Logo

रेलमार्गको दूरी थपिँदै

सरकारले कुर्थादेखि–भङ्गाहा (विजलपुरा) सम्म रेलमार्ग विस्तारको क्रममा परीक्षण गरेको छ । विस्तारको योजनाअनुरुप बिहीबार रेल सञ्चालनका लागि रेल्वे ट्रयाकको स्पिड टेस्ट (गति परीक्षण) गरिएको हो ।
१७ किलोमिटरको सो खण्डमा २ पटक रेल्वे कम्पनीले रेल सञ्चालन गरेर गति परीक्षण गरेको र रेल सञ्चालनको लागि योग्य रहेको रेल विभागका महानिर्देशक रोहितकुमार विसुरालले बताए । उनले भने, “रेलमार्ग निर्माणको काम पूरा भएको छ । अब अन्य पूर्वाधारको काम पूरा भएर नेपाललाई हस्तान्तरण भएपछि कुर्था–विजलपुरा रेल सञ्चालन हुनेछ ।” ट्रयाक विस्तार भएपछि हाल रेल सञ्चालन भइरहेको ३४ किलोमिटर कुर्था–जनकपुर–जयनगर खण्डमा थप १७ किलोमिटर थप हुनेछ ।
रेल सञ्चालनका लागि रेल्वे ट्रयाकको स्पिड टेस्ट पूरा भएसँगै रेल सञ्चालनको प्राविधिक तयारी पूरा भएको रेल्वे कम्पनीले जनाएको छ । केही औपचारिक तयारीमध्ये प्राविधिक तयारी पूरा भएको नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । उनले भने, “ट्रयाकको परीक्षण पूरा भएको छ । अब सर्टिफिकेसनको प्रक्रिया अगाडि बढ्छ । परीक्षणको सर्टिफिकेसनपछि स्टेसनलगायत बनेका पूर्वाधार भारत सरकारले हस्तान्तरण गर्ने छ ।” त्यसपछि सो क्षेत्रमा रेल सञ्चालन हुने महाप्रबन्धक झाको भनाइ छ । रेलमार्गको निर्माण कार्य पूरा भएको तर अन्य पूर्वाधारको काम भने गर्ने बाँकी रहेको कम्पनीको भनाइ छ । स्टेसन, यात्रु कक्ष, शौचालयदेखि अन्य आधारभूत पूर्वाधार संरचना पूर्ण रुपमा निर्माण हुन बाँकी रहेको छ । बिहीबार नेपाल रेल्वे कम्पनीको रेलबाट १७ किलोमिटर कुर्था–जनकपुर–जयनगर खण्डमा गति परीक्षण गरिएको थियो । पहिलो चरणमा कम गतिमा र अर्काेपटक तीव्र गतिमा रेलको गति परीक्षण भएको महाप्रबन्धक झाले बताए । सञ्चालनको लागि सरकारले रेल्वे कम्पनी नै स्थापना गरेको छ । स्पिड टेस्ट गर्दा रेल कुर्थाबाट प्रतिघण्टा ६० किलोमिटरको गतिमा आएको र विजलपुराबाट फर्किंदा १ सय १५ को गतिमा परीक्षण गरिएको कम्पनीले जनाएको छ । रेल्वे ट्रयाकको परीक्षणमा नेपाली टोलीसहित भारतीय प्राविधिक टोली पनि संलग्न थियो । १९ चैत २०७८ मा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल रुपमा सीमापार रेल सेवाको शुभारम्भ गरेका थिए । शुभारम्भसँगै नियमित रेल सञ्चालन भैरहेको छ । १३ सय यात्रु क्षमता भएका दुई थान रेलले दैनिक २ पटक यात्रुलाई सेवा दिइरहेका छन् । नेपालको कुर्थादेखि भारतको जयनगरसम्म रेल नियमित सञ्चालन हुन थालेपछि नेपालमा धार्मिक र अन्य पर्यटकलाई पनि आवतजावतका लागि सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस्