गहुँ र चिनी आपूर्ति सहजीकरण गर्न आग्रह «

गहुँ र चिनी आपूर्ति सहजीकरण गर्न आग्रह

नेपालले भारतलाई गहुँ तथा चिनी आपूर्ति सहज बनाउन आग्रह गरेको छ । साथै, भारत सरकारले नेपाली चियामा थप शुल्क तथा कर लगाउने विषय सञ्चारमाध्यममा आइरहेको भन्दै यसबारे ध्यानाकर्षण गराउनुका साथै भारत सरकारले नेपाली चिया निर्यातमा असर नपर्ने गरी सहजीकरणका लागि अनुरोध पनि गरेको छ ।
मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको भेटमा मन्त्री दिलेन्द्रप्रसाद बडूले भारतका राजदूत नवीन श्रीवास्तवलाई चिनी र गहुँ आपूर्तिबारे ध्यानाकर्षण गराएका हुन् । साथै भारत सरकारले नेपाली चिया निर्यातमा असर नपर्ने गरी सहजीकरणका लागि पनि उनले अनुरोध गरे ।
दुई देशबीच सहमति भई हस्ताक्षरको चरणमा रहेको पारवहन सन्धिमा हस्ताक्षर गर्ने कार्यलाई शीघ्रताका साथ सम्पन्न गर्न पनि मन्त्री बडूले आग्रह गरेका छन् । त्यसैगरी कञ्चनपुरको दोधारा—चाँदनीमा सुख्खा बन्दरगाह सञ्चालनमा तीव्रता दिन तथा एकीकृत जाँच चौकी निर्माण, भारत सरकारबाट निर्माण गरिने भारतको धार्चुलासँग जोडिएको दार्चुलास्थित महाकाली नदिमाथिको पुल निर्माण कार्य छिटो सुरु गर्न र नेपाल सरकार परराष्ट्र मन्त्रालयमार्फत अनुरोध गरिएको दार्चुलाकै दुम्लिङ राप्तास्थित महाकाली नदीमाथि झोलुंगे पुल निर्माणमा आवश्यक सहमति प्रदान गर्न पनि उनले आग्रह गरेका छन् । मन्त्री बडूले पारवहन तथा व्यापारका क्षेत्रमा भारत नेपालको महत्वपूर्ण साझेदार रहेकोले नेपालमा भारतीय लगानी विस्तारमा राजदूतले आवश्यक सहजीकरण गर्ने विश्वास व्यक्त गरेका थिए ।
भेटमा नेपाल भारतबीच व्यापार, पारवहन, लगानीलगायत द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल पनि भएको थियो । मन्त्री बडूले भारतसँग नेपालको सम्बन्ध विशिष्ट रहेको उल्लेख गर्दै द्विपक्षीय सहयोग र सहकार्यबाट यस सम्बन्धलाई अझ सुदृढ गर्न सकिने विचार पनि व्यक्त गरे । साथै शिक्षा, स्वास्थ्य, ग्रामीण विकास तथा सूचना प्रविधिलगायत विभिन्न क्षेत्रमार्फत नेपालको विकासका लागि प्राप्त भइरहेको सहयोगका लागि भारत सरकारलाई उनले धन्यवाद पनि दिए ।
आगामी सेप्टेम्बरमा हुने नेपाल र भारतका वाणिज्य सचिवस्तरीय बैठकलाई प्रभावकारी र उपलब्धीमूलक बनाउनुपर्ने विचार पनि उद्योगमन्त्री बडूले व्यक्त गरेका थिए ।
सो अवसरमा नेपालका लागि भारतका राजदूत श्रीवास्तवले विगतदेखि नै नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक, आर्थिक सम्बन्ध प्रगाढ रहेको उल्लेख गर्दै ऊर्जा विकास, पारवहन तथा पर्यटन प्रवद्र्धनलगायत विषयमा दुई देशबीच सहकार्य
गरी द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्न सकिने बताए । त्यसैगरी उनले मन्त्री बडूूले उठाएका विषय भारत र नेपाल दुवै देशका साझा हितका विषय भएकाले भारत सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका लागि आफूले गम्भीरतापूर्वक सहजीकरण गर्ने पनि आश्वासन दिए ।
उनले नेपाली चियामा थप शुल्क र कर लगाउने विषय संसदीय समितिमा छलफलमै रहेकोले यसमा पनि आफूले नेपालको चिन्ता र चासोका विषयमा आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । राजदूत श्रीवास्तवले पेट्रोलियम तथा एलपी ग्यासको पाइपलाइन विस्तार, आर्थिक तथा व्यापारिक क्रियाकलापसँग जोडिएका पारस्परिक लाभका विषयमा भारतले नेपालसँग थप सहकार्य गर्न चाहेको धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्