सामुदायिक विद्युत अकोबाराविरुद्ध उजुरी «

सामुदायिक विद्युत अकोबाराविरुद्ध उजुरी

स्याङ्जाको ग्रामीण भेगमा विद्युत वितरण गरेको अकोबारा (ओरष्टे, कोल्मा, बहाकोट र राङभाङ) साविकका गाविसमा सामुदायिक विद्युत उपभोक्ता समितिमा चरम बेथिति र अनियमितताको आरोप लगाउँदै उपभोक्ताले जिल्ला प्रशासन कार्यालय स्याङ्जामा उजुरी दर्ता गरेका छन् ।
समितिले लामो समयदेखिको आयव्याय सार्वजनिक नगरेको, सार्वजनिक पद धारण गरेका जनप्रतिनिधि नेतृत्वमा रहेको, कागजी प्रकृयाका लागि अधिवेशन र साधारणसभा गरेको, निर्माण कार्यमा कमशल खालका निर्माण सामग्री खरिद गरिएको, लामो समय बत्ती जाने समस्या समाधान गर्न उपभोक्ताले आवाज उठाउँदा बेवास्ता गरिएको लगायतका विषय उल्लेख गरी छानबिन गरेर आवश्यक कारबाही गरिदिन माग गर्दै स्थानीय उपभोक्ताले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।
स्थानीय डोलराज पोख्रेलको नेतृत्वमा गएको उपभोक्ताको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी नमिता रेग्मीसमक्ष छानबिनको उजुरी पेस गरेको पोख्रेलले जानकारी दिए । उल्लेखित समस्या समाधान गरियोस् भन्दै उपभोक्ता समितिलाई धेरै पटक ध्यानाकर्षण गराउँदा समेत बेवास्ता गरेपछि प्रशासनमार्फत छनबिनको माग गरेको उनले जानकारी दिए ।
विगत १५ वर्ष अगाडि स्थापना भएको उक्त सामुदाधिक विद्युत उपभोक्ता समिति अकोबराले पुतलीबजारका केही वडा, बिरुवा गाँउपालिका र हरिनाश गाँउपालिकामा विद्युत वितरण गर्दै आइरहेको छ । अकोबरामार्फत विद्युत उपभोग गर्ने तीन हजार ५० उपभोक्ता रहेको संस्थाले विगत १२ वर्षदेखि उपभोक्ता विना साधारणसभा तथा अधिवेशन गरेको उपभोक्ताको आरोप छ । उपभोक्तालाई खबर नगरी कागजी प्रकृयाको अधिवेशन र साधारणसभा देखाउनुले संस्थामा ठुलो आर्थिक चलखेल भएको हुनसक्ने उपभोक्ताको आशंका छ ।
जिल्ला प्रशासन कार्यालयबाट इजाजत लिएर संस्था सञ्चालन गरिएको भए पनि हालसम्म प्रशासनमा झुटो विवरण बुझाएर नवीकरण गरिएको बताइएको छ । उपभोक्ताको मागअनुसार तत्काल छानबिन प्रक्रिया अगाडि बढाइने जिल्ला प्रशासन स्याङ्जाले जनाएको छ ।
यता संस्थाका कार्यालय प्रमुख डोलराज पौडेलले लामो समयदेखि अधिवेशन नभएको स्वीकारेका छन् । साधारणसभा र अधिवेशन गर्ने भन्दाभन्दै कोरोना संक्रमण सुरु भएकाले अधिवेशन गर्न ढिलाइ भएको पौडेलले बताए । संस्थामा आर्थिक अनियमितता नभएको दाबी गर्दै पौडेलले संस्था संचालनमा कठिनाइ नभएको बताए । भदौ महिनाभित्र संस्थाको अधिवेशन र साधारणसभा हुने निर्णय भएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्