हेरिटेज सिटीको रूपमा विकास गर्ने टीकापुरको लक्ष्य

२०२४ चैत २ गतेदेखि तत्कालीन राजा महेन्द्रविक्रम शाहले स्वास्थ्य लाभका लागि टीकापुरमा आरोग्य केन्द्र बनाएर बसोबास गरेका थिए । उनले सपरिवार करिब दुई वर्ष बसिसकेपछि स्वास्थ्य लाभ गरी राजधानी काठमाडौं फर्किएका थिए । त्यसबीचमा राज महेन्द्रले त्यहीबाट शासन चलेको बताइन्छ । सो बेला राजपरिवारका लागि बनाइएका बंगला, उद्यानहरूलाई टीकापुर बंगला पार्कको रूपमा विकास गरिएको छ ।
२०२८ मा तत्कालीन मन्त्री खडकबहादुर सिंहले सो क्षेत्रको घनघोर जंगल फँडानी गरेर बस्ती बसालेका थिए । दसैंको ‘टीका’को सो क्षेत्रमा बसोबास आरम्भ गरिएको हुनाले ‘टीकापुर’ नामकरण गरियो । अहिले सो क्षेत्र नगरपालिकाको नामले चिनिएको छ ।
राज शासनदेखि लोकतान्त्रिक शासनसम्मको इतिहास सँगालोको टीकापुरलाई नगर कार्यपालिकाले हेरिटेज सिटीका रूपमा विकास गर्ने लक्ष्य लिएको छ । नेपाल सरकारले टीकापुरलाई स्मार्ट सिटीको रूपमा विकास गर्ने घोषणा गरेको भए पनि नगरपालिकाले हेरिटेज सिटीको रूपमा विकास गर्ने गरी २०७७ मा नगर बृहत् योजना बनाएको छ । टीकापुरका नगरप्रमुख रामलाल डगौरा थारूले नगर बृहत् योजनाअनुसार नै टीकापुरलाई सौन्दर्यकरण गरेर हेरिजेट सिटी विकास गर्ने योजना बनाइएको बताए । उनले हेरिटेज सिटीको रूपमा विकास गरी टीकापुरलाई पर्यटनसँग जोडिने बताए । ‘टीकापुरलाई ऐतिहासिक, सांस्कृतिक, कृषि र पर्यापर्यटन क्षेत्रको रूपमा विकास गर्ने गरी योजना बनाएका छौं,’ नगरप्रमुख डगौरा थारूले भने, ‘यहाँका ऐतिहासिक क्षेत्र र संस्कृतिको संरक्षण र विकास गर्ने, अर्गानिक कृषि उत्पादन गरी ब्रान्डिङ गर्ने र पर्यावरणलाई संरक्षण तथा सौन्दर्यकरण गर्ने योजनाहरू कार्यान्वयन गरिरहेका छौं ।’
नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेटमै टीकापुरलाई हेरिटेज सिटीको रूपमा विकास गर्ने लक्ष्य र कार्ययोजनाहरू नगरसभाबाट पारित गरेको छ । पार्कभित्र रहेको वीरेन्द्र–ऐश्वर्या गृहको मर्मत सम्भार, पार्कभित्रका संरचना निर्माण तथा मर्मत, पर्यटन सूचना केन्द्र भवन, निर्माण, सडकहरूको विस्तार, पर्यटकीय सम्भावना तथा सुविधाको खोजी तथा स्ततरोन्नति, कर्णाली नदीमा जल यातायात पर्यटन थप विस्तार, ऐतिहासिक तथा धार्मिक स्थल, भाषा, धर्म संस्कृतिको पहिचान, संरक्षण र संवद्र्धन र बहुल संग्रहालय निर्माण, टीकापुर पार्कमा पूर्वाधार विकास, विस्तार तथा व्यवस्थापन, चिसापानी–टीकापुर पर्यटकीय करिडोर विकास, ललितकला, साहित्य, संस्कृतिको संरक्षण तथा प्रवद्र्धनलगायत क्रियाकलापका लागि बजेटसमेत व्यवस्था गरिएको छ । नगरप्रमुख डगौरा थारूले यी योजनाहरू कार्यान्वयनको भइरहेको बताए ।
उनले कृषिलाई समेत पर्यटनसँग जोड्ने गरी कृषि कार्यक्रमहरू ल्याएको बताए । उनले प्रत्येक वडामा तरकारी तथा फलफूल खेती पकेट कार्यक्रम सञ्चालन गरिएको बताए । उनले उत्पादन वृद्धि गर्नका लागि किसानहरूलाई विभिन्न चरणमा अनुदान दिने, प्रविधि दिने, कृषिलाई यान्त्रिकरण गरिने, कृषि उत्पादनको बजारीकरण गर्ने र कृषि पकेट क्षेत्रमै होमस्टे व्यवस्थापन गरी पर्यटक भिœयाउने गरी कार्यक्रमहरू ल्याइएको बताए । उनले केराखेती, आलुखेती र तरकारी खेतीलाई व्यावसायिक बनाउँदै कृषिमा आत्मनिर्भर नगरपालिका बनाउने बताए ।
टीकापुर बंगला पार्क, रानी महल, कर्णाली नदी, केराखेती र त्यसको परिकार टीकापुर नगरपालिकामा रहेका पर्यटकीय वस्तु हुन् । यिनीहरूको विकास, विस्तार, प्रवद्र्धन गरी पर्यटक भिœयाएर ऐतिहासिक, कृषि, स्थानीय मौलिक संस्कृति र पर्यावरणीय पर्यटन प्रवद्र्धनमार्फत हेरिटेज सिटीको विकास गरिने नगरप्रमुख डगौरा थारूले बताए । उनले पूर्वाधार विकास, स्वास्थ्य, शिक्षामा नागरिकको पहुँच बढाउने गरी योजनाहरू कार्यान्वयन गरिरहेको बताए । उनले मूलत: टीकापुर नगरपालिकाले स्थानीय नागरिकहरूको आयवृद्धि गर्ने कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गरिरहेको बताए ।
२०७२ भदौ ७ मा भएको टीकापुर घटनाबाट खल्बलिएको सद्भावलाई पुनर्जाग्रित गर्न, टीकापुरमा सुशासन कायम गर्दै नगरको समृद्धि र समग्र विकास गर्नका लागि बृहत् विकास योजनालाई अगाडि बढाइएको नगरप्रमुख डगौरा थारूले बताए ।