पालिकाका चुनौती

गुल्मीका स्थानीय तहहरूले कृषि र पशुपालनबाट रोजगारी सिर्जना गरेर आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएका छन् । पालिका प्रमुखहरूले आफूहरू कृषि र पशुपालनबाट रोजगारी सिर्जना गरेर आत्मनिर्भर हुँदै समृद्धिको बाटोमा रहेको बताएका हुन् । तर, पालिका प्रमुखहरूले मुख्य गरेर किसानका प्रत्यक्ष समस्यामा आफूहरूलाई निकै चुनौती रहेको दाबी गरे । बाँदर र बँदेल आतंकबाट किसानहरू आजित भइरहेका बेला उनीहरूले एकल पालिकाका लागि निकै चुनौती रहेको बताएका हुन् । चुनौतीको रूपमा रहे पनि पालिका प्रमुखहरूले आफूहरूले सामूहिक धारणा बनाएर अगाडि बढ्ने बताएका छन् ।
कृषकको उत्पादनले बजार नपाउने, बजार पाए पनि सही मूल्य नपाउने र समयमा मलसम्म पनि नपाउने समस्या एकल पालिकाका लागि चुनौतीको रूपमा रहेको उनीहरूको भनाइ छ । सडक निर्माण गर्दा बस्ती जोखिममा रहने समस्या समाधान आफूहरूलाई चुनौतीका रूपमा रहेको पनि उनीहरूले बताएका छन् । कृषि र पशुपालनबाट रोजगारी सिर्जना गरेर आत्मनिर्भर बन्ने योजना रहेको उनीहरूले बताएका छन् । यसै सन्दर्भमा कारोबारकर्मी सन्तोष महताराले जिल्लाका पालिकाका अध्यक्षसँग गरेको कुराकानीको सार :
सुशासनयुक्त र भ्रष्टाचारमुक्त विकासमा जोड दिएका छांै
भुपाल पोखरेल
अध्यक्ष
धुर्कोट गाउँपालिका, गुल्मी
नागरिकमैत्री सेवा प्रवाहसँगै विकास निर्माणका काममा जोड दिएका छौं । अघिल्लो पाँच वर्षे कार्यकालमा पनि जनताको प्रत्यक्ष समस्यासँग जोडिएर सुशासनयुक्त र भ्रष्टाचारमुक्त संस्थागत विकास गरेका कारण हामी देशभरमा तेस्रो र लुम्बिनी प्रदेशमा पहिलो बन्न सफल भएका थियौं ।
पहिलो कार्यकालको सुरुवाती चरणमा जनशक्ति अभावको बीचमा पनि थुप्रै काम गर्न सफल भयौं । कार्यालय निर्माण र सभाहल निर्माणको काममा छोटो समयमा सम्पन्न गरी सेवा प्रवाहमा सहजता ल्याएका थियौं । आर्थिक विकासका लागि कृषि र पशुपालनलाई विशेष प्राथमिकतामा राखेर अगाडि बढेका कारण मेरो नेतृत्वमा दोस्रो कार्यकालका लागि पुन: निर्वाचित भयौं । खानेपानी र सरसफाइलाई पनि ध्यानमा राखेर काम गरेका कारण अहिले क्रमश: परिवर्तनका संकेतहरू देखिएका छन् । हामीले अघिल्लो कार्यकालमा कुल चार हजार घरधुरीमा खानेपानी धारा पुर्याउन सफल भयौं । बाँकी एक हजार पाँच सय घरधुरीमा अहिलेको कार्यकालमा खानेपानीको धारा पुर्याउँछौंै ।
सडकको स्तरोन्नति, मोटरेबल पुल निर्माण, गाउँपालिकाको केन्द्रमा सडक कालोपत्रेलगायतका कामलाई पनि सुरुवाति प्राथमिकतामा राखेर काम गरेका थियौं । सिँचाइ आयोजनामार्फत खेतीयोग्य जमिनमा सिँचाइको सुनिश्चित गरेका छौं । सुरक्षित आवास निर्माणअन्तर्गत विपन्न परिवारलाई अहिले आवासको दीर्घकालीन समाधान भएको छ । मनसुनजन्य विपद्को सम्बन्धमा हामीले जनचेतनामूलक कार्यक्रम र पूर्वतयारी वा पूर्वजानकारीको सन्दर्भमा काम गरेका छौं । वातावरण स्वच्छ र सफा राख्न पनि गाउँपालिकाले निरन्तर काम गरिरहेको छ । यसअन्तर्गत हामीले जलाधार संरक्षण गरेका छौं । गाउँपालिकाका अग्ला डाँडामा सुक्खा पोखरी निर्माण गरी यसको दिगो संरक्षण भएको छ ।
अघिल्लो कार्यकाल र अबको कार्यकालमा पनि हाम्रो पहिलो प्राथमिकतामा जनसहभागितामूलक कार्यक्रम रहेका छन् । गाउँपालिकाभित्रका विभिन्न कार्यक्रममा जनसहभागितामूलक कार्यक्रमलाई तीव्रता दिएर अगाडि बढेका छौं । विपद् न्यूनीकरणका लागि पनि विभिन्न कार्यक्रमहरू गरेका छौं । यससम्बन्धी अहिलेको कार्यकालमा विभिन्न कार्यक्रम अगाडि बढेका छन् ।
हाम्रो पहिलो प्राथमिकतामा सुशासन, संस्थागत विकास, गुनासो सुन्ने र नागरिकमैत्री सेवा दिने रहेका छन् । अघिल्लो कार्यकालमा स्थानीय तहले छोटो समयमा पनि धेरै काम गर्न सक्छन् भन्ने उदाहरण गुल्मीको धुर्कोट गाउँपालिकाले दिएको छ । यसको चुनौती यो कार्यकालमा पनि रहेको छ । मेरो नेतृत्वमा रहेकोले अघिल्लो कार्यकालमा भन्दा अहिले धेरै राम्रो काम गर्नुबाहेकको कुनै विकल्प छैन ।
घरबिमामा ५० प्रतिशत अनुदान, छात्रवृत्ति, अभिभावकविहीनलाई कक्षा १२ सम्म नि:शुल्क आवासीय शिक्षालगायतका काम हामीले पहिलो कार्यपालिकाको बैठकमा निर्णय गरेका थियौं, जुन अहिले कार्यान्वयनमा गइसकेका छन् । समृद्ध धुर्कोट बनाउन २५ वर्षे रणनीतिको बाटोमा हामी हिँडिरहेका छौं । मैले आफूले १० वर्षको अवधिमा पनि धुर्कोट गाउँपालिकालाई समृद्धिको बाटोबाट गन्तव्यनजिक लैजाने गरी अगाडि बढेको छु ।
अन्य पालिकाले सामूहिक समस्याको रूपमा देखाएको किसानमा मल अभाव हुनुलाई मैले फरक तरिकाले भन्दै आएको छु । हामीले किसानलाई प्रेरित गर्नुपर्छ । जैविक मलको प्रयोग गर्नुपर्छ । रासायनिक मलको अभाव भनेर हिँड्न नहुने मेरो बुझाइ छ । धुर्कोट गाउँपालिकालाई अगाडि बढाउन सबै क्षेत्रलाई समावेशी तरिकाले समेटेर अगाडि बढेका कारण हामी देशभरका पालिकाहरूमा तेस्रो र लुम्बिनी प्रदेशमा पहिलो भएका हौं । यसपटक पनि हामी धुर्कोट गाउँपालिकालाई नमुनाका रूपमा अगाडि बढाउने गरेर काम गरिरहेका छौं । धुर्कोट गाउँपालिकामा सुशासनयुक्त र भ्रष्टाचारमुक्त विकासका लागि हामी एकताबद्ध छौं । हामीले सुशासनयुक्त र भ्रष्टाचारमुक्त बनाएर धुर्कोट गाउँपालिकालाई अघिल्लो पाँचवर्षे कार्यकालभन्दा अझै नमुनाको रूपमा विकास गर्ने संकल्प गरेका छौं ।
बाँदर र बँदेल नियन्त्रणमा चुनौती छ
देवीराम अर्याल
अध्यक्ष
मालिका गाउँपालिका, गुल्मी
किसानका प्रत्यक्ष समस्यामा हामीलाई पनि निकै चुनौती देखिएको छ । हामीलाई बाँदर र बँदेल नियन्त्रण गर्न चुनौती देखिएको हो । मालिका गाउँपालिकाका किसानहरू जंगली जनावरहरूबाट आजित छन् । तर, यसको दीर्घकालीन समस्याका लागि निकै चुनौती छ । एकल पालिकालाई समस्याको रूपमा रहेको यी समस्याहरूलाई एकरूपताको धारणा बनाउन सबै मिल्नुपर्ने मेरो बुझाइ छ । बाँदर, बँदेल र कुकुरहरू एक ठाउँबाट धपाएर अर्को ठाउँमा पठाएर मात्र समस्याको समाधान नहुने रहेछ । सामूहिक रूपमा विकल्पको खोजी गर्नुपर्ने मेलै जिल्ला सभामा पनि माग राखेको छु ।
हाम्रो गाउँपालिकाको केन्द्र जिल्ला सदरमुकाम तम्घासबाट ४२ किलोमिटर टाढा छ । पश्चिम क्षेत्रमा मालिका विकट गाउँ मानिन्छ । स्थानीय तह सदस्यको निर्वाचनको समयमा भीषण वर्षाले मालिकाका वडाहरू एकआपसको सम्पर्कमा थिएनन् । किसानका खेतीबाली पूर्ण रूपमा नष्ट भएका थिए । असहज परिस्थितिलाई सहज बनाएर हामीहरू चुनिएका थियौं । हामीलाई किसानको समस्या समाधान गर्न चुनौती थपियो । तत्काल समस्याको समाधानमा जुट्नुपर्ने बाध्यताले हामीले पहिलो कार्यपालिकाको बैठकबाट विपद्मा परेकाहरूलाई राहत दिने निर्णय गरेका थियौं ।
हामीले अहिले मुख्य सडकलाई अनिवार्य ग्राभेल गर्नका लागि प्राथमिकतामा राखेर अगाडि बढेका छौं । तम्घासबाट घमिर हँुदै केन्द्रसम्म पुग्ने र फूलबारी–अर्जे छापहिले हुँदै केन्द्रसम्म मोटरबाटो ग्राभेल गर्ने गरी अगाडि बढेका छौं । प्रत्येक घरमा खानेपानीको धारा पुर्याउने गरी अगाडि बढेका छौं । हाम्रो कार्यकालमा प्रत्येक घरमा खानेपानीको धारा पुग्नेछ । नमुना विद्यालय निर्माण गर्ने गरेर अगाडि बढेका छौं । कृषि र पशुपालन क्षेत्रको विकासका लागि हामीले पकेट क्षेत्रका रूपमा विकास गर्ने गरी अगाडि बढेका छौं ।
स्वास्थ्य क्षेत्रको विकासका लागि १५ बेडको अस्पताललाई तत्काल निर्माणको सुरुवात गर्छाैं । मालिका गाउँपालिकाले विपन्न परिवारलाई ५० प्रतिशत अनुदानमा स्वास्थ्य बिमा गर्ने पनि निर्णय गरेको छ । वडाबाट गाउँपालिका केन्द्रसम्म सहज सडक पहुँचको विकासमा पनि गाउँपालिका अगाडि बढेको छ । पर्यटकीय क्षेत्रलाई अझै पर्यटक भित्रिने गरेर संरक्षण विकास गर्नतर्फ लागिरहेको छ । हामीले चुनावी प्रतिबद्धताअनुसार टोलटोलमा वृद्धाभत्ता पुर्याउन सुरु गरिसकेका छौं । घोषणा–पत्रअनुरुप काम अगाडि बढिसकेको छ । पाँच वर्षको कार्यकालमा सबै प्रतिबद्धता पूर्ण रूपमा पूरा गर्ने बाटोमा हामी अगाडि बढिरहेका छौं । गत आर्थिक वर्षभन्दा हामीले १७ करोड बढी बजेटका कार्यक्रम अगाडि बढाएर समृद्ध मालिकाको बाटोमा लम्किरहेका छौं । विद्यालय क्षेत्रमा बालमैत्री कक्षा व्यवस्थापन गर्नेलगायतका काम गरेका छौं ।
हामी पाँच वर्षको समयावधिमा मालिका गाउँपालिकालाई जनजीविकोपार्जनसँग जोडिएका कार्यक्रमको बाटोबाट जनतामुखी गाउँपालिकाको रूपमा अगाडि बढ्नेछौं । एकल पालिकाका लागि समस्याको रूपमा देखिएका समस्यालाई एकरूपताको धारणाबाट अगाडि बढेका पालिकाका सबै समस्या सहज रूपमा समाधान हुन्छ । मालिका गाउँपालिकालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने, कृषिलाई केन्द्रमा राखेर काम गर्ने, पशुपालन व्यवसायलाई प्रेरित गर्ने, शिक्षा क्षेत्रमा नमुनाको रूपमा काम गर्ने, सडकको स्तरोन्नति गरेर सहज यात्रा सुचारु गर्ने र अन्य विभिन्न प्रकारका समस्या समाधान गर्ने गरी मालिका गाउँपालिका तीव्रताका साथ अगाडि बढिसकेको छ । बाँदर र बँदेल नियन्त्रणमा देखिएको चुनौतीलाई दीर्घकालीन समाधान गर्न सामूहिक पहल हुनु आवश्यक छ । हामीले यो समस्यालाई समाधान गरेर कृषि र पशुपालनलाई प्राथमिकताका साथ अगाडि बढाउने योजनामा छौं ।
सीमित बजेटबाट धेरै काम गर्नुपर्ने बाध्यता छ
यदु ज्ञवाली
अध्यक्ष
रुरुक्षेत्र गाउँपालिका, गुल्मी
स्थानीय तह समृद्धिका लागि कृषि र पशुपालन बाहेकको विकल्प छैन । रुरुक्षेत्र गाउँपालिका पनि आफ्नो समृद्धिका लागि कृषि र पशुपालनलाई साथमा लिएर अगाडि बढ्नेमा स्पष्ट छ । हामीले चुनौती र अवसर दुवैका रूपमा लिएर आगामी पाँच वर्षमा कृषि र पशुपालनमार्फत गाउँपालिकालाई समृद्ध बनाउने गरेर अगाडि बढेका छौं ।
कृषि र पशुपालनबाट समृद्धितर्फ अगाडि बढ्नेमा कुनै शंंका छैन । हाम्रो कार्यकालमा पर्यटन क्षेत्रलाई समेत ध्यानमा राखेर रुरुक्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउँछौं । सबै स्थानीय तहले कृषि र पशुपालनबाट मात्र समृद्धिको यात्रा भेट्टाउनेमा म स्पष्ट रूपमा अगाडि बढेको छु । हामीहरूलाई चुनौतीको रूपमा बाँदर आतंकको समस्या छ । यसको दीर्घकालीन समाधान गर्न चुनौती देखिएको छ । स्थानीय तहबीच समन्वय र सहकार्य गरेर नियन्त्रणको उपाय खोजेर मात्र अगाडि बढ्नुपर्ने सोचमा हामी छौं । एकल पालिकामा देखिएका समस्याहरूलाई स्थानीय पालिकाबीच समन्वय र सहकार्य गरेर दीर्घकालीन समाधान हुनेमा स्पष्ट हुन जरुरी छ ।
हामीसँग निश्चित बजेट छ । नागरिकका अपेक्षाहरू धेरै छन् । असीमित कामहरू सीमित बजेटबाट गर्नुपर्ने बाध्यता हामीमा छ । हामीले भौतिक विकासको सन्दर्भमा थुप्रै काम गर्नु आवश्यक छ । मानवीय विकासको सन्दर्भमा उत्तिकै कामहरू गरेर नागरिकको जीविकोपार्जनमा टेवा पुर्याउनु आवश्यक छ । शिक्षालाई विकास गरेर बसाइँसराइ रोक्नुपर्नेछ । स्वास्थ्यलाई जनशक्तिसहितको विकास हुन जरुरी छ । तर, यी सबै विकास निर्माणका कामहरू हुँदाहुँदै पनि यसमा मेरो स्पष्ट धारणा भनेको व्यवस्थित विकास हुन नितान्त आवश्यक छ ।
व्यवस्थित रूपमा विकास भएमा मात्र नागरिकले विकासको वास्तविक अनुभूति गर्न सक्छन् । त्यसैले समावेशी रूपमा व्यवस्थित विकास हुन जरुरी छ । हामीले कृषिसँगै प्राथमिकताका साथ अगाडि बढाउन खोजेको पर्यटन हो । नेपालकै चार धाममध्येको एक रुरुक्षेत्र धाम हाम्रो ऐतिहासिक ठाउँ हो । उक्त क्षेत्रको नामबाट हाम्रो समग्र रुरुक्षेत्र गाउँपालिका नामकरण भएको छ । हामीले बुटवलबाट पाल्पासम्म आएका पर्यटक र पोखरा जाने पर्यटकलाई गुल्मीको रुरुक्षेत्रसम्म ल्याउन सकेमा मात्र हाम्रो पर्यटकीय क्षेत्रको विकासका अर्थ रहने भएकाले हाम्रो मुख्य प्राथमिकता रुरुक्षेत्र हो । हामीलाई रुरुक्षेत्रमा बनेको छिमेकी पाल्पा र स्याङ्जा गरी गुल्मीसहित तीन जिल्ला जोडेको तीनमुखे नमुना पुल पनि सहज यात्रासहित पर्यटकीय गन्तव्य बनेको छ । उद्घाटनको समयमा हामीले रुरुक्षेत्रको थप प्रचार गर्ने र तीनमुखे पुलमा कफी सपको रूपमा विकास गरेर आन्तारिक तथा बाह्य पर्यटकलाई आकर्षित गरी आर्थिक आम्दानीको बाटोमा हामी जानेछौं ।
रुरुक्षेत्रको महिमालाई विश्वसामु परिचित गराएर यहाँको आर्थिक विकासमा टेवा पुर्याउने हाम्रो रणनीति नै हो । हाम्रो प्राथमिकता कृषिपछि पर्यटन नै हो । कृषिक्षेत्रबाट नागरिकको जीविकोपार्जन माथि उकास्ने र पर्यटनबाट सम्पूर्ण रुरुक्षेत्रको आर्थिक विकासलाई समृद्धिको बाटोमा लैैजाने हाम्रो दीर्घकालीन सोच रहेको छ । रुरुक्षेत्रमा व्यवस्थित विकास गर्नका लागि हाम्रो समूह निरन्तर अगाडि बढेको छ । व्यवस्थित विकासबाट मात्र हाम्रो समृद्धिको यात्रा गन्तव्यमा पुग्नेछ । हरेक क्षेत्रको व्यवस्थित विकाससँगै कृषि र पशुपालनलाई प्राथमिकता दिँदै पर्यटन क्षेत्रको विकासमा हामी निरन्तर लाग्नेछौं ।
कृषि र पशुपालनबाट रोजगारी दिनुपर्छ
युवराज केसी
अध्यक्ष
चन्द्रकोट गाउँपालिका, गुल्मी
चन्द्रकोट गाउँपालिकामा कृषि र पशुपालनलाई प्राथमिकताका साथ अगाडि बढाउने योजना छ । शिक्षा र स्वास्थ्यजस्तो आधारभूत आवश्यकतालाई पहिलो कामको रूपमा र कृषि र पशुपालनलाई समृद्धिका लागि प्राथमिकताका रूपमा राखिएको छ । चन्द्रकोट गाउँपालिका ग्रामीण क्षेत्रअन्तर्गत पर्ने भएकाले यहाँका स्थानीयका आवश्यकता बढी छन् । सीमित बजेटमा असीमित आवश्यकता परिपूर्ति गर्नका लागि हामीसँग ठूलो चुनौती छ । आवश्यकता पूर्ति गर्नका लागि स्रोत र साधन पनि कम छन् ।
हामीले जनताका आवश्यकतालाई पूरा गर्न संघीय र प्रदेश सरकारको समन्वयमा विशेष अनुदान, सामान्यीकरण र समपूरकका कार्यक्रममार्फत अगाडि बढ्ने योजना बनाएका छौं । यसका साथसाथै गाउँपालिकाको आन्तरिक आम्दानीलाई पनि वृद्धि गर्न लागिपरेका छौं । गाउँपालिकाभित्रका नागरिकलाई कृषि र पशुपालनको माध्यमबाट स्वरोजगार बनाउने गरी योजना बनाएका छौं । गाउँपालिकाभित्रका नागरिकलाई स्वरोजगार बनाउन व्यावसायिक रूपमा कृषि र पशुपालनको माध्यमबाट नै सम्भव भएकाले उत्पादनलाई जोडेर रोजगारी सृजना गर्ने हाम्रो मुख्य लक्ष्य हो ।
हाम्रो गाउँपालिकालाई हामीले पर्यटनको क्षेत्रमा पनि विकास गर्ने गरी अगाडि बढेका छौं । हाम्रो प्राथमिकतामा पर्यटन पनि रहेको छ । स्थानीय क्षेत्रको विकासका लागि पहिलो आधार भनेको सडक नै हो, जसका लागि रिडी–रुद्रवेणी–वामीटक्सार सडकको स्तरोन्नति नभएसम्म सम्भव छैन । सो सडक निर्माणका लागि निर्माण व्यवसायीले समयमै काम सम्पन्न नगरेका कारण समस्या भएको छ । यो सडकलाई निर्माण सम्पन्न गरेमा चन्द्रकोटलाई निकै फाइदा पुग्छ । सडक निर्माण भएसँगै चन्द्रकोटवासीहरूले प्रत्यक्ष फाइदा लिन सक्नेछन् ।
तत्कालीन, अल्पकालीन र दीर्घकालीन गरेर तीन चरणमा काम गर्ने योजना छ । विभिन्न विषयका विज्ञहरूसँग सल्लाह गरेर विकास निर्माणको काममा जाने योजना छ । जिल्लाको विकट गाउँ मान्ने भएकाले हामीले यसलाई अझै धेरै विकास गर्नुपर्ने चुनौती छ । मुख्य सडकलाई स्तरोन्नति गर्ने, पर्यटकीय गन्तव्यमा पुग्ने सडकलाई व्यवस्थित गर्ने, खानेपानीका धारा घरघरमा पुर्याउने र शिक्षामा पनि व्यापक परिवर्तन गर्ने योजना छ । स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत विपन्नलाई ५० प्रतिशत छुटमा बिमा गर्ने कार्यक्रम कार्यान्वयनमा गइसकेको छ ।
सरकारी शिक्षा र निजी शिक्षामा भएको व्यापक अन्तरलाई अन्त्य गर्न गाउँपालिकाको ध्यान पुग्नेछ । यसमा हामीले आमूल परिवर्तन गरेर सरकारी विद्यालयमा विद्यार्थी आकर्षित गर्ने योजना छ । गाउँपालिकाभित्र जडिबुटी खेती, व्यावसायिक कृषि र व्यावसायिक पशुपालनलाई जोड दिएर रोजगारी सिर्जना गर्ने योजना छ । रोजगारी सिर्जनासँगै आत्मनिर्भर बन्ने योजना छ । निर्माणजन्य साना तथा ठूला योजनाअन्तर्गत उद्योगहरू खोल्ने योजना छ । दिगो विकासका लागि सदैव प्रेरित गर्ने खालका विभिन्न योजनालाई प्राथमिकतामा राखेर काम गर्ने योजना छ । पर्यकटीयस्थल टिमुरे ताल, चन्द्रकोट दरबार, दिब्रुङ शिवालय मन्दिर, चक्रेश्वर मन्दिर र अर्जेवा झर्नालाई अझै व्यवस्थित र संरक्षित गरी पर्यटकको आगमनबाट आर्थिक विकास गर्ने योजना हामीले राखेका छौं । हाम्रो मुख्य लक्ष्य कृषि र पशुपालनबाट रोजगारी सिर्जना गर्नु रहेको छ । आगामी पाँच वर्षमा हामीले कृषि र पशुपालनबाट रोजगारी सिर्जना गरी गाउँपालिकालाई आत्मनिर्भरबाट समृद्धिको यात्रामा लैैजाने संकल्प गरेका छौं ।