नेविसंघ पूर्वाञ्चल विश्वविद्यालय समितिद्वारा आन्दोलनको चेतावनी «

नेविसंघ पूर्वाञ्चल विश्वविद्यालय समितिद्वारा आन्दोलनको चेतावनी

नेपाल विद्यार्थी संघ पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय समन्वय समितिले पूर्वाञ्चल विश्वविद्यालय भित्रका समस्या समाधान र बेथिति अन्त्य गर्न ४८ घन्टे अल्टिमेटम दिँदै आन्दोलनको चेतावनी दिएको छ ।
आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर समितिले सशक्त आन्दोलन गर्ने चेतावनी दिएको हो । नेविसंघले विद्यार्थीको आन्दोलनले पुर्‍याएको क्षतिको जवाफदेही विश्वविद्यालय हुनुपर्ने जनाएको छ ।
इन्जिनियर, मेडिकल तथा अप्लाइडेड साइन्सलगायत अरु संकायहरूको वार्षिक र सेमेस्टर प्रणालीमा मौका परीक्षाको व्यवस्था गर्नु पर्ने, परीक्षा नियमावली २०७० संशोधन तथा परिमार्जन गरी तत्काल कार्यन्यावन गरिनुपर्ने, चक्रवति हवि कलेजमा गरिएको चर्को मूल्यवृद्धि तत्काल फिर्ता गरी आवश्यक छानबिन गरिनुपर्ने लगायतका १५ वटामा नेविसंघले अघि सारेको छ ।
त्यस्तै, नेविसंघले चर्को सम्बन्धन शुल्क मिनाहा गरिनुपर्ने, परिक्षा नतिजा ३ महिनाभित्र प्रकाशन गरिसक्नुपर्ने, परिक्षा फाराम अनलाइन प्रणालीबाट भर्ने व्यवस्था मिलाइनु पर्ने, पूर्वाञ्चल विश्वविद्यालयको सम्पर्क कार्यालय काठमाडौंमा राख्नुपर्ने माग गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेविसंघ पूर्वाञ्चल विश्वविद्यालयका कार्यबाहक अध्यक्ष विजय फुलाराले ४८ घण्टाभित्र युनिभर्सिटीले माग पुरा नगरे सबैसँग समन्वय गरेर कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनले आन्दोलन व्यक्तिगत फाइदाको लागि नभई युनिर्भसिटीमा अध्ययनरत सबै विद्यार्थीको हितको लािग गरिरहेको बताए । उनले भने, ‘यो आन्दोलन दुर्गम स्थानबाट ऋण खोजेर छोराछोरीलाई पढ्न पठाएका आमा–बावु र भविष्य बनाउन आएका विद्यार्थीहरूको हितमा छ ।’ युनिभर्सिटीले हजारौ गरिबका छोराछोरीको भविष्य चकनाचुर पारिरहेको उनको भनाई थियो । उक्त युनिभर्सिटीअन्तर्गत काठमाडौं उपत्यकामा हजारौ कलेज रहेको उल्लेख गर्दै लाखौ विद्यार्थीहरू ट्रान्सक्रिप्ट लिनकै लागि काठमाडौंबाट विराटनगर पुग्न पर्ने ठूलो समस्या रहेको बताए । यसभन्दा अघि पनि धेरै पटक आन्दोलन गरेको भन्दै प्रशासनले आजका दिनसम्म आफूहरूको मागबारे ध्यान नदिएको गुनासो पोखे ।
यसैगरी, केवाइसी कलेज नेविसंघका एकाइ समितिका सदस्य भीमराज भण्डारीले सधंै विश्वविद्यालयले एउटै कलेजमा परीक्षा केन्द्र राख्दै आएकोमा आपत्ति जनाए । उनले भने, ‘यस्तो एउटा लज्जास्पद अवस्था छ पूर्वाञ्चल विश्वविद्यालयको ।’ त्यस्तै, नतिजा प्रकाशन तीन महिनामै गर्न सकिने भएपनि निकै ढिलो गर्दा विद्यार्थीको भविष्यमाथि खेलवाड भइरहेको बताए ।
मोर्डन कलेजका एकाइ सभापति सुनिल शाहीले विश्वविद्यालयले विद्यार्थीहरूको भविष्यमाथि खेलवाड गरिरहेको बताए । युनिभर्सिटीमा विद्यार्थीले भविष्यको सपना देखेर आए पनि विश्वविद्यालयले आफूहरूलाई सम्मान गर्न नसकेकोमा आपक्ति जनाए । उनले भने, ‘हामीहरूले भोगेको समस्या अब आउने भाइबहिनीहरूले भोग्न नपरोस् भनेर माघ अघि सारेका छौ ।’
त्यस्तै, केसीसी कलेज नेविसंघ एकाइ सभापति केशवराज जोशीले आफूले भविष्य देखेर पूर्वाञ्चल विश्वविद्यालय प्रवेश गरे पनि विश्वविद्यालयले विद्यार्थीहरूलाई अपहेलना गरेको बताए । उनले पुर्वाञ्चल विश्वविद्यालय ५ जना व्यक्तिले मात्र सञ्चालन गर्दै आएको उल्लेख गरे । ५ जनाले मात्र चलाउन नसक्ने ठोकुवा गर्दै विश्वविद्यालय सञ्चालन गर्न सिस्टम चाहिने उनको भनाइ थियो ।
यसैगरी, नील वृद्ध कलेजका नेविसंघ इकाई सभापति यज्ञ खड्का हरेक दुर्गम स्थानका विद्यार्थीहरूले शिक्षामा पहुँच पाउनुपर्ने बताए । पुर्वाञ्चल युनिभर्सिटीले गरेको विद्यार्थीहरूप्रति अनादारविरुद्ध आफूहरू आन्दोलित भएको उनले स्पष्ट पारे । भट्टले विद्यार्थीले राखेका जायज माग विश्वविद्यालयका पदाधिकारीहरूले पूरा नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिए । कार्यक्रममा होप कलेजका नेविसंघ काउन्सिल सभापति विनोद शाही ठकुरीले पनि आफ्नो भनाइ राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्