । किसानसँग पुलिस प्रशासन छैन । समाधान गर्ने त राज्यको दायित्व हो । आफ्नो देशका किसानलाई बचाउने राज्यको जिम्मा हो । राज्यले आयात प्रतिस्थापन गर्ने भनेको छ, यत्रोविधि व्यापारघाटा भइराखेको अवस्थामा पनि अझै निर्वाध रूपमा अखाद्य वस्तु, अखाद्य माछा आउन छाड्ने होइन भने पेसा छोड्नेबाहेक अरू त हाम्रो केही पनि उपाय छैन । खोई यसमा राज्यको ध्यान पुगेको ?

सरकारले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्नु पर्‍यो
सुनिता न्हेमाफुकी
कृषि उद्यमी
समस्या छ नि ! पहिलो त कृषि क्षेत्रलाई क्षेत्रगत रूपमा सरकारले नहेर्नु नै समस्या हो । स्वास्थ्य, शिक्षा र कृषि भन्छन् तर स्वास्थ्यमा अस्पताल हुन्छ, ल्याब हुन्छ । एउटा क्षेत्रका आधार हुन्छन्, उपक्षेत्र हुन्छन्, तर कृषिलाई एउटा क्षेत्रको रूपमा नलिने, कृषि मात्र भनेर हेर्ने नै एउटा समस्या हो । अर्को भनेको यो क्षेत्रमा शिक्षाको ठूलो समस्या छ । किनभने सक्षम जनशक्ति आएन । नआइसकेपछि त्यसको बजारको विकास भएन । एउटा उत्पादनको विधि गर्नका लागि अनुसन्धानका कुरा हुन्छन्, अध्ययनका कुरा हुन्छन्, ती सबै गर्ने कुरा हुन् । ती काम गर्नका लागि यो क्षेत्र बलियो भएन । यसो हेर्दा कृषि प्राविधिक क्याम्पसहरू छन्, विश्वविद्यालय पनि खुल्दै छन्, अध्ययन गर्ने क्रम पनि छ । तर, त्यसै कुरामा व्यस्त भएर त्यो क्षेत्रलाई निरन्तरता नै दिएका छैनन् । तेस्रो समस्या भनेको लगानी जुन हिसाबले चाहिन्छ त्यो छैन । सिँचाइका लागि नहर, कुलो, पानी लग्नुपर्‍यो । त्यस्तो कुरामा लगानी छैन । उत्पादन बढिसकेपछि राख्ने ठाउँ छैन । धेरै समयसम्म जोगाएर राख्ने ठाउँ छैन । यस्ता कुरामा सरकारले ध्यान दिनु पर्‍यो । अरूले गरेर मात्र हुँदैन, ठूलो समस्या भनेको हाम्रो खुला सिमाना पनि हो । त्यसैले हामीले जे उत्पादन गर्छौं, त्यो त भारतसँग मिल्छ । हाम्रो उत्पादन र तिनीहरूको उत्पादन त सँगै हुन्छ, अनि तिनीहरूकोमा सरकारले अनुदान दिएर सस्तोमा उत्पादन गरेको हुन्छ । हाम्रो देशमा त्यस्तो धेरै अनुदान लगानी भएको छैन । त्यसो हुँदा हाम्रो लागत बढ्छ । लगानी गरेअनुसारको त हुनुपर्‍यो भन्छन् किसानले, अनि भारतबाट सस्तो उत्पादन आउँछ । नेपालीहरूले त्यही सस्तो उत्पादन किन्छन् । हाम्रो कानुन र नीति त छैन बन्द गर्ने, यस्तै निश्चित खालका समस्याहरू छन् । यिनलाई कसले किन्ने, कसरी बेच्ने, कसले उत्पादन गर्ने, कसले कस्तो वस्तु उत्पादन गर्ने, सिँचाइका सुविधा कसरी बढाउने भन्ने कुराको नै निर्धारण छैन हाम्रो नेपालमा ।
अब सरकारले के गर्नुपर्‍यो भने हामीले यति धेरै सामान बाहिरबाट आयात गरिराखेका छौं, आयात भइराखेको छ, अब हामीसँग आयातको तथ्यांक छ भने कुन–कुन कुराको यहीँ आत्मनिर्भर भन्ने हो जस्तै दूध, मासुमा आत्मनिर्भर बन्ने हो भने त्यसका लागि पूर्वाधार तयार पार्नुपर्‍यो । त्यसको लक्ष्य राख्नुपर्‍यो । त्यसपछि यस्तै खालका नीति बनाउनुपर्‍यो अब । हाम्रो खसीचाहिँ अथवा कुनै वस्तु नेपालकै उत्पादनमा चिनिने बनाउनुपर्‍यो । चैत–वैशाखदेखि नै अर्को वर्षको दसैंमा खसी हाम्रो आफ्नै खान्छौं भन्यो भने त्यो बेलाका लागि नीति बनाउनुपर्‍यो । उत्पादनमा अगाडि बढ्नुपर्‍यो । त्यस्तो बेला सरकारले जनतालाई तीनवटा कुरा दिनुपर्छ । सरकारले हामीले उत्पादन गरेका कुरा नेपालमा बजार पाउने ग्यारेन्टी दिनुपर्‍यो । हामीले खाने तरकारीमा भारतबाट थुप्रै विषादी हालेर आएका हुन्छन् भन्ने हामीलाई थाहा भएकै कुरा हो । त्यसलाई बजारमा परीक्षण गरी हाम्रो उत्पादन, राम्रो उत्पादनका लागि विशेष ध्यान दिनुपर्‍यो । अर्को भनेको हाम्रो देशमा अहिले भएको कुराबाहेक अरू कुरा मात्र आउन दिने, अरू कुरालाई बन्द गरिदिने । सरकारले यति भए पनि गर्नु पर्‍यो । अन्तिम भनेको हामीलाई लगानी कति चाहिन्छ भन्ने कुरा निर्धारण भएन । अब यति उत्पादन गर्नका लागि यतिचाहिँ हामीलाई लगानी चाहिन्छ भन्ने कुरा, यसमा पैसाको कुरा त गर्नुपर्‍यो नि ! नाफाघाटा थाहा हुनुपर्‍यो नि ! जस्तै हामीलाई एक खर्बको आयात प्रतिस्थापन गर्न चाहिन्छ भने पछि लगानी गर्न पैसा त चाहियो नि । यो लगानीका लागि सहज तरिकाले सरकारले निर्धारण गर्नुपर्‍यो । ल अब यस्तो गर्ने भनेर मात्र भएन, त्यसका लागि वातावरण पनि सरकारले मिलाइदिनुपर्‍यो । त्यस्ता कुराहरू गरेमा समस्याको समाधान हुन्छ भन्ने हो । हाम्रो देशमा कति उत्पादन पनि छ भन्ने कुराको पक्का डाटा छैन । जस्तै हाम्रो देशमा कुनै वस्तु जस्तै मानौं खुर्सानी कति आएको छ, नेपालमा कति भित्रन्छ भन्ने कुरा हो । त्यसको राम्रो प्रमाणीकरण गर्ने डाटा नै छैन ।

कृषि क्षेत्रलाई सरकारले प्रोत्साहन गर्नु पर्‍यो
सुष्मा शर्मा
कृषि उद्यमी
हाम्रो देशमा उत्पादित सामान बाहिर पठाउने सोचाइ राख्नु राम्रो हो । ठूलो समस्या भनेको उत्पादनमै छ । उत्पादनको गुणस्तर पनि कायम गर्नुपर्ने हुन्छ । मुसुरो दालको कुरा गर्दा नेपालको मुसुरो दाल सानो–सानो हुन्छ । कुनै पनि वस्तु स्वदेशमा पनि, निर्यातमा पनि सबैभन्दा पहिला हेर्दा कस्तो हुन्छ भन्ने हुन्छ । साथै, सबैभन्दा पहिले निर्यातमा ध्यान दिनुपर्छ । त्यसो हुँदा एक ठाउँबाट हामीले जस्तै भटमास ल्याऊँ । मानौं जाजरकोटका किसानबाट सफा गरेर भटमास ल्याउन पाइयो र धेरै दिन स्टोर गरेर राख्न सक्यांै भने मात्र एउटा चिज सस्तो मूल्यमा हामीले बेच्न पाउँछौं । नत्र मूल्य महँगो पर्न जान्छ । यस्तो सोच्न पनि गाह्रो छ नेपालमा । बाटो राम्रो छैन, स्टोर गरेर राख्ने केही प्रविधि पनि छैन । मुख्य कुरा, उत्पादनमा बढी मान्छे छैनन् । अलिकति पनि बढी माग आयो भने हामीले जुटाउन सक्दैनौं । त्यसो हुँदामा अहिलेको आयात जति पनि रोकिएको छ, त्यो रोकिएको आयातमा हेर्ने हो भने बजारमा सामान पाउन पनि गाह्रो छ । त्यसैकारण मचाहिँ के भन्न चाहन्छु भने समस्या धेरै छ । हामीले उत्पादनमा ध्यान पुर्‍याउनुपर्छ । इजरायलका नयाँ प्रविधि ल्याएर एउटा सानो ठाउँमा गाउँगाउँमा खाली भएका जग्गा उत्पादनका प्रविधि प्रयोग गरेर उत्पादन गर्न सक्दैनौं र जबसम्म सरकारले किसानलाई प्राथमिकता दिन सक्दैन, तिमीहरू उत्पादन गर, म ग्यारेन्टी दिन्छु भनेर बजारमा वस्तुको बजार दिन सक्दैन, तबसम्म हामीले जतिसुकै निर्यात गर्छौं भने पनि गाह्रो हुन्छ । आजभोलि बजारमा अखाद्य पदार्थ बढी हुने र सामान सस्तो हुने भएकाले लोकल सामानले बजार लिन सकेको छैन । हिजोको दिनमा विदेश पठाउँछु भनेर अगाडि बढेको यो कृषिले आजचाहिँ लोकल बजारमा पनि ठाउँ पाएको छैन, विदेशीलाई के दिने ? आयात बन्द भएको कारण नै आज सबै महŒवपूर्ण रै’छ, कुनै बेलामा सरकारले मासु र कृषिजन्य पदार्थमा आत्मनिर्भर बन्यौं भनेको थियो, तर त्यो सबै होइन रै’छ भन्ने बुझियो । आज आयात रोकिन्नेबित्तिकै यो अवस्था देखिएको छ । त्यसैकारण सबैभन्दा पहिला त यसको समस्या भनेको एउटा हाम्रो उत्पादन नै छैन, उत्पादन बढाउन लगानी गर्नुपर्छ । सरकारले किसानलाई लाभ हुने वातावरण मिलाइदिनुपर्छ अनि बल्ल जनतालाई अगाडि बढ्न सहयोग मिल्छ । साथै, नयाँ कृषकलाई पनि यसमा सहयोग गर्नुपर्छ ।
अर्को भनेको कृषीमा अटोमेसन छैन । हाम्रो देशमा हामीले उत्पादन गरेका वस्तु अरूभन्दा महँगो हुन जान्छ । किनभने हाम्रो भन्दा सस्तो बाहिर देशको सामान छ । जस्तै भारत, चीनका वस्तु छन् । त्यसले गर्दा नेपालको सामान नेपालमै प्याकेज गर्ने मेसिन आउनुपर्छ, ल्याउनुपर्छ ।
सरकारले के गर्नुपर्‍यो भने अहिलेका युवालाई कृषिमा आकर्षित हुने किसिमको वातावरण बनाइदिनुपर्‍यो । किनभने आजको दिनमा त कृषि लोन भनेर देखिएको छ, तर साँच्चिकै कृषकले लोन पाएका छन् त छैनन नि । अहिले सिँचाइ राम्रो छैन, उत्पादन राम्रो छैन । आयात हुन पाएको छैन, सबै चिज ठप्प भएको अवस्था छ, सामानको भाउ बढेको छ । अहिलेको बेला मान्छेले केही गरौं भनेर अगाडि बढिरहेको अवस्थामा विदेशमा भएका युवा पनि अब हामी नेपाल आएर कृषिमा केही गर्छु भन्ने अवस्थामा यो बेलामा सरकारले राम्रो नीति ल्याएर सहयोग हुने वातावरण बनाइदिने हो भने कृषिले निर्यातमा राम्रो योगदान गर्न सक्छ । सरकारको लगानी अगाडि आउनुपर्‍यो । सरकारले नै कृषिमा लागेका मान्छेलाई सुविधा दिने भन्नुपर्‍यो । हामीले कहिल्यै पनि प्रोत्साहन पाएका छैनांै ।

हामीले उत्पादन गरेका वस्तु नै बिक्री वितरण गर्न पाएनांै
खगेन्द्र सुवेदी
किसान
हामी माछा उत्पादन गर्ने किसान हो । माछा अहिले प्रशस्त मात्रामा पोखरीमा छन् तर बिक्री भएको छैन । सबै त्यस्तै किसिमका समस्या छन् हरेक कृषकलाई । सबैभन्दा ठूलो माछाको बजार भनेको काठमाडौं र पोखरा हो त्यहाँ भारतीय माछाले बजार ओगटी राख्यका छन् । नेपाली माछा निर्यात हुन पाएका छैनन् । हाम्रो किसानको मुख्य समस्या भनेको हामीले उत्पादन पनि गरेका छौं । तर हाम्रो उत्पादनले बजार पाइरहेको छैन । तर काठमाडौंलगायत अन्य जिल्लामा ठूलो मात्रामा भारतीय वस्तुले बजार ओगटेका छन् । तर ती प्रमाणित छैनन् । अखाद्य पनि भन्छांै, भन्सार छली गरेर पनि आइराखेका छन् । सरकार राजस्वमा ठगिएको छ ।
स्वदेशमा उत्पादन गरेर हाम्रा उत्पादन पनि हामीले बिक्री गर्न पाइरहेका छैनौ । हामीले उत्पादन गरेका वस्तु नै बिक्री वितरण गर्न पाएनौ भने हाम्रो चक्र त काटिन्छ । हाम्रो अस्तित्व मेटिन्छ । हामीसँंग आम्दानी हुँदैन । आर्थिक अवस्था कमजोर भइरहन्छ । कमजोर हुने बितिकै अर्को वर्ष हामीले लगानी गर्न सक्दैनौं । गत मंसिर महिनामा हामीले मासु र दूधलाई नेपालमा आत्मनिर्भर भनेर घोषण गर्‍यौं । हामीले माछा मासु दूधलाई आत्मनिर्भर घोषण गर्‍यौं तर गत साल पनि मिलिटनको उत्पादन थियो । तर त्यो माछा बेच्न हामीलाई लामो समय लाग्यो । त्यो माछा हामीले उत्पादन हुने बितिकै बिक्री वितरण गर्न पाएको भए कम क्षति हुन्थ्यो । किन भने हामीले बजार नपाएरै हो । बाहिर जाने परको कुरा हो । भारतको माछा नेपालमा आउन मात्र रोक्न सकेका छैनौ सकेउ भनेपनि हामिले ३/४ महिना मात्रा रोक्न सक्यौं भने हामीलाई बिक्रीवितरणमा समस्या हुँदैन थियो नेपाली माछा बाहिर जाने भनेको त परैको कुरा भयो । भारतीय माछा रोकेर हामीले नेपालको माछा नेपालमै खपत गर्न पाए पनि हाम्रो बजार लाभदायक हुन्थ्यो । हामीले नेपालको माछा भारतमा निर्यात गर्ने अवस्था छैन अहिले । अर्कोे भारतबाट आउने माछाले हामीलाई असर गर्नु भएन । साथै हाम्रो माछा र भारतीय माछाको दाम पनि उस्तै छ । समग्रम भन्नुपर्दा कानुन छलेर आएका माछालाई रोकेर हाम्रो उत्पादनले मात्र बजार पायो भने सहज हुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्