जुम्लामा दीर्घ रोगको विशेषज्ञ सेवा सुरु «

जुम्लामा दीर्घ रोगको विशेषज्ञ सेवा सुरु

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पश्चिम नेपालमै पहिलो दिर्घरोगको उपचारका लागि (ब्रोन्कोस्कोपी) विशषज्ञ सेवा शुरु भएको छ । क्षयरोग, फोक्सोमा क्यान्सर, खकारमा रगत बग्ने (टिबी)रोग, क्यान्सरको शंका लागेको लगायत दिर्घ रोगीको उपचारका लागि जुम्ला अस्पतालमा सोमबारदेखि ब्रोन्कोस्कोपी सेवा शुरु भएको हो ।
पश्चिम नेपालकै एक मात्र छाती र आइसियू विशषज्ञ डाक्टर अनुस्मृती पालले ब्रोन्कोस्कोपी अर्थात क्षयरोग, फोक्सोमा क्यान्सर, खकारमा रगत बग्ने लगायत दिर्घरोगको विशषज्ञ उपचार गर्ने छन् । उनका अनुसार सोमबार पहिलो बिरामीका रुपमा खकारमा रगत बग्ने जुम्लाका एक बिरामीको सिटि स्क्यान गरी ब्रोन्कोस्कोपी उपचार थालिएको छ ।
डाक्टर पालले भनिन्, “कर्णालीमा क्षयरोग, फोक्सोमा क्यान्सर, खकारमा रगत बग्ने रोगका बिरामी बढ्दै छन् । विगतमा क्यान्सरको शंका लागेका विरामीलाई चितवन र काठमाडांै पठाउनुपर्ने बाध्यता थियो । अब जुम्लामै सबै उपचार हुन्छ । कर्णालीका नागरिकले दिर्घ रोग पालेर बस्न पर्ने छैन ।”
ब्रोन्कोस्कोपी सेवा नेपालका धेरै ठाउँमा अझै संचालित छैन । साथै बच्चाले कलम, मासुको हड्डी लगायतका केहि वस्तु घाँटीभित्र अड्काएमा पनि अब सहजै निकालिने छ भने क्यान्सरको परिक्षण पनि जुम्लामै हुनेछ ।
विगतमा सिटि स्क्यान गर्दा क्यान्सरको शंका लागेका विरामीलाई महँगो खर्चमा माँसु जाँचका बाहिरी जिल्ला जान बाध्य थिए । सुदूरपश्चिम सहित कर्णाली प्रदेशका सबै नागरिकले जुम्लामै छाती सम्बन्धी समस्यासँगै क्यान्सर परिक्षण, खकार परिक्षण, क्षयरोगकोको सहजै उपचार पाउने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले बताए । दिर्घरोग निदानका लागि ब्रोन्कोस्कोपी सेवा कर्णालीमा कोशेढुंगा बन्ने पनि उपकुलपति रावलको विश्वास छ । कर्णाली प्रतिष्ठानका अस्पताल निर्देशक डा. राजिव शाहले सोमबारदेखि जुम्लामा ब्रोन्कोस्कोपी सेवा शुरु भएकोले उल्लेखीत रोगको शंका लागेका उपचार गराइरहेका विरामीलाई विशषेज्ञ उपचार गराउन आउन समेत अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्