ठेकेदारबाटै ठगिए कामदार «

ठेकेदारबाटै ठगिए कामदार

ठेकेदारको लेनदेन विवादले नाग्म–गमगढी सडक निर्माणका कामदारले विगत दुई वर्षदेखि ज्याला पाएका छैनन् । सडक निर्माण भएको तीन वर्ष बितिसक्दा पनि ज्याला नदिएर ठेकेदारले ठगेको कामदारको गुनासो छ ।
नाग्म–गमगढी सडकको सिञ्जा–१ घोडेंगादेखि कनकासुन्दरी–७ रोकायाबाडासम्मको ६ किमी ७६० मिटर सडक स्तरवृद्धि गर्ने ठेक्का भ्याटसहित ६ करोड ७६ लाख १८ हजार १ सय ८६ रुपैयाँमा खड्का कृष्ण निर्माण कम्पन्नीले ठेक्का पायो । उक्त निर्माण कम्पनीका प्रतिनिधि तथा ठेकेदार तातोपानी–८ का दिपक शाही हुन् । ०७६ चैत ६ गते नेपाली कांग्रेसका सभापति कर्णबहादुर शाहीले सिञ्जा–१ का रणबहादुर रोकायालाई फोन गरी उक्त ठेक्काको सडक निर्माणको जिम्मा लिन अनुरोध गरे । निर्माण सम्पन्नपछि आएको नाफामध्ये ६५ प्रतिशत आफू लिने र ३५ प्रतिशत उनलाई दिने मौखिक सम्झौता गरे । सोहीअनुसार ठेकेदार रणबहादुर र दत्त रोकायाले सडक निर्माणको काम गरे । काम लक्ष्य अनुसार नभएपछि बीचमै विवाद भयो ।
विवादपछि कर्ण शाही सहित कांग्रेसका नेता गुठिज्युलामा बसेर दत्त रोकायालाई ३ करोड ७० लाखमा सडक निर्माणको पुन: जिम्मा दिने सहमति भयो । उक्त सहमतिअनुसार दत्त रोकायाले सडक डबल कटिङ, ग्राबेल, मेसिनरी तथा ग्याविन पर्खाल निर्माण लगायतको काम गरे । त्यसबीचमा दिएको बिल पनि कुनै भुक्तानी नभएको रणबहादुर रोकाया बताउँछन् ।
मुख्य ठेकेदार दीपक शाही र कर्ण शाहीले कामअनुसारको पैसा नदिने र विवाद गरेपछि २०७८ जेठपछि आफूले बीचमै काम छोडेको दत्त रोकाया बताउँछन् । तर यता मुख्य ठेकेदार दिपक शाही ०७६ चैतदेखि ०७८ जेठसम्म गरेको काम अनुसारको २ करोड ९० लाख ७७ हजार भुक्तानी दिएको दाबी गर्छन् । ३ करोड ७० लाखमध्ये पाउन बाँकी ७९ लाख २३ हजार भएको तर आधा काम नगरेकोले भुक्तानी नदिएको उनको भनाइ छ ।
तर यता दत्त रोकाया अहिलेसम्म आफूले २ लाख ५० हजार मात्रै पाएको र र काम अनुसार १ करोड ५१ लाख रकम भुक्तानी पाउनुपर्ने जिकिर गर्छन् । तर पुन: मुख्य ठेकेदार दीपकले ०७८ असारपछि कुनै काम नगरेको ७९ लाख २३ हजार बराबरको काम आफंै गरेकोले दत्त रोकाया र रण रोकायाले अब भुक्तानी पाउन बाँकी नरहेको बताए ।

ठगिए ३ सय कामदार र व्यापारी
निर्माण कम्पन्नीका प्रतिनिधि ठेकेदार दीपक शाही र काम गरेको दाबी गर्ने ठेकेदार दत्त रोकाया तथा रणबहादुर रोकायाबीच पैसा लेनदेनकै विवादपछि जिल्ला अदालत जुम्लामा मुद्दा परेको छ । सडक डिभिजन जुम्लाका निमित्त प्रमुख विरेन्द्र रावलका अनुसार निर्माण कम्पनीले हालसम्म ५ करोड ८९ लाख ३१ हजार ९ सय ६९ रुपैयाँ भुक्तानी लिएको छ भने अब ८६ लाख ९७ हजार लिन बाँकी छ ।
सडक स्तरवृद्धि गर्दा ठेकेदार दत्त रोकायाले सयौं कामदारलाई काम लगाएका थिए भने दर्जनौं व्यापारीबाट निर्माण सामग्री ल्याएका थिए । पछि दिपक शाहीले सयौं कामदार लगाए भने व्यापारीबाट सामान पनि ल्याए । तर अहिले विवादका कारण झण्डै ३ सय बढी कामदार र दर्जनौं व्यापारीले ३ वर्षदेखि करोडौं भुक्तानी पाएका छैनन् ।
दत्त रोकायाका कामदार सिञ्जा–२ का राजेन्द्र गिरी मेसिनरी वाला निर्माण, ग्याविन जाली निर्माण गरेबापत साढे ६ लाख रुपैयाँ पाउनुपर्नेमा नपाएको बताउँछन् । त्यस्तै सिञ्जा–१ की चन्द्रमाया रोकायाले मेसिनरीवाल निर्माणमा काम गरेको दत्त रोकायाबाट झण्डै ११ लाख पाउनुपर्नेमा तीन वर्ष बित्दा सुक्को नपाएको गुनासो गरिन् ।
सिञ्जा–२ का सर्जन तिरुवाले कांग्रेस सभापति कर्ण शाहीबाट १२ सय घनमिटर १६ सयका दरले ठेक्का लिई ६ सय बढी कामदार लगाएर काम सम्पन्न गरे पनि झण्डै १४ लाख भुक्तानी पाएका छैनन् । सोध्दा दिपक शाहीले मुद्दा परेका कारण पैसा होल्ड भएको खाता रोक्का भएकोले पैसा दिन नसकेको बताउने गरेको तिरुवाले बताए ।
मुख्य ठेकेदबार दिपक शाहीबाट प्रेम प्रसाद आचार्यले झण्डै डेढ लाख, बलबहादुर खत्रीले ५ लाख, नौलासिंह खत्री लगातय तीन जनाले ९ लाख, दिपेन्द्र प्रसाद तिवारीले तेल रासन पानीको साढे ८ लाखलगायत सयौं कामदारको ५ हजारदेखि लाखौंसम्म भुक्तानी लिन बाँकी छ ।
त्यसै, ठेकेदार दत्त रोकायाबाट कनकासुन्दरी–४ का हस्तबहादुर बुढाले ४ लाख, कनकासुन्दरी–४ का हार्डवेयर व्यवसायी मान बहादुर जिसीले १० लाख, व्यापारी हर्क बडुवालले १ लाख ५० हजार, हेन्द्र कार्कीले काम गराएबापतको भण्डै साढे २ लाख, कनकासुन्दरी–४ का हार्डवेयर व्यापारी लाल बहादुर बुढाले करिब ११ लाख, कनकासुन्दरी–७ की कामदार राजु रोकाया लगायत सय जना बढीले १० हजारका दरले ज्याला पाउन बाँकी छ । यसरी दुवैतर्फका ठेकेदारबाट ३ सय बढी कामदार दुई दर्जन बढी व्यापारीले करोडौं भुक्तानी लिन बाँकी छ ।
ठेकेदार रणबहादुर रोकायाले कर्ण शाही र दिपक शाहीबाट आफूले १ करोड ५१ लाख बजेट पाउनुपर्ने दाबी गरेका छन् । बीचमा भुक्तानी माग्दा पनि नदिएको झण्डै ५ करोड २९ लाख समेत भुक्तानी ल्याइसक्दा बजेट नदिएपछि विवाद निम्तिएको हो ।
“विश्वासका भरमा बिना कागजात काम गरे पनि अहिले नाफा खानु भन्दा काम गरेकै पैसा समेत दिएनन्,” उनले भने, “हामीले पाउनुपर्ने १ करोड ५१ लाखको दाबी छ । सो विषयमा विवाद भएपछि मुद्दा पनि हालेका छौं । सयांै कामदारले ज्याला मागिरहेका छन् । सवारी भाडा दिएका छैनौं । मुख्य ठेकेदारले पैसा दिन मान्दैनन् । अब अन्तिम फैसला न्यायलयले गर्छ ।”
मुख्य ठेकेदार दिपक शाही भने कामअनुसारको २ करोड ९० लाख ७७ हजार विभिन्न ठाउँमा भुक्तानी दिइसकेको बताउँछन् । बाँकी ७९ लाख २३ हजार बराबरको काम दत्तले नभई आफूले गरेको र अब भुक्तानी दिन बाँकी नरहेको उनको दाबी छ । बरु फर्जी मुद्दा हालेर भुक्तानी रोकिएको, खाता रोक्का गरेका कारण सयौं कामदार र व्यापारीको रकम भुक्तानी गर्न बाधा भएको शाहीले बताए ।
हाल ७५ लाख खड्का कृष्ण निर्माण कम्पनीको खातामा छ । अदालतको स्टे अर्डर भएपछि झण्डै १ करोड भुक्तानी लिन बाँकी उनको दाबी छ । साहुजी र कामदारलाई गरी करिब जम्मा २५ लाख दिन बाँकी रहेको उनले बताए । यसबारे सभापति शाहीसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्