बारामा ५३ सहकारी पोकामा सञ्चालन «

बारामा ५३ सहकारी पोकामा सञ्चालन

बाराको जितपुरसिमरा उपमहानगरभित्र कार्यक्षेत्र भएका ५३ सहकारी पोकामा सञ्चालन भएको छ ।
जिल्ला डिभिजन सहकारी कार्यालयले उपमहानगरका १ सय २९ बटा सहकारीको कागजात र तथ्यांक बुझाए पनि ७६ बटा सहकारीको विवरण उपमहानगरमा देखिएपछि ५३ वटा सहकारी पोकामा देखिएको हो ।
६ वर्षअघि स्थानीय तहलाई सहकारीको स्वामित्व हस्तान्तरण भैरहँदा जिल्लामा १२ सय ६५ सहकारी सञ्चालनमा थिए । जितपुर सिमरामा मात्रै १ सय २९ बटा सहकारीको सम्पूर्ण विवरण डिभिजन सहकारी बाराले जितपुर सिमरा उपमहानगरलाई बुझाएको थियो ।
हालसम्म उपमहानगरले गरेको जम्मा एक दिने अनुगमनमा भेटिएको ७६ वटा सहकारी संस्थाको अवस्था समेत भद्रगोल अवस्थामा सञ्चालनमा ६ महिना अघिसम्म पालिकाको सहकारी शाखाका प्रमुख रहेकी दुर्गा न्यौपानेले बताइन् ।
महानगरको तथ्यांकमा उल्लेख ७६ वटा सहकारीमध्ये ३१ वटा सहकारी पोकाबाटै प्रत्यक्ष सञ्चालनमा भैरहेको देखिएको छ । ३१ सहकारीमध्ये मलखादको व्यवसाय गर्ने तर कार्यालय नभएका कृषि सहकारीहमा मकालु, भुइयाबाबा, जलेश्बरनाथ मकालु, चुरियामाई, बालाजी, कामदेव, नमुना, नवरत्न, पौरख, जय विशाल, बक्रतुण्ठसहित ११ सहकारी छन् । त्यस्तै बचत तथा ऋणतर्फ सीमित स्थानमा कारोकार गरिरहेका महिमा, सिमरा सामुदायिक, क्रमिक, प्राथमिक, सम्बन्ध, समुदाय, चमत्कार, प्रगति, मिलन, अबिरलसहित १० सहकारी छन् ।
निष्क्रिय भनिए पनि अनुदानलगायतमा व्यक्तिगत लाभ लिदै आएको र मल खाद, बीउ, बिजन बिक्री वितरणमा व्यक्तिगत सञ्चालनमा रहेका थप १० कृषि सहकारीमध्ये गोदाबरी, मित्रता, टेगंरमाई, प्रवेश, सहोद्रामाई, पानीधारा, त्रिशूल, महाप्रभु, गोरेटो, सेतीदेबी दुग्ध उत्पादक सहकारीसमेत रहेको छ ।
स्थानीय सरकारबाटै सिफारिस, अनुदान, मल, बीउ लिएर जाने कतिपय सहकारीमा जनप्रतिनिधिकै आफन्त, नाता, गोता कार्यकर्ताले सञ्चालन गरेको बताइन्छ ।
उपमहानगरको २, ५, ७, ८, ९, ११, १२, १३, १६, १७, १८, १९, २१, २२, २४ बडाहरूमा उक्त सहकारी प्रत्यक्ष, अप्रत्यक्ष सञ्चालन भैरहेको छ भने उपमहानगरले खोजी नगरेका ५३ सहकारीमध्ये धेरैजसो सहकारी व्यक्हिरूले व्यक्तिगत लाभ लिने गरी सञ्चालन भैरहेको सहकारीकर्मीहरू नै बताउँछन् ।
जितपुर सिमरा उपमहानगरलाई कार्यक्षेत्र बनाएका दर्जनौं सहकारीका बारेमा उपमहानगर आफैं बेखबर छ । फाइलका पोका हस्तान्तरण भए पनि पालीका बाटै ५३ सहकारीको कागजात र प्रमाण नभेटिएपछि कर्मचारीप्रति आशंका उब्जिन थालेको छ ।
सहकारी शाखामा सरुबा भई आएका प्रमुख सुधन चौधरीले एक महिनाअघि जिम्मेबारी सम्हाले पनि सहकारीको भद्रगोल सञ्चालनकाबारे उनि आफैं बेखबर रहेका छन । उनी भन्छन्, पालिका भित्रको सहकारीहरू सञ्चालनको अवस्थाका लगायतकाबारे ठ्याक्कै बताउन सक्ने अवस्था छैन ।
पालिका भित्रै सञ्चालित कतिपय सहकारीले महिनाको एकपटक कार्यालय खोल्ने तथा साधारणसभा कोठामै गरे पनि जानकारी नदिने, उपमहानगरको सम्पर्क बाहिर काम गर्ने गरेको अवस्था रहेको छ । उपमहानगरमा बचत तथा ऋण, कृषि, महिला, सीप, उद्यम, बहुउद्देश्यीय, दुग्ध, पर्यटन, यातायात र साझा सहकारी छन् ।’
सहकारी क्षेत्र स्थानीय तहको प्राथमिकतामा पर्न नसके पछि आवश्यक कानुन, नियम, पूर्वाधार र जनशक्ति तयार नहुँदा नगरका सहकारीको व्यवस्थापनमा छैटांै वर्षसम्म पनि भद्रगोल देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्