मौसमको सूचना किसानसम्म पुर्‍याउनै चुनौती «

मौसमको सूचना किसानसम्म पुर्‍याउनै चुनौती

मौसमसम्बन्धी पूर्वसूचना किसानसम्म पुग्न नै चुनौती देखिएको छ । मौसमको पूर्वसूचना दिने मुख्य आधिकारिक निकाय जल तथा मौसम विज्ञान विभाग र कृषि मन्त्रालयका संरचना स्थानीय तहसम्म नपुग्नु र अन्तरसरकारी निकाय समन्वय अभावका कारण सबै कृषकले मौसमसम्बन्धी सूचना पाउन नसकेका हुन् ।
कृषकलाई मौसमका सूचना प्रवाह गर्न स्थानीय तहकै भूमिका महत्वपूर्ण हुने भए पनि समन्वयको अभाव देखिँदा समयमा नै पूर्वसूचना पाउनबाट कृषक बञ्चित देखिएका छन् । जल तथा मौसम विज्ञान विभागले पूर्वसूचना दिए पनि तल्लो तहमा सूचना प्रवाह गर्ने संयन्त्र नभएका कारण पनि कृषकले मौसमसम्बन्धी पूर्वसूचना पाउन नसकेको बताएको छ ।
मौसमी सूचनाले कृषकलाई कुन समयमा कुन बाली लगाउने, कुन समयमा बाली भित्र्याउने, मौसमअनुसार कृषिको उब्जनी कस्तो हुने भन्ने जानकारी कृषकलाई जरुरी पर्छ । गत वर्ष आएको बेमौसमी वर्षाका कारण झन्डै ८ अर्ब रुपैयाँको नोक्सानी कृषि क्षेत्रले बेहोर्नुपरेको थियो । जल तथा मौसम विज्ञान विभागले विषेश बुलेटिन जारी गरेको भए पनि स्थानीय तहसम्म सूचना प्रवाह हुन नसक्दा क्षति बढेको बताउँछन् विभागका महानिर्देशक कमलराम जोशी । “हामी मौसम सम्बन्धी सूचना त प्रवाह गरिरहेका हुन्छौं । गत वर्ष पनि विशेष बुलेटिन निकालेर ठूलो वर्षा हुने पूर्वजानकारी त दिएकै थियौं । तर कृषकसम्म हाम्रो सूचना प्रवाह भएन। हामीले सूचना दिने हो, तर यस्तो हुँदैछ सतर्क रहनु भनेर सूचना तल्लो तहसम्म पुर्‍याउने काम कृषि मन्त्रालय लगाायतका अन्य सरोकारवालाहरूको पनि हो, । समन्वयको अभावले पनि सूचना प्रवाहमा समस्या देखिएको हो,” उनले भने ।
जोशीले कृषकलाई मौसमजन्य सूचना प्रवाह गर्नका लागि अन्तरसरकारी निकायहरूबीचको समन्वय अत्यन्तै जरुरी रहेको बताएका छन् । कृषि मन्त्रालयले पनि मौसमी सूचनाका कारण कृषि क्षेत्रमा हुने क्षति कम गर्ने बताएको छ । तल्लो निकायसम्म संयन्त्र नहुँदा सबै कृषकहरूलाई मौसमको सूचना प्रवाह गर्न नसकिएको स्वीकार गर्छन् कृषि तथा पशुपन्छी मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सञ्जेल । “कुन समयमा कृषि बाली लगाउने, मौसम अनुसार कस्तो बाली लगाउने या कुन प्रजातिको धान लगाउने, कुन बेलामा बाली भित्र्याउने लगायतका जानकारीका लागि पनि कृषकलाई मौसमको पूर्वसूचना जरुरी पर्छ,” उनले भने, “हामीले करिब ४० हजार कृषकलाई एउटै सञ्जालमा जोडेर एसएमएस प्रवाह गरिरहेका छौं, तर अझै सबै कृषकलाई सूचना दिन सकिरहेका छैनौं । स्थानीय तहमा हाम्रो संरचना नहुनाले पनि समस्या देखिएको हो । ”
सञ्जेलले स्थानीय तहमा दक्ष जनशक्तिको अभाव, संघ, प्रदेश र स्थानीय तहसँगको समन्वयको अभाव लगायतका कारण तल्लो तहसम्म मौसम तथा अन्य कृषि सम्बन्धी जानकारी र सूचना प्रवाह गर्न चुनौती देखिएको बताए । “अघिल्लो वर्ष बैमौसमी वर्षा भयो, हामीले कतिपय कृषकलाई सूचना दियौं, तर पनि उहाँहरूले त्यो सूचनालाई विश्वास गर्नु भएन । समग्र प्रदेशको मौसम सम्बन्धि सूचना आउँछ तर अब कम्तीमा पनि कुन जिल्लामा मौसम कस्तो रहन्छ भन्ने सूचना आउने व्यवस्था भएमा विश्वास पनि बढ्ने छ । सूचना प्रवाह गर्न पनि सहज हुने छ,” उनले थपे, “मौसम अनुकूलित कृषि बाली लगाउन प्रत्साहन गर्‍यौं भने पनि उहाँहरू परम्परागत कृषि बाली लगाउन नै मन पराउनु्हुन्छ । जस्तै– पानी कम पर्छ यो वर्ष, पानी कम भए पनि उब्जनी हुने धान प्रजाति लगाउनुहोस् भन्दा मान्नुहुन्न । विगतमा जुन प्रजातिको धान लगाउनुहुन्छ त्यही प्रजाति मन पराउनुहुन्छ ।”

प्रतिक्रिया दिनुहोस्