अन्तरदेशीय प्रसारणलाइन उद्घाटन «

अन्तरदेशीय प्रसारणलाइन उद्घाटन

निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेको बुटवल–लुम्बिनी प्रसारणलाइन तथा सबस्टेसनको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सोमबार उद्घाटन गरेकी छन् । बुटवल–लुम्बिनी डबल सर्किट प्रसारणलाइन र त्यसअन्तर्गत निर्माण भएको सबस्टेन मन्त्री भुसालले निर्वाचन आचारसंहिता सुरु हुनुभन्दा अघि उद्घाटन गरेकी हुन् । नेपाल विद्युत प्राधिकरणले सोमबार उद्घाटन गर्ने निर्णय आइतबार गरेको थियो ।
रुपन्देहीको सियारी गाउँपालिकाको मैनहियामा सबस्टेसन निर्माण भएको हो भने त्यहाँबाट भारतको उत्तर प्रदेश राज्यको महाराजगन्ज जिल्लाको नौतनवाको सम्पतियामा रहेको सबस्टेसनसम्म जोड्न प्रशारणलाइनको पूर्वाधारसमेत बनाइएको छ । प्रसारणलाइन र सबस्टेसनको निर्माणसँगै भैरहवा क्षेत्रमा करिब २०० मेगावाट विद्युत प्रवाह गर्न सक्ने पूर्वाधार तयार भएको छ । साथै भैरहवा क्षेत्र, भैरहवा–लुम्बिनी करिडोरमा चाहेजतिको गुणस्तरीय विद्युत आपूर्ति हुने भएको छ ।
मैनहिया सबस्टेसनका लागि बुटवल सबस्टेसनबाट १८ किलोमिटर बुटवल–लुम्बिनी प्रसारणलाइनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको हो । १३२/३३/११ केभी मैनहियामा सबस्टेसन सञ्चालनमा ल्याई त्यस क्षेत्रमा विद्युत आपूर्ति गरिएको आयोजना प्रमुख हरि पाण्डेले कारोबारलाई बताए ।
स्थानीय रुपमा विद्युत आपूर्तिका लागि मैनहिया सबस्टेसनबाट ३३ केभीका १० वटा फिडर निकालिने छ । त्यसमध्ये ४ वटा फिडर अहिले सञ्चालनमा रहेका छन् । विद्युतको भोल्टेज सुधारका लागि २ वटा क्यापासिटर बैंक राखिएको, १८ किलोमिटर प्रसारणलाइनमा ५७ वटा टावरको निर्माण गरिएको तथा बुटवल बजार क्षेत्रमा १३२ केभी प्रसारणलाइनलाई २ किलोमिटर भूमिगत गरिएको बताइएको छ । प्रसारणलाइन आयोजनाको प्रारम्भिक काम आर्थिक वर्ष २०७०/०७१ मा सुरु भएको थियो । भूकम्प, तराई मधेश आन्दोलन, नाकाबन्दी, रुट परिवर्तन, कोभिड–१९को महामारीलगायत कारणले आयोजनाको निर्माणमा ढिलाइ भएको थियो । आयोजनाको अनुमानित लागत ९५ लाख अमेरिकी डलर रहेको पाण्डेले बताए ।
सबस्टेसनको उद्घाटन गर्दै मन्त्री भुषालले विद्युत नपुगेको ठाउँमा दुई वर्षभित्रमा विद्युत पुर्‍याउने र पुगेको ठाउँमा पूर्वाधार निर्माण गरी गुणस्तरीय र भरपर्दो विद्युत आपूर्तिका लागि काम गरिरहेको बताइन् । बूढीगण्डकीलगायत ठूला जलशाययुक्त आयोजना निर्माण गरिने, खाना पकाउन प्रयोग हुने एलपीजी ग्यासको विस्थापित गर्ने, उद्योगलाई मागेजति विद्युत दिने, यातायातमा विद्युतीय सवारी साधन प्रयोग गर्ने, कृषिको उत्पादकत्व बढाउन सिँचाइमा विद्युत प्रयोग गरी अर्थतन्त्रलाई आत्मनिर्भर बनाउँदै समृद्धितर्फ अगाडि बढ्नु पर्ने भुषालको भनाइ छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीले प्रसारणलाइन र सबस्टेसन निर्माणपछि यस क्षेत्रको विद्युत आपूर्तिमा सुधार हुने बताए । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारणलाइनबाट बुटवल, भैरहवा क्षेत्रको विद्युत आपूर्तिमा सुधार भएको र उद्योगहरुलाई मागेजति विद्युत दिन सकिने अवस्था रहेको दाबी गरे ।
बुटवल सबस्टेसनबाट मात्रै विद्युत आपूर्ति दिँदा विगतमा समस्या रहेको उल्लेख गर्दै उनले अब यस क्षेत्र विद्युत हब बनेको र वितरण प्रणालीमा सुधार भएको बताए ।
मैनहिया सबस्टेसनबाट भारतको उत्तर प्रदेशसँग विद्युत प्रवाहका लागि १३२ केभी डबल सर्किट प्रसारणलाइन निर्माण भइरहेको छ । मैनहिया सबस्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यू नौतनुवा) सबस्टेसन जोड्ने प्रसारण लाइनको निर्माण अन्तिम चरणमा छ । अहिले उत्तर प्रदेशसँग ३३ केभीको मात्र प्रसारण संरचना रहेकोमा मैनहिया–सम्पत्तिया बन्नेपछि नेपाल–भारतबीचको अन्तरदेशीय विद्युत व्यापारलाई सहजता पुग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्