पूर्वाधार सम्मेलनले लगानी बढाउने अपेक्षा «

पूर्वाधार सम्मेलनले लगानी बढाउने अपेक्षा

बजेट कार्यान्वयन गर्न नसक्दा न्यून पुँजीगत खर्च भएको अवस्थामा नेपाल उद्योग परिसंघले पूर्वाधार सम्मेलन गर्न लागेको छ । “पूर्वाधारको निर्माण र बजेटमा भएका कार्यक्रम कार्यान्वयन गर्न नसक्दा पुँजीगत खर्चमा कमी भएको अवस्थामा सम्मेलनले पूर्वाधार निर्माण र यसको कार्यान्वयनका लागि सहयोगी भूमिका निर्वाह गर्ने र लगानीको लागि वातावरण तयार गर्न भूमिका खेल्नेछ,” पूर्वाधार सम्मेलन २०२२ को बारेमा जानकारी गराउँदै परिसंघका अध्यक्ष विष्णु अग्रवालले भने । विकासका लागि पूर्वाधार (इन्फ्रास्ट्रक्चर फर ग्रोथ) भन्ने नारासहित चौथो संस्करणको नेपाल पूर्वाधार सम्मेलन हुने भएको हो । २३ र २४ भदौमा काठमाडौंमा नेपाल उद्योग परिसंघले दिगो पूर्वाधारमार्फत देशको समग्र विकास गर्न सकिन्छ भन्ने लक्ष्यका साथ सम्मेलन आयोजना गर्न लागेको पनि उनले बताए । उच्च अंकको आर्थिक वृद्धि हासिल गर्न पूर्वाधारमा लगानी आवश्यक रहेको र सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा देखिएको प्रतिबद्धता अनुसार ठूला पूर्वाधार परियोजना निर्माणका लागि वित्तीय स्रोत जुटाउन परिसंघको समन्वयमा सम्मेलन आयोजना गर्न लागेको उनको दाबी छ ।
सम्मेलनको सहआयोजकमा लगानी बोर्ड, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाली युवा निर्माण व्यवसायी समुदाय रहेका छन् । यातायात, ऊर्जा, सहरी विकास, खानेपानी तथा सरसफाइलगायत पूर्वाधार विकासका प्रमुख बाधाहरू पहिचान गर्दै विगत तीन वटा पूर्वाधार सम्मेलनको समीक्षा गर्ने, पूर्वाधार विकासका लागि सरकारले गरेका प्रतिज्ञा एवं सुधारहरूलाई उत्प्रेरित गर्ने, पूर्वाधार क्षेत्रमा निजी लगानी आकर्षित गर्ने, दिगो विकास लक्ष्यहरू हासिल गर्न मद्दत गर्ने हरित, जलवायु, उत्थानशील पूर्वाधार परियोजनाहरूलाई प्राथमिकता दिने यस सम्मेलनको उद्देश्य रहेको छ ।
सन् २०१९ मा भएको पूर्वाधार सम्मेलनपछि कोभिड–१९ का कारण सन् २०१९/२० मा नेपालको आर्थिक वृद्धि २.३७ प्रतिशतले संकुचित भएको र आर्थिक गतिविधिहरू विश्वव्यापी रूपमा ठप्प हुँदा विश्वले आपूर्तिमा गम्भिर अवरोधको सामना गर्नुपरेको संघले बताएको छ । नेपालले चालू आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । त्यसैले कोभिड–१९ पछिको प्रोत्साहन एवं उच्च अंकको आर्थिक वृद्धि हासिलका लागि पूर्वाधारमा लगानी अपरिहार्य रहेको अध्यक्ष अग्रवालको भनाइ छ । विश्वव्यापी रुपमा भइरहेको पूँजी अभाव र बढ्दो ब्याजदरले पूर्वाधार क्षेत्रमा लगानीका लागि स्रोत परिचालनमा थप चुनौती बनेको बेलामा सम्मेलनले स्थानीय र अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई विश्वासमा लिएर नवप्रवर्तनकारी वित्तीय उपकरण ढाँचामा केन्द्रिकृत गरेर संवादको माध्यमबाट पूर्वाधारमा समन्वयको भूमिका निर्वाह गर्ने जनाइएको छ ।
सम्मेलनले नवीन वित्तीय ढाँचा, प्रत्यक्ष वैदेशिक लगानी, निजी क्षेत्रको थप संलग्नता, प्रविधि र डिजिटल रूपान्तरणलगायत विषयमा नीतिगत सुधारको अवधारणालाई पुनर्जीवित गर्ने परिसंघका उपाध्यक्ष वीरेन्द्र पाण्डेले बताए । पूर्वाधारका लागि लगानी प्रवद्र्धन, पूर्वाधार क्षेत्रको विकासका अवरोधलगायतका विषयमा राष्ट्रिय–अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञ, लगानीकर्ता, तीनै तहका सरकार, निजी क्षेत्रका प्रतिनिधिबीच गहन रुपमा छलफल हुने भन्दै उनले पूर्वाधारमा लगानी गरेर आर्थिक विकासमा उत्पादकत्व वृद्धि गर्न सकिने हँुदा मूलत: कनेक्टिभिटीमा जोड दिन खोजेको बताए ।
परिसंघका पूर्वाधार समिति अध्यक्ष आशिष गर्गले निजी क्षेत्रले लगानी गरेका पूर्वाधारका क्षेत्रमा राम्रो नतिजा प्राप्त भएकाले सम्मेलनले लगानीको अवसर जुटाउने बताए भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव शंकरसिंह धामीले नेपालमा पूर्वाधार विस्तारको रोलमोडल तयार गर्न सम्मेलन सफल हुने बताए ।
सम्मेलनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नेछन् । सम्मेलनको विशिष्ट अतिथिमा भारतका सडक, यातायात तथा राजमार्ग मन्त्रालयका राज्यमन्त्री विजयकुमार सिंह रहेका छन् भने सम्मेलनको विभिन्न सत्रमा पूर्वप्रधानमन्त्री, सातै प्रदेशका मुख्यमन्त्री, महानगरपालिकाका मेयर, पूर्वाधार क्षेत्रका राष्ट्रिय, अन्तर्राष्ट्रिय विज्ञ, एसियाली विकास बैंकका उपाध्यक्ष, प्राध्यापकहरुको प्रस्तुति हुनेछ । सगरमाथा सिमेन्टको मुख्य प्रायोजनमा हुन सम्मेलनमा २५ देशबाट ६ सयभन्दा बढीको सहभागिता हुने जनाइएको छ ।
नेपाल उद्योग परिसंघले पहिलो नेपाल पूर्वाधार सम्मेलन ‘पूर्वाधारमा द्रुत गति लगानी’ शीर्षकमा सन् २०१४ मा आयोजना गरेको थियो । सन् २०१७ मा आयोजित दोस्रो सम्मेलनको विषय ‘निजी क्षेत्र अपरिहार्य साझेदार’ र सन् २०१९ को तेस्रो नेपाल पूर्वाधार सम्मेलन ‘दिगो विकासका लागि लचिलो पूर्वाधार’ मा केन्द्रित थियो ।

प्रतिक्रिया दिनुहोस्