धान, चामल निर्यातमा भारतको नयाँ नीति
दसैंको संघारमा महँगी बढ्ने

भारतले गहुँ निर्यातमा लगाएको रोकपछि कनिका निर्यातमा पनि प्रतिबन्ध लगाएको छ । त्यसैगरी धान र चामल निकासीमा २० प्रतिशत शुल्क लगाएको छ । भारतले धान निर्यातमा लगाएको २० प्रतिशत करले नेपालमा प्रत्यक्ष प्रभावित पार्ने भन्दै उद्यमी–व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् ।
भारतको अर्थ मन्त्रालयअन्तर्गतको राजस्व विभागले सूचना जारी गर्दै धान र चामलको निर्यातमा २० प्रतिशत शुल्क लिन र कनिका निकासीमा प्रतिबन्ध लगाउन मातहतका निकायलाई परिपत्र गरेपछि नेपालका खाद्य उद्योगी तथा व्यावसायीहरु चिन्तित भएका हुन् । भारतको पश्चिम बंगाल, उत्तर प्रदेशसहित केही राज्यमा वर्षाको कमीका कारण धान उत्पादनमा कमी आएको र विश्वभरि खाद्यान्न उत्पादन एवम् आपूर्ति श्रृंखलामा आएको अवरोधका कारण निर्यात कम गर्ने लक्ष्यस्वरुप २० प्रतिशत कर लगाएको भारतको राजस्व विभागले बताएको छ ।
भारतको प्रधानमन्त्री गरिब कल्याण योजनाका लागि पर्याप्त स्टक रहनुपर्ने भएकोले खाद्य मन्त्रालयले यो अवस्थामा खाद्यान्न आफ्नो आन्तरिक आपूर्ति र मूल्य सहज बनाइराख्न कनिकामा प्रतिबन्ध लगाएर धान र चामल निर्यातमा २० प्रतिशत कर लिने भएको हो । भारत सरकारको यो निर्णयको असर नेपाली उद्योग व्यापार र आम उपभोक्तामा पर्ने भएको छ ।
भारतले कनिकामा प्रतिबन्ध र चामलमा २० प्रतिशत कर लिने निर्णयले त्यति धेरै प्रभाव नपरे पनि धानमा पनि २० प्रतिशत कर लिने नीतिले भने नेपाली उद्यमी–व्यापारी चिन्तित भएका छन् । यसको लागि नेपाल सरकारसँग तत्काल पहल गर्न उनीहरुले माग गरेका छन् ।
भारतले निर्णय गरेको २४ घण्टा नबित्दै वीरगञ्ज उद्योग वाणिज्य संघले शुक्रबार पत्रकार सम्मेलन गरी धान निर्यातमा २० प्रतिशत कर लिने भारतीय नीतिले नेपालमा खाद्य संकटको अवस्था आउनसक्ने भन्दै तत्काल निकास खोज्न सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल चामल, तेल, दाल उद्योग संघका केन्द्रीय अध्यक्ष समेत रहेका वीरगन्ज उद्योग वाणिजय संघका अध्यक्ष डा. सुवोध गुप्ताले नेपालमा अहिले करिब १० लाख मेट्रिक टन वार्षिक चामल उद्योगहरुले उत्पादन गरिरहेको र १८ लाख मेट्रिक टन वार्षिक खपत रहेकोले नेपाल खाद्यान्नमा आत्मनिर्भर नभएसम्म धान आयातका लागि निर्विकल्प भारत नै रहेको बताए ।
उनका अनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा मात्रै भारतबाट ५ लाख २० हजार टन चामल र साढे पाँच लाख टन धान आयात भएको छ । सोही अवधिमा ५० हजार टन कनिका आयात भएको थियो । कनिकाको प्रतिबन्धले नेपालका निम्न गरिब वर्गलाई बढी असर गर्ने र धानमा लिइने करले पनि नेपाली बजारमा चामलको मूल्य स्वत: बढ्ने अध्यक्ष गुप्ताले बताए ।
कनिकाको बढी खपत मदिरा उद्योगहरुमा हुने भएकोले निर्यातमा लगाएको प्रतिबन्धले मूल्य बढ्ने मात्रै होइन, मदिरा उद्योगहरु कच्चा पदार्थको अभावमा संकटमा पर्ने चिन्ता उद्योगी–व्यवसायीलाई छ । नेपालमा सबैभन्दा बढी राजस्व मदिरा उद्योगहरुबाट लिइने अन्त:शुल्कबाट नै उठ्ने गरेको छ ।
कुनै समयमा धान, चामल निर्यात गरेको नेपाल अहिले दिनानुदिन आयातमा परनिर्भर बन्दै गएको अवस्थामा धान, चामलमा लिइने २० प्रतिशत करले नेपालमा यस्ता वस्तुको मूल्य अकाशिने दाबी उद्योगी–व्यवसायीहरुको छ । भारतबाट हुने निकासीमा लगाइएको शुल्क नेपालका लागि भने छुट गराउन सरकारसँग संघले ध्यानाकर्षण गराएको छ । भारत र नेपालमा रोटीबेटीको समेत सम्बन्ध भएकोले भारतीय नीतिले नेपालको भान्सामा पर्ने असरले रोटीबेटीको सम्बन्धमा पनि नकारात्मक असर पार्ने भएकोले सरकारले भारतलाई कम्तीमा नेपालका लागि सो नीति लागू नगर्न आग्रह गर्नुपर्ने सुझाव निजी क्षेत्रको छ ।
नेपालमा सानाठूला गरी करिब २ हजार ५०० चामल उद्योग बन्द हुने अवस्था रहेको र भारतले लिएको नीतिले भारतीय क्षेत्रबाट धान, चामलको अवैध ओसारपोसार तीव्र हुने र यसले नेपाली खाद्य उद्योगलाई धरासायी बनाउने चिन्ता नेपालका खाद्य उद्यमी–व्यवसायीहरुलाई छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार भारत सरकारले यो वर्ष धानको उत्पादन घटेका कारण पनि निर्यातमा कडाइ गरेको हो । यो वर्ष भारतमा ५.६२ प्रतिशत धान रोपाइँ घटेको छ । चीनपछि भारत विश्वकै सबैभन्दा बढी धान उत्पादन गर्ने देश हो । विश्वभर उत्पादन हुने धानमा भारतको ४० प्रतिशत हिस्सा रहेको बताइएको छ ।