नयाँ काम कसरी सुरु गर्ने भन्ने चुनौती थियो «

नयाँ काम कसरी सुरु गर्ने भन्ने चुनौती थियो

स्थानीय तहको निर्वाचन सम्पन्न भई स्थानीय जनप्रतिनिधि आ–आफ्नो कार्यक्षेत्रमा व्यस्त छन् । नव निर्वाचित जनप्रतिनिधिले बजेट ल्याई आ–आफ्ना योजना अनुसार काम गर्न थालिसकेका छन् । पहिलो कार्यकालमा झैं नवनिर्वाचित जनप्रतिनिधिलाई कानुन तथा कार्यालयको समस्या छैन । त्यसैगरी कर्मचारीको पनि समस्या देखिँदैन । सहज अवस्थामा काम गर्ने वातावरण तय भएको स्वयं जनप्रतिनिधि नै बताउँछन् । अब उनीहरूको हातमा स्थानीय तहको विकास कुन गतिमा अगाडि बढाउने भन्ने जिम्मेवारी छ । यिनै समसामयिक विषयवस्तुमा साँगुरीगढी गाउँपालिका, धनकुटाका अध्यक्ष जितेन्द्र रुम्दाली राईसँग कारोबारकर्मी विकास घिमिरेले गरेको कुराकानीको सार :

तपाईंहरू निर्वाचित भएर आइसकेपछि साँगुरीगढी गाउँपालिकाको समग्र विकासका लागि के–के काम गरिरहनुभएको छ, कसरी अगाडि बढ्दै हुनुहुन्छ ?
पहिलो कुरा त वैशाख अन्तिममा भएको निर्वाचनबाट हामी निर्वाचित भएर आउँदा र कार्यभार सम्हाल्दै गर्दा करिब जेठको पहिलो हप्ता सकिसकेको थियो । तत्कालीन अवस्थामा हामीसँग बजेट पनि थिएन । पुरानो सरकारले ल्याएको कार्यक्रम सम्पन्न गर्नुपर्ने अवस्था हामीमाझ थियो । पहिला नै सबै क्षेत्रमा बजेट छुटिसकेकाले हामीले बजेट छुटाएर केही काम थाल्ने वातावरण थिएन, हाम्रो ध्यान त्यसबेला सञ्चालन भइरहेका र असार मसान्तमा सम्पन्न गर्नुपर्ने कामलाई पूरा गर्नतर्फ हाम्रो ध्यान गयो । हामीलाई त्यसलगत्तै नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्नेे थियो । विकास निर्माणको कामको अनुगमनसँगै हामीलाई आगामी वर्षको योजना र बजेट ल्याउने तयारीमै हामी केन्द्रित भयौं । तर, हामीलाई अघिल्लो कार्यकालका जनप्रतिनिधिको जस्तो कहाँ बस्ने, कसरी काम गर्ने, सबै कर्मचारी कसरी व्यवस्थापन गर्ने भन्नेलगायतको चुनौती थिएन । हामीसँग सञ्चालनमा रहेका काम समयमा कसरी सक्ने र नयाँ काम कसरी सुरु गर्ने भन्ने चुनौती थियो ।

जस्तो यहाँले बजेट बनाउन र नीति तथा कार्यक्रम ल्याउन हामी केन्द्रित भएको कुरा गर्नुभयो । अन्य धरै स्थानीय तहमा समयमा नीति तथा कार्यक्रम र बजेट आएन, यहाँको पालिकामा चाहिँ यस्तो समस्या आयो कि आएन ?
हामीलाई नीति तथा कार्यक्रम ल्याउँदा समस्या भएन, तर बजेट प्रस्तुत गर्नुपर्ने अवस्थामा सामान्य समस्या भयो । त्यो पनि विवादका कारणले होइन । यहाँहरू सबैलाई थाहा भएकै कुरा हो, साँगुरीगढी गाउँपालिका भौगोलिक अवस्थाका कारणले सुगम छैन । त्यसले गर्दा वडाहरूबाट बढी बजेट माग भएर आयो । त्यो स्वाभाविक पनि थियो, किनभने सबैलाई विकास चाहिएको छ । बजेटबिना विकास हुँदैन, तर पछि हामीले पटकपटक छलफल गरेर त्यसको समाधान गर्‍यौं, सबै जनप्रतिनिधिले सहयोग गर्नुभयो । हामीले सामान्य समस्या भए पनि बजेट समयमै ल्याउन सफल भयौं । सर्वसम्मत रूपमा बजेट पास भयो । अब हामी त्यसको कार्यान्वयनको चरणमा जाँदै छांै ।

धेरै स्थानीय तहमा नयाँ सरकार आउनेबित्तिकै पुरानो सरकारले ल्याएका कार्यक्रमहरू कटौती भएका छन्, यहाँको पालिकामा त्यसको अवस्था के छ ?
हामीले आवश्यकताका आधारमा पुराना कार्यक्रमलाई पनि निरन्तरता दिएका छौं, कुनै कार्यक्रमहरूको आवश्यकता छैन, त्यस्ता कार्यक्रमलाई कटौती गरेर र स्थानीय आवश्यकताका आधारमा कार्यक्रम ल्याएका छौं, पुराना सबै कार्यक्रम कटौती भएका छैनन् ।

तपाईंको पालिकाले कार्यक्रम छनोट गर्दा के कुरालाई विशेष जोड दिएको छ ?
हामीले स्थानीय आवश्यकतालाई विशेष जोड दिएका छौं, यहाँको शिक्षा, स्वास्थ्यलाई गुणस्तरीय बनाउने, उत्पादन वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने पक्षलाई हामीले प्राथमिकतामा राखेका छौं । साथै साँगुरीगढी धनकुटा जिल्लाको मात्र नभएर प्रदेश १ कै चर्चित पर्यटकीय क्षेत्र हो, त्यसको विकासमा समेत हामीले काम गर्ने भएका छौं, जसले गर्दा हाम्रो आन्तरिक आयमा समेत पर्यटकको महŒवपूर्ण हिस्सा रहन्छ भन्ने विश्वास हामीले लिएका छौं ।

जस्तो यहाँले आन्तरिक आयको पनि कुरा उठाउनुभयो, साँगुरीगढी गाउँपालिकाको आन्तरिक आयको अवस्था चाहिँ कस्तो छ ?
संघ र प्रदेशमा पनि राजस्व बाँडफाँट हुने भएकाले हामीलाई मात्र प्राप्त हुने आन्तरिक आय यो आर्थिक वर्षमा हामीले करिब १ करोड ५० लाख अनुमान गरेका छौं ।

यहाँले करिब एक करोड ५० लाख आन्तरिक आयको कुरा गर्नुभयो, भौगोलिक विकटताको कुरा पनि आयो, संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने बजेटबाट यहाँको विकासलाई अगाडि बढाउन कत्तिको पर्याप्त छ ?
नागरिकको अपेक्षा धेरै भएकाले बजेट पर्याप्त छैन । फेरि एउटा बुझाइ पनि के छ भने संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त भएको बजेट सबै विकास निर्माणमा लगाउँदा भइगयो नि भन्ने कुरा पनि आउँछ । तर, सबै बजेट विकास निर्माणमा मात्र लगाउन मिल्दैन । त्यहाँबाट प्राप्त भएको बजेटले कर्मचारीको तलबभत्ता, दैनिक प्रशासन सञ्चालन, सर्तअनुसार खर्च गर्नका लागि धेरै क्षेत्रमा बजेट छुट्ट्याउनुपर्ने हुन्छ । हामीलाई प्राप्त भएको कुल बजेटको करिब १० करोडमात्र विकासमा खर्च हुन्छ, अन्य खर्च अन्य शीर्षकमा गर्नुपर्ने हुन्छ । त्यसले गर्दा विकासका कामलाई तीव्र गतिमा लैजानका लागि समस्या त छ, तर समस्या छ भन्दैमा विकासमा काम नगरी बस्ने छुट हामी जनप्रतिनिधिलाई छैन । त्यसैले हामी साँगुरीगढीको विकासका लागि प्रदेश सरकार र संघीय सरकारसँग समेत छुट्टै योजनाका लागि माग गरिरहेका छौं । मन्त्रालयहरूमा विभिन्न योजना माग भइरहेका छन् । हामी सक्दो कोसिस गरिरहेका छौं, साँगुरीगढीको समग्र विकासका लागि भन्ने कुरासमेत म राख्न चाहन्छु ।

बजेट खर्च गर्दा मितव्ययी भएर खर्च गर्नुपर्छ भन्ने छ, कतिपय स्थानीय तहका जनप्रतिनिधिहरूले आफ्नो सेवा–सुविधा अस्वाभाविक रूपमा बढाएको पनि आरोप लाग्ने गरेको छ । यहाँको गाउँपालिकामा जनप्रतिनिधिको सेवा–सुविधाको अवस्थाचाहिँ कस्तो छ ?
पक्कै पनि हामीले पनि जनप्रतिनिधिले अस्वाभाविक रूपमा सेवासुविधा लिएको भन्ने कुरा तपाईंहरूकै मिडियाबाट जानकारी लिने गरेका छौं । तर, हामी त्यसरी अस्वाभाविक सेवा–सुविधा लिन, जथाभावी बजेट खर्च गर्ने भनेर यहाँ आएको होइन, हामी यहाँ जनताको सेवा गर्न आएका हौं । हामीले कानुनअनुसार पाउने सेवासुविधा लिएका छौं । त्यसभन्दा बाहिर गएर सेवासुविधा लिएका छैनौं । निवर्तमान जनप्रतिनिधिले चलाएकै सामग्रीहरू मात्र हामीले प्रयोग गरेका छौं, हाम्रो पालिकाले त्यस्तो छुट्टै सेवासुविधा दिएको छैन ।

कतिपय स्थानीय तहमा कर्मचारीहरूलाई हटाएका कारण अन्दोलन भइरहेको छ, जसको असर नागरिकले पाउने सेवासुविधामा परिरहेको छ भने कतिपय स्थानमा कर्मचारीहरूको असहयोगले गर्दा जनप्रतिनिधिले काम गर्न नसकेको भन्ने कुरा पनि आएका छन्, यहाँको पालिकामा यो समस्या कस्तो छ ?
करारमा रहेका कर्मचारीको योग्यता र क्षमतामा हाम्रो पालिकामा पनि केही प्रश्न उठेका छन् । लोकसेवा पास गरेर आएका कर्मचारीहरूमा त्यो समस्या छैन, उहाँहरूले काममा सहयोग नै गरिरहनुभएकै छ । तर, जुन कामका लागि करारमा कर्मचारी राखिएको छ उनीहरू कतिपय त्यो कामका लागि योग्य नरहेको देखिएको छ । त्यसले गर्दा त्यस्ता कर्मचारीबाट कसरी छिटोछरितो सेवा प्रवाह गराउन सकिन्छ भन्नेतर्फ पनि हामीले ध्यान दिनुपर्छ र उहाँहरूले समेत त्यसका लागि आफ्नो क्षमता विकास गर्नुपर्ने हुन्छ । अहिलेसम्म कर्मचारी तथा अन्य पक्षबाट पालिकाका काममा प्रतिकूल कार्य भएको छैन ।

ब्रेकर :
पुरानो सरकारले ल्याएको कार्यक्रम सम्पन्न गर्नुपर्ने अवस्था हामीमाझ थियो । पहिला नै सबै क्षेत्रमा बजेट छुटिसकेकाले हामीले बजेट छुटाएर केही काम थाल्ने वातावरण थिएन ।

बजेटबिना विकास हुँदैन, तर पछि हामीले पटकपटक छलफल गरेर त्यसको समाधान गर्‍यौं, सबै जनप्रतिनिधिले सहयोग गर्नुभयो । हामीले सामान्य समस्या भए पनि बजेट समयमै ल्याउन सफल भयौं ।

हामीलाई प्राप्त भएको कुल बजेटको करिब १० करोडमात्र विकासमा खर्च हुन्छ, अन्य खर्च अन्य शीर्षकमा गर्नुपर्ने हुन्छ । त्यसले गर्दा विकासका कामलाई तीव्र गतिमा लैजानका लागि समस्या त छ, तर समस्या छ भन्दैमा विकासमा काम नगरी बस्ने छुट हामी जनप्रतिनिधिलाई छैन ।

अस्वाभाविक सेवा–सुविधा लिन, जथाभावी बजेट खर्च गर्ने भनेर यहाँ आएको होइन, हामी यहाँ जनताको सेवा गर्न आएका हौं । हामीले कानुनअनुसार पाउने सेवासुविधा लिएका छौं ।

करारमा रहेका कर्मचारीको योग्यता र क्षमतामा हाम्रो पालिकामा पनि केही प्रश्न उठेका छन् । लोकसेवा पास गरेर आएका कर्मचारीहरूमा त्यो समस्या छैन, उहाँहरूले काममा सहयोग नै गरिरहनुभएकै छ । तर, जुन कामका लागि करारमा कर्मचारी राखिएको छ उनीहरू कतिपय त्यो कामका लागि योग्य नरहेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्