महँगी नियन्त्रणमा सरकार असफल «

महँगी नियन्त्रणमा सरकार असफल

नेपालमा अघिल्लो आर्थिक वर्ष महँगी सरकार तथा नेपाल राष्ट्र बैंकको काबुभन्दा बाहिर गएर बढेको छ । विश्वव्यापी रूपमा भएको इन्धन तथा खाद्यवस्तुको मूल्यवृद्धि, आपूर्ति प्रणालीमा आएको व्यवधान तथा नेपाली मुद्रा अमेरिकी डलरसँग अवमूल्यन भएका कारणले गत आर्थिक वर्ष २०७८/०७९ का पछिल्ला महिनाहरूमा मुद्रास्फीतिमा चाप रहन पुगेको नेपाल राष्ट्र बैंकले पनि प्रस्टीकरण दिएको छ । तर, विगत ६ वर्षयताकै सबैभन्दा बढी मूल्यवृद्धि भएको गत आर्थिक वर्षमा सरकारले आन्तरिक बजारमा आपूर्ति श्रृंखलामा ध्यान दिन सकेको भए नागरिकलाई केही राहत हुने थियो । सरकारले बजारमा माग तथा आपूर्तिमा ध्यान दिन नसकेका कारण राष्ट्र बैंकको तथ्यांकमा देखिएको भन्दा पनि अनुभूत गरिएको महँगी झन् बढी छ । आर्थिक वर्ष २०७८/०७९ को सुरुका महिनाहरूमा मुद्रास्फीति नियन्त्रणभित्रै रहे तापनि पछिल्ला महिनाहरूमा बढेका कारण वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.३२ प्रतिशत पुगेको छ । सरकारको लक्ष्यभन्दा कम मूल्यवृद्धि भए पनि वार्षिक औसत मूल्यवृद्धि भने ६ वर्षयताकै उच्च हो । गत आवको मूल्यवृद्धिको चापका कारण केन्द्रीय बैंककै एक अनौपचारिक अध्ययनले चालू आर्थिक वर्ष पनि दोहोरो अंकमा मूल्यवृद्धि पुग्ने अनुमान गरेको छ । मंगलबार नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको गत आवको विवरणअनुसार असारमा मूल्यवृद्धि ८.०८ प्रतिशत पुगेको छ भने वार्षिक औसत मूल्यवृद्धि ६.३२ प्रतिशत पुगेको हो । आव २०७२/०७३ मा वार्षिक औसत मूल्यवृद्धि ९.९३ प्रतिशत रहेको थियो । तर, त्यसपछिका आर्थिक वर्षमा बिस्तारै घट्दै गएकोमा गत आवमा रूस–युक्रेन युद्धका कारण मूल्यवृद्धि सरकारको नियन्त्रणभन्दा बाहिर पुगेको हो । २०७९ असार महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत रहेकोमा २०७८ असार महिनामा मुद्रास्फीति ४.१९ प्रतिशत रहेको थियो । यसरी अघिल्लो आवको तुलनामा गत आवमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल, दाल तथा गेडागुडी, सुर्तीजन्य पदार्थ र मदिराजन्य पेय पदार्थ उपसमूहको मूल्यवृद्धि बढी भएको देखिन्छ ।
तर समग्र अर्थतन्त्रमा भने आवका अन्तिम महिनामा केही सुधार देखिएको छ । आयात प्रतिबन्ध तथा नियन्त्रण गरेरै भए पनि सरकारले विदेशी मुद्रा सञ्चितिमा केही सुधार ल्याएको छ । जसका कारण आवको अन्तिम एक महिनामा ३९ अर्ब रुपैयाँले विदेशी मुद्रा सञ्चिति बढेको छ । जेठसम्म ११ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ विदेशी मुद्रा सञ्चिति रहेकोमा असारमा विदेशी मुद्रा सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ पुगेको हो । तर, विदेशी मुद्रा सञ्चिति अघिल्लो वर्षभन्दा भने घटेको नै छ । किनकि २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोडबराबर रहेको कुल विदेशी मुद्रा सञ्चितिमा १३.१ प्रतिशतले कमी आई २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड कायम भएको छ । गत आवको आयातलाई आधार मान्दा विदेशी विनिमय सञ्चिति ७.८ महिनाको वस्तु आयात र ६.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको आकलन छ । यसरी विदेशी विनिमय सञ्चितिमा सुधार हुनुमा रेमिट्यान्स आयले पनि सघाउ पुर्‍याएको छ । किनकि गत आवमा कुल रेमिट्यान्स आय ४.८ प्रतिशतले बढेको छ । गत आवमा रेमिट्यान्स आय ४.८ प्रतिशतले वृद्धि भई १० खर्ब ७ अर्ब ३१ करोड पुगेको छ । वैदेशिक रोजगारीका लागि अन्तिम श्रमस्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रूपमा वृद्धि भई ३ लाख ५४ हजार ६ सय ६० पुगेका कारण पनि रेमिट्यान्स आय बढेको अनुमान छ । विदेशी विनिमय सञ्चितिमा सुधार आउनुमा खुद ट्रान्सफर ४.३ प्रतिशतले वृद्धि भई ११ खर्ब १७ अर्ब ८८ करोड पुग्नु पनि हो । तर, समग्रमा अर्थतन्त्रको सुधार भने भएको छैन । किनकि गत आवमा २ खर्ब ५५ अर्ब शोधनान्तर घाटा भएको छ । असार मसान्तसम्म २ खर्ब ५५ अर्बले शोधनान्तर घाटामा जाँदा अघिल्लो वर्ष असार मसान्तमा १ अर्ब २३ करोडले शोधनान्तर बचतमा थियो । त्यसैले गत आवमा बाह्य क्षेत्र ठूलो संकटमा गएको भनिए तापनि चालू आवमा पनि त्यसको दबाब कायमै रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्