रुग्ण उद्योग सञ्चालन गर्ने मोडालिटी तयार छ : मन्त्री बडू «

रुग्ण उद्योग सञ्चालन गर्ने मोडालिटी तयार छ : मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले देशभरका रुग्ण उद्योग सञ्चालन गर्ने मोडालिटी तयार भएको बताएका छन् । मन्त्रालय सम्हालेको ५ महिना अवधिमा भएका कामबारे जानकारी दिन बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बडूले यसै वर्षदेखि बन्द रहका मध्ये सात वटा उद्योग सञ्चालन गर्नेगरी अर्थ मन्त्रालयको निजीकरण एकाईमा पेस गरिएको बताए । उनले रुग्ण उद्योगहरुको पुन: सञ्चालन र व्यवस्थापनका सम्बन्धमा गठित कार्यदलले गोरखकाली रबर उद्योग, जनकपुर चुरोट कारखाना, नेपाल ओरियण्ट एण्ड म्याग्नेसाइट प्रालि, नेपाल मेटल कम्पनी, बुटवल धागो कारखाना, विराटनगर जुट मिल र हेटौंडा कपडा उद्योग सञ्चालनको लागि विकल्पसहितको सञ्चालन मोडालिटी तयार गरिसकेको पनि बताए । मन्त्री बडूले कार्यदलले तयार गरेको मोडालिटी मन्त्रिपरिषद्बाट समेत पास भई उद्योग सञ्चालन गर्नेगरी अर्थ मन्त्रालयमा पेस गरिएको भन्दै मन्त्रालयसम्बद्ध १७ वटा सार्वजनिक संस्थानमध्ये ७ वटाको चल/अचल सम्पत्ति यकिन गरी संरक्षणको लागि अभिलेखन कार्य सुरु गरेको पनि बताए ।
सरकारले उपभोक्ता र व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने सिलिन्डर र त्यसको मूल्य अलगअलग कायम गर्ने तयारी पनि गरेको छ । मन्त्री बडूले एलपी ग्यासमा रहेको अद्यावधिक नोक्सानी न्यूनीकरण गर्न र आम उपभोक्तालाई सहुलियतपूर्ण ग्यास उपलब्ध गराउन उपभोक्ता र व्यावसायिक प्रयोजनको लागि हुने सिलिण्डर तथा सोको मूल्य अलग–अलग कायम गर्न आवश्यक तयारी अघि बढाइएको जानकारी दिए । उनले ग्यासको उपभोग न्यूनीकरण गरी व्यापार घाटा कम गर्न सिंहदरबार परिसरभित्र विद्युतीय चुल्हो प्रयोग गर्नेगरी मन्त्रालयले पहल गरेअनुसार निर्णय कार्यान्वयनमा आएको जानकारीसमेत गराए ।
निर्यात व्यापार गर्ने उद्योगी–व्यवसायीलाई सरकारले १ अर्ब ४३ करोड रुपैयाँ ‘इन्सेन्टिभ’ दिएको छ । निर्यात व्यवसायमा संलग्न उद्योगी व्यवसायीलाई उनीहरूले गरेको निर्यात रकमका आधारमा सो परिमाणबराबरको रकम इन्सेन्टिभ दिइएको हो । मन्त्री बडूले मन्त्रालयको कार्यभार सम्हालेको ५ महिनाको प्रगति विवरण सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । बडू गत चैत २४ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त भएका थिए ।
मन्त्री बडूले रुस–युक्रेन युद्ध र कोभिड–१९ महामारीको चपेटामा परेको उद्योग तथा व्यापार क्षेत्रमा सुधार भएको दाबी गर्दै विदेशी लगानी प्रक्रियालाई थप सहज बनाउन एकल बिन्दु सेवा केन्द्रलाई प्रविधिमैत्री बनाउनुका साथै उद्योग, वाणिज्य र कम्पनी प्रशासनमा स्वचालित रुट प्रणाली अवलम्वन गर्ने कार्य अन्तिम चरण रहेको, उद्योग विभाग, वाणिज्य विभाग र कम्पनी रजिष्ट्रारको कार्यालयबाट दिने सेवालाई स्वचालित प्रणालीमा लैजाने अन्तिम चरणमा रहेको, नेपाल ढाका कपडालाई ब्राण्डिङ र लेबलिङ गरी स्वदेशी एवं विदेशी बजारमा माग बढाउन पाल्पा र तेह्रथुम जिल्लालाई ढाका राजधानी घोषणा गरी आवश्यक कार्यक्रम अगाडि बढाएको पनि जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्