स्वास्थ्य बिमामा नागरिकको न्यून सहभागिता

गुल्मीमा स्वास्थ्य बिमामार्फत उपचारको सेवा लिने बिरामीको संख्या निकै न्यून देखिएको छ । बिमामार्फत थोरै रकममा धेरै उपचारको लाभ लिन सकिने भएपनि स्वास्थ्य उपचार गर्नेको संख्या निकै न्यून देखिएको हो ।
आर्थिक वर्ष २०७८/०७९ मा गुल्मी अस्पतालबाट ६९ हजार ४ जनाले उपचारको सेवा लिए पनि २१ हजार ६ सय जनाले स्वास्थ्य बिमामार्फत सेवा लिएको गुल्मी अस्पतालका प्रमुख डा. उत्तम पच्याले जानकारी दिए । गत आर्थिक वर्षमा गुल्मी अस्पतालबाट ४७ हजार ४ सय ४ जना बिरामीले शुल्क तिरेर उपचार गराएका छन् ।
स्वास्थ्य बिमा गराएमा ३ हजार ५ सय रुपैयाँमा घरका ५ जनाले १ लाख रुपैयाँ बराबरको उपचार सेवा लिन सक्छन् । स्वास्थ्य बिमामार्फत उपचार गराउने बिरामीले गुल्मी अस्पतालबाट ४ करोड ७३ लाख ७८ हजार ४ सय ५३ रुपैयाँ बराबरको सेवा लिएको अस्पतालका प्रमुख डा. पच्याले जानकारी दिए । जसअन्तर्गत अस्पतालले अझै १ करोड ३३ लाख रुपैयाँ पाउन बाँकी रहेको छ ।
स्वास्थ्य बिमा बोर्ड शाखा कार्यालय गुल्मीका प्रमुख दर्ता अधिकारी डिकेन्द्र विष्टले गुल्मीका सबै नागरिकलाई अझै स्वास्थ्य बिमाको पहुँचमा ल्याउन नसकिएको बताए । उनका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा ३ हजार ८ घरपरिवारका ७ हजार ८ सय १७ जनाले स्वास्थ्य बिमा गराएका थिए । जसबाट ५३ लाख ४५ हजार १ सय ५० रुपैयाँ संकलन भएको थियो । आर्थिक वर्ष २०७७/०७८ मा कूल २१ हजार १ सय ५८ घरपरिवारका ५८ हजार ३ सय ९२ जनाले स्वास्थ्य बिमा गराएका थिए । जसबाट नवीकरणसहित ३ करोड ५८ लाख ९२ हजार ८ सय ५० रुपैयाँ संकलन भएको थियो ।
आर्थिक वर्ष २०७८/७९ मा भने स्वास्थ्य बिमा गराउनेको संख्या घटेको छ । कूल १५ हजार ९ सय ५२ घरपरिवारका २८ हजार ३ सय ८० जनाले स्वास्थ्य बिमा गराएका छन् । जसमा अघिल्लो पटकको नवीकरणसहित ४ करोड ७५ लाख ६० हजार ५ सय ५० रुपैयाँ संकलन भएको स्वास्थ्य बिमा बोर्ड शाखा कार्यालय गुल्मीका प्रमुख दर्ता अधिकारी बिष्टले जानकारी दिए । गुल्मीमा अहिलेसम्म कूल ४० हजार १ सय १८ घरपरिवारका ९४ हजार ५ सय ८९ जनाले स्वास्थ्य बिमा गराएका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार गुल्मीको कूल जनसंख्या २ लाख ४६ हजार ८ सय ३३ रहेकोमा जम्मा ३८ प्रतिशतले मात्र स्वास्थ्य बिमा गराएका छन् ।
अघिल्लो वर्ष भन्दा पछिल्लो वर्ष नयाँ बिमितको संख्या घटेको स्वास्थ्य बिमाका दर्ता अधिकारी डिकेन्द्र बिष्टले बताए । “तुलनात्मक रुपमा पछिल्लो वर्षमा बिमितको संख्या बढ्नुपर्ने हो” दर्ता अधिकारी विष्टले भने, “अस्थायी बसोबास गर्नेले अनेत्र स्वास्थ्य बिमा गराउँदा गुल्मीमा नयाँ बिमितको संख्या घटेको हो ।” उनले जिल्लाभर ९३ जना बिमा दर्ता सहयोगी मार्फत काम भइरहेको बताएका छन् । स्वास्थ्य बिमामा नागरिकलाई प्रेरित गर्ने काम भने अहिलेसम्म कुनै निकायबाट भएको छैन ।