तातोपानी नाका तत्काल खुला गर्ने प्रयास भइरहेको दाबी
परराष्ट्रमन्त्री डा. नारायण खड्काले सिन्धुपाल्चोकको तातोपानी नाका तत्काल खुला गर्ने प्रयास भइरहेको बताएका छन् । आइतबार मन्त्रालयमा हिमालपारी व्यापार संघका पदाधिकारी र व्यवसायीहरुले नाका खोलेर व्यवसाय सञ्चालनको वातावरण तयार गरिदिन आग्रह गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले नाका सहज रुपमा सञ्चालन गर्नका लागि चिनियाँ पक्षहरुसँग पनि कुरा गरिरहेको जानकारी दिए ।
उनले चिनियाँ पक्षसँगको भेटमा पनि नाका सञ्चालन गर्ने कुरामा विशेष जोड दिने प्रतिवद्धता जनाउँदै यही दसैंभन्दा अघि नै आपूर्ति सहज हुने हिसाबले सकारात्मक नतिजा दिने जानकारी गराए । उनले सोमबार चिनियाँ जनकंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल आउने र मंगलबार आफूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको उल्लेख गर्दै सो भेटमा नाका सुसञ्चालनको बारेमा कुरा राख्ने बताए । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चान्सु सोमबार ४ दिनका लागि नेपाल भ्रमणमा आउँदै छन् ।
ज्ञापनपत्र बुझाएपछि नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले अब पनि कोरोनाको नाममा नेपालले नाकामा गर्ने व्यापार रोक्न नहुने बताए । उनले सरकारले आगामी दिनमा चाँडै नै नाकामा हुने व्यापार–व्यवसाय धेरै सुधार गर्दै जाने अपेक्षा राखेको भन्दै त्यहाँका स्थानीयले झिटिगुण्टाको सुविधाका बारेमा नेपाल सरकार र चिनियाँ पक्षसँग कुराकानी गर्ने बताए । उनले साना, मझौला र ठूला व्यावसायीहरुलाई हुने गरेर सरकारले नाकाको व्यापार, व्यवसायलाई सहजीकरण गर्नेमा आशावादी रहेको पनि बताए । व्यापारलाई व्यवस्थित गरेको खण्डमा दुई देशबीचको आर्थिक अवस्थामा पनि सहजीकरण हुने र नेपालमा बजार भाउ व्यवस्थापन हुने उनको भनाइ थियो ।
ज्ञापनपत्र बुझाएपछि हिमालपारी व्यापार संघका अध्यक्ष अशोककुमार श्रेष्ठले दसैं आइसकेको अवस्थामा राम्रोसँग नाका सञ्चालन हुन नसक्दा बजार व्यवस्थापनमा समस्या भइरहेको जानकारी गराएका थिए । उनले समयमा सामान नआउँदा त्यसको लागत धान्न नसकेर कतिपय व्यापारीहरुले मृत्यु रोजेको उल्लेख गर्दै सरकारले चाँडोभन्दा चाँडो नाका सञ्चालन गर्ने पहल गरिदिन आग्रह गरे । अध्यक्ष श्रेष्ठले नाकामा कोभिड–१९ अघिको जस्तै आवतजावतको व्यवस्था गर्न आग्रह गर्दै नाका सुसञ्चालन हुन नसक्दा व्यवसायीहरु नै पलायन बन्ने स्थिति सिर्जना भइरहेकोमा परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
ज्ञापनपत्र बुझाएपछि सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेतले तातोपानी नाका २०७२ सालअघिको जस्तै गरी सञ्चालन गरे व्यवसायीहरुले राहत पाउने बताए । उनले परराष्ट्रमन्त्रीले यसबारेमा पहल गरिदिने र चाँडै व्यापार, व्यवसायको व्यवस्थापन हुनेमा आफू आशावादी रहेको पनि बताए । पहिले दैनिक २ सयको हाराहारीमा मालवाहक सवारी ओहोरदोहोर गर्ने गरेको तर अहिले दिनमा १२ वटासम्ममात्र मुस्किलले सञ्चालन हुँदा कोही पनि व्यवसायी व्यापार गरेर बस्नसक्ने अवस्था नरहेको गुनासो गर्दै अध्यक्ष बस्नेतले व्यावसायीहरु आफ्नो लगानी डुब्ने चिन्तामा रहेको भन्दै नाका सुसञ्चालनको पहल गरिदन आग्रह गरे ।