सरकारले चिनियाँ पक्षसँगको भेटमा तत्काल नाका सञ्चालन गर्ने कुरामा विशेष जोड दिनु अत्यावश्यक भइसकेको छ ।
द्विदेशीय नाका तत्काल नियमित सञ्चालन गरौं

पछिल्लो समय नेपालको महाभूकम्पदेखि नै नेपाल तथा चीनबीचको तातोपानी नाका नियमित रूपमा सञ्चालन हुन सकेको छैन । झन् पछिल्लो पटक त केरुङ नाका पनि विभिन्न बहानामा बन्द हुन थालेपछि नेपाली व्यापारीहरूको पैसा तथा आयातीय वस्तु चीनतिरै फसेको छ । यता नेपालमा चाडबाडको मौसम सुरु भएको छ । दसैं, तिहार तथा छठजस्ता विशेष चाडबाडमा कुल वार्षिक व्यापारको करिब एकतिहाइ व्यापार हुने उद्योगी–व्यापारीहरूको दाबी छ । त्यसैले जति चाडबाड नजिकिँदै छन्, त्यति नै व्यापारीहरू आत्तिएका छन् । समयमा नै सामान नआइपुगे आफ्ना वस्तु नबिक्ने त छँदै छ, आफूले बैंकबाट लिएको ऋणको ब्याज तिर्न पनि हम्मे पर्ने उनीहरूको भनाइ छ । यतातिर उपभोक्तालाई चाडबाड महँगो हुनु त स्वाभाविक नै भयो । त्यसैले व्यापारीहरू परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई गुहार्न पुगेका छन् । परराष्ट्रमन्त्री चीनको भ्रमणबाट फर्किएको भोलिपल्टदेखि नै केरुङ नाका पनि बन्द भएको थियो । त्यस अवसरमा उनीहरूले सिन्धुपाल्चोकको तातोपानी नाकाको मात्रै कुरा गरे, तर नेपाली व्यापारी चीनतर्फका दुवै नाका बन्द भएका कारण पीडित भएका छन् । मन्त्रीले नाका तत्काल खुला गर्ने प्रयास भइरहेको त बताए तर नेपाल सरकारलाई कुनै जानकारी नदिइकनै बेलाबेलामा चीन सरकारले अन्तर्राष्ट्रिय नाका बन्द गर्दै आएको छ । त्यसबारेमा नेपाल सरकारको लाचारी वा कूटनीतिक कमजोरीका बारेमा भने कमै चर्चा भएका छन् । भन्सार नाका खोलेर व्यवसाय सञ्चालनको वातावरण तयार गरिदिन व्यापारीले ज्ञापनपत्र बुझाउँदै गर्दा उनीहरूलाई सान्त्वना दिनु एउटा कुरा हो तर साँच्चिकै नाका सहज रूपमा सञ्चालन गर्नका लागि चिनियाँ पक्षहरूसँग कुराकानी गर्नु अर्को कुरा हो ।
त्यसैले सरकारले चिनियाँ पक्षसँगको भेटमा तत्काल नाका सञ्चालन गर्ने कुरामा विशेष जोड दिनु अत्यावश्यक भइसकेको छ । दसैंभन्दा अघि नै आपूर्ति सहज हुने हिसाबले सकारात्मक नतिजा आउने गरी भन्सार नाका खुला गर्नु अत्यावश्यक छ । सोमबार चिनियाँ जनकंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल आएका छन् । मंगलबार परराष्ट्रमन्त्रीसँगको शिष्टाचार भेटमा नाका सुसञ्चालनका बारेमा कुरा राख्नु आवश्यक छ । हुन त प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा सोमबार चारदिने नेपाल भ्रमणमा आएका चान्सुलाई सभामुखले पनि नाकाका बारेमा स्पष्ट कुरा राख्नुपर्ने हो । किनकि सभामुख तातोपानी नाका नजिकै भएका कारण उनले त्यो भेगका व्यापारी तथा उपभोक्ता एवं नागरिकका मर्का बुझ्न सक्छन् भन्ने आशा गर्न सकिन्छ । आगामी दिनमा चाँडै नै नाकामा हुने व्यापार–व्यवसायमा सुधार गर्दै जानुपर्नेमा सरकारले नाकाको व्यापार–व्यवसायलाई सहजीकरण गर्न उदासीनता देखाउनु आश्चर्यजनक पनि छ । नाकाको व्यापारलाई व्यवस्थित गरेर नेपाली बजारमा भाउ व्यवस्थापन गर्नुपर्ने हुनाले पनि यसमा सबै राजनीतिक दल तथा सरकारको चासो हुनुपर्ने हो । तर, दसैं आइसकेको अवस्थामा राम्रोसँग नाका सञ्चालन हुन नसक्दा बजार व्यवस्थापनमा समस्या, समयमा सामान नआउँदा त्यसको लागत धान्न नसकेर व्यापारीहरूलाई परेको पीडालाई राजनीतिक दलहरूले गम्भीरतापूर्वक नलिँदा द्विदेशीय व्यापारमा ठूलै संकट आउने देखिन्छ । किनकि नाका सुसञ्चालन हुन नसक्दा व्यवसायीहरू नै पलायन हुन थाले भने नेपाल–चीन व्यापारको भविष्य के हुने भन्नेबारे पनि सरकारले सोच्नु आवश्यक छ । अन्यथा कुनै समय नेपालको निर्यात उत्तरी छिमेकीतर्फ भइरहेकोमा हाल चीनका दुवै नाका प्रयोग गरेर नेपाली वस्तु निर्यात हुन छोडेको छ । अझ तातोपानी नाका त २०७२ सालअघिको जस्तै गरी सञ्चालन हुनै सकेको छैन । पहिले दैनिक २ सयको हाराहारीमा मालवाहक सवारी ओहोरदोहोर गर्ने गरेकोमा उक्त नाकाबाट हालका दिनमा १२ वटासम्म मात्र मुस्किलले सञ्चालन हुँदा व्यापारीहरू पलायन हुने देखिन्छ । यतिमात्रै होइन, नेपालको वैदेशिक व्यापारमा चीनको उपस्थिति एकपक्षीय हुँदै गएको छ । आयात व्यापारमा चीन भारतपछि दोस्रो स्थानमा रहे पनि नेपालको निर्यात व्यापारमा चीन १६ औं स्थानमा पर्छ ।