Logo

गठबन्धन गरेर चुनावमा जानु नै गलत

गठबन्धन सरकारले ४ मंसिरमा संघ र प्रदेशको निर्वाचन मिति घोषणा गरेको छ । देश संघीय संरचना गइसकेपछि यो दोस्रो संघीय र प्रदेश चुनाव हो । जनताले देशमा गणतन्त्र र संघीयता आएपछि राजनीतिक स्थिरता र सुशासनको अपेक्षा गरेका थिए । जसका कारण पहिलो पटक नेपाली नागरिकले करिब करिब दुई तिहाइको बहुमत दिएर सरकार बनाउन एउटै दललाई पठाएको थियो । तर नेपाली राजनीतिमा बहुमतले पनि स्थिरता दिन सकेन । बहुमतको सरकार हटेपछि हाल गठबन्धनको सरकारले मुलुक चलाइरहेको छ । राजनीतिमा सुधार नआएका कारण नेताको ध्यान सुशासनतर्फ भन्दा पनि भ्रष्टाचार र कुशासनतर्फ अग्रसर भइरहेको छ । नेताहरूले आफू अनुकूल वातावरण बनाउने र चुनाव जित्ने मात्र लक्ष्य राखेको देखिन्छ । जस अनुरुप पाँच दलीय गठबन्धन सरकारले चुनावमा पनि गठबन्धनकै रूपमा जाने निर्णय गरेको छ ।
राजनीतिक दलहरू आफ्ना सिद्धान्तभन्दा पनि परिस्थिति अनुकूलको सिद्धान्तमा अभ्यस्त रहन थालेका कारण सबैजसो राजनीतिक दलमा असन्तुष्टि बढिरहेको छ । अब आउँदो ४ मंसिरमा संघ र प्रदेशको निर्वाचनमा पनि एकातिर क्षमताविहीन र वृद्ध नेतालाई बिदाई गर्ने र सक्षम, सवल र युवा नेतालाई निर्वाचित गराउने लहर पनि चलेको छ । प्रजातन्त्रमा सवल नेतृत्व चुन्ने जनताको दायित्व हो । यदि सही नेतृत्व चुन्न नसके फेरि पनि अर्को पाँच वर्ष पछुताउनु पर्ने अवस्था हुनेछ । वर्तमान राजनीतिक दलका नेतृत्वबाट जनता आजित भइसकेका छन् । जनताले विकल्प खोजेका छन् । विकल्प रोज्ने उत्तम समय चुनाव नै हो । यसै सेरोफेरोमा कारोबारले सरकारले चुनावी मिति घोषण गरिसकेपछि आगामी नेतृत्व कस्तो हुनुपर्छ भनी नागरिक समाजका अगुवा, राजनीतिक विष्लेषक र कानुनविद्सँग गरेको कुराकानीको सारसंक्षेप :

लगानीबिना अत्यधिक नाफा दिने उद्योग नै राजनीति
डा. दिनेश त्रिपाठी
वरिष्ठ अधिवक्ता
जनताले अब सक्षम र योग्य उम्मेदवारलाई निर्वाचित गर्नुपर्ने बेला आएको छ । यो अवसरलाई सही सदुपयोग गरौं । चुनावको मिति घोषणा भएको छ । योसँगै, चुनाव भनेको लोकतन्त्रमा महापर्व हो । सार्वभौमसत्ता अभ्यास गर्ने माध्यम हो । २०४६ सालदेखि हामीले अहिलेसम्म एउटै अनुहार देखेका छौं । निरन्तर त्यही व्यक्ति आएको छ । अबको निर्वाचनमा भ्रष्ट व्यक्तिलाई सबक सिकाउनुपर्छ । अहिले जनताको हातमा शक्ति आएको छ । जनतलो विवेकसंगत रूपमा आफ्नो मत प्रयोग गर्नुपर्छ, जसको ट्र्याक रेकर्ड राम्रो छ, उसलाई अवसर दिनुपर्छ ।
मुलुक कुशासन र भ्रष्टाचारको दुष्चक्रमा फसिसकेको छ । निर्वाचनको घोषणा गरिएको छ, यो सरकार कामचलाउ भइसकेको छ । अब संसद्लाई बिदा गरिनुपर्छ । चुनाव निष्पक्ष रूपमा सम्पन्न गर । आउने सरकारमाथि अब यो सरकारले कुनै बोझ थुपार्न पाउँदैन । नियुक्ति पनि गर्न पाउनु हुँदैन । आज हरेक सार्वजनिक पद बिक्रीमा छन् । लोकतन्त्रको नाममा उपहास भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माको कर प्रकरण पनि कालो इतिहास हो । राज्यले नचिनेको व्यक्तिले करको हेरफेर गर्छ, राति संविधान र कानुनले नचिनेको व्यक्तिलाई बोलाउँछ । अनि त्यही व्यक्तिलाई फेरि अर्थमन्त्रीमा लिइन्छ । यो राष्ट्रसँग गरिएको गम्भीर धोका र अपराध हो । अब निर्वाचनको मिति घोषणा भएको छ । यो संसद् बिदा हुनुपर्छ । अब संसद्ले नयाँ कानुन र बजेट बनाउनु पर्दैन भने अर्को पाँच महिनासम्म किन यसलाई कायम राख्ने ? कि सांसदलाई भत्ता खुवाउनका लागि मात्रै राख्ने ?
गरिब राष्ट्र भनेको गरिब परिवारजस्तै हो । प्रमुख निर्वाचन आयुक्तले संसद्को अवधि २१ मंसिर २०७९ सम्म हुन्छ भनेर बोलेको गलत छ । यो उहाँको हास्यास्पद अभिव्यक्ति हो । उहाँ त खटनपटनमा हिँड्ने व्यक्ति हो । संसद् कायम रहन्छ भने सरकार कसरी कामचलाउ हुन्छ ? सरकारसँग दीर्घकालीन निर्णय लिने म्यान्डेट छैन ।
लोकतन्त्र भनेको समानताको पनि विषय हो । यो निर्वाचनको कुरा गर्दा, अहिले गठबन्धनका बारेमा पनि कुरा आएको छ । जनतालाई क्लियरकट च्वाइस दिनुपर्छ । अहिलेको गठबन्धनले क्लियर च्वाइस दियो त ? यो गठबन्धनसँग कुनै सिद्धान्त छैन । हिजो टाउको काट्ने र काटिनेहरूबीच कसरी सहमति हुन्छ ? यो चरम अवसरवादी गठबन्धन हो । लोकतन्त्रमा सिन्डिकेट गर्न पाइँदैन ।
नेपालमा लगानीबिना अत्यधिक नाफा दिने उद्योग नै राजनीति भएको छ । व्यापारीसँग भन्दा बढी पैसा नेतासँग छ । नेपालमा त व्यापारीसँग भएको पैसा पनि नेताहरूको हो । व्यापारीहरूको इतिहास हेर्नुहोस न, सबै कुरा थाहा भइहाल्छ नि । अर्बौं पैसा विदेशमा लुकाउने काम भएको छ । त्यही व्यक्तिले आजको पोलिटिक्स कब्जा गरेका छन् । सफल राज्यमा उद्योगपतिले पैसा कमाउँछन् र राज्यलाई कर तिर्छन् । असफल राज्यमा राजनीतिज्ञले पैसा कमाउँछन् । स्थानीय तहको निर्वाचनमा कस्ता मान्छे आए ? मानव बेचबिखन गर्नेहरू, लागूऔषध कारोबार गर्नेहरूले जिते । २०४६ सालदेखि अहिलेसम्म सत्तामा आएकाहरूको सम्पत्ति जाँचबुझ गर्नुपर्छ । यसका लागि ट्रुथ कमिसन बनाउनुपर्छ । नेपालको लोकतन्त्र यस्तो लोकतन्त्र हो, जहाँ नीतिगत भ्रष्टाचार हुन्छ । स्टेटले आफंै करप्सन गर्न थालेपछि कसरी देश बन्छ ?

गठबन्धन गरेर आउनेलाई जनताले हराउनैपर्छ
डा. सुन्दरमणि दीक्षित
नागरिक समाजका अगुवा
नेपालको रोग भनेको नै भ्रष्टाचार हो । अहिले नै निर्वाचनका बारेमा विश्लेषण गर्न सकिँदैन । नेपाली भूमि आजको होइन । यो त पुण्यभूमि हो । ऋषिमुनिहरूको भूमि हो । सबै कुरा भएको देश हो । अहिले नेपाल सिद्धान्त र धर्मविहीन भएको अवस्था छ । यसैगरी अघि बढ्यौं भने अब यो कुहिएको अवस्था हुनेछ । सबै दलले आफ्नो एजेन्डा लिएर जनताको बीचमा जानुपर्छ । किनकि पहिलो कुरा, हाम्रो दलीय व्यवस्था हो । लोकतन्त्र हो । दलहरूले आ–आफ्नो विचार जनतामा राख्छन् । सिद्धान्त र विचार लिएर जानुपर्छ । नेपालका लागि यो प्रोगाम छ, मुलुकको भविष्य यो हुनेवाला छ भनेर बाटो देखाउनुपर्छ । हरेक पार्टीले आफ्नो एजेन्डा ल्याउनुपर्छ ।
आगामी निर्वाचनमा पाँचदलीय गठबन्धन कायम रहनु गलत हो । कहीं माओवादी र बीपीको सिद्धान्त मिल्छ ? कुन नाक र मुखले अहिलेको गठबन्धनले यो काम गरिरहेको छ ? यिनीहरूमा लाचारीपन छ, एक्लै जित्न सक्दिनँ भनेर उनीहरूले गठबन्धन गरेका हुन् । प्रचण्ड भन्छन्— देउवा नजिताएसम्म म जित्दिनँ । माओवादी सेकेन्ड पार्टी हुनैपर्छ पनि भन्छन् । यो त गैरसिद्धान्तवादी कुरा हो । लोकतन्त्रमा यस्तो पनि हुन्छ ? गठबन्धन केका लागि, यिनीहरू प्रधानमन्त्री बन्नका लागि ? लुट मच्चाउनका लागि ? नेपाली जनताले गठबन्धन बनाएर आउनेलाई हराउनैपर्छ । कुनै पनि हालतमा जिताउनु हुँदैन । जिताए भनेदेखि यो मुलुकको राम्रो हुनेवाला छैन ।
सिद्धान्तमा नचलेपछि मुलुक राम्रो हुँदैन । यो अब अन्तिम चेतावनी हो । यो सिस्टम अन्तिम ट्रायलमा छ । सही व्यक्तिलाई जिताउन सक्यौं र सही व्यक्ति प्रधानमन्त्री बनाउन सक्यौं भने ठीक छ, यदि यसो गर्न सकेनौं भने व्यवस्था जान्छ । अर्को कू हुन्छ । अहिलेका नेताहरूले नै देशलाई यस्तो अवस्थामा पुर्‍याएका छन् । ओलीजीले बरु सिद्धान्त लिएका छन्, उनले पार्टीलाई एक ढिक्का बनाएका छन् । उनी एउटा पार्टी र एक सिद्धान्त बोकेर हिँडेका छन् । नेपाली जनताले वीरतालाई पूजा गर्छन् । अहिले पनि ओलीले एक्लै म जित्छु भनेर भनेका छन्, उनको बोली स्पष्ट छ । ओलीको बोलीलाई जनताले पूजा गर्छन् ।
गठबन्धनमा आबद्ध दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको विरोध पनि गरेको र निर्वाचनपछि पनि गठबन्धन चाहिन्छ भनेर बोलेका छन् । यो कुरा कहाँ मिल्यो ? हेर्नुहोस्, माधव नेपाल गठबन्धनले धोका दियो पनि भन्छन्, अनि गठबन्धन नभई हुँदैन पनि भन्छन् । यो त दुईजिब्रे कुरा हो । यो लाचारीपन हो । कांग्रेस पार्टीले आफ्नो त्यो इतिहास बिर्सियो । नेताहरूले आज हामी हार्छौं भनेर गठबन्धन गर्नुपरेको बोल्न थालेका छन्, कांग्रेसले त यतिसम्मको लाचारीपन, लुतेपन देखाएको छ । देउवामात्रै होइन, गगन थापा, शेखर कोइराला, विश्वप्रकाश सबै, यिनीहरू पहिले ‘हामी गठबन्धनमा जानु हुँदैन’ भन्थे । अहिले स्थानीय तहको निर्वाचनपछि त गठबन्धनबाट जानुपर्छ भन्न थाले ।
मुलुकमा लोकतन्त्र बचाउन र अर्को कू नगराउने हो भने कुनै पनि हालतमा गठबन्धनबाट आउनेहरूलाई जिताउन हँुदैन । यदि गठबन्धनबाट कोही आउँछ भने त्यसलाई हराउनैपर्छ । चुनावमा तालमेल वा सिट बाँडफाँट गरेर आऊ, मेरो आपत्ति छैन । हामीले चाहेको संघीयता यस्तो होइन । देश खत्तम पार्ने नेताहरूलाई भोट दिनु पनि हुँदैन ।

केपी ओलीले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता खाँदैनन्
प्रा.डा. सुरेन्द्र केसी
राजनीतिक विश्लेषक
४ मंसिरमा हुने संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गरेर जानु भनेको सिद्धान्तहीन हुनु हो । पाँच दलीय गठबन्धनले एमाले र केपी ओलीलाई हराउनेमात्रै उद्देश्य राखेको छ । अहिले केपी ओलीले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता समाप्त गर्न खोजेको भनेर अनावश्यक हल्ला चलाइएको छ । तर, त्यसो होइन । चुनाव समयमै हुन्छ कि हुँदैन भन्ने आशंका थियो । माओवादीका कतिपय नेताले चुनाव फागुनमा गर्नेजस्तो कुरा गरेका थिए । चुनावबारे एक खालको अन्योल थियो । प्रचण्डले ४ मंसिरमै चुनाव हुन्छ भनेर भनेका थिए । नेपालका नेताहरू भरलाग्दा छैनन् । खेलखाल, झेलझाल गर्छन् कि भन्ने थियो । तर, चुनावको मिति घोषणा भयो । यो बीचमा गठबन्धनवालाहरूले एमाले अध्यक्ष ओलीले गणतन्त्रका उपलब्धि सिध्याउँछन् र उनको राजासँग साँठगाँठ छ भनेको प्रचार गरेका छन् । अहिले गणतन्त्र छ, संघीयता छ, धर्मनिरपेक्षता छ, समावेशी–समानुपातिक एजेन्डा, यी जम्मै केपी ओलीले खान्छन् भन्ने खालको भाष्य जोडिएको थियो । तर, प्रतिगमन भन्ने वस्तु शेरबहादुर देउवाले गरेको हो । देउवाले संसद् विघटनका लागि राजा ज्ञानेन्द्रकोमा बिन्ती गरेका थिए । अदालतले पनि हाउस विघटन गर्न भनेको थियो । त्यो बेला संवैधानिक व्यवस्था धरापमा पार्ने काम भएको थियो ।
अहिलेको राजनीतिको अवरोध भनेकै ओली हो र उसलाई ठेगान लगाउन पाँचदलीय गठबन्धन बनाउनैपर्छ भनेर गठबन्धनका नेताहरू लागेका हुन् । अहिले गठबन्धनका नेताहरूले एमालेलाई पूर्णत: किनारा लगाउनुपर्छ भन्ने परिवेश निर्माण गरेका हुन् । गठबन्धन गर्नका लागि उनीहरू दृढसंकल्पित थिए । यसमा आश्चर्य छैन । समयमै निर्वाचनमा जालान् भन्नेमा अपेक्षा छ ।
न्यायपालिका, व्यवस्थापिक र कार्यपालिका शक्ति सन्तुलनका आधारमा गठन भएको हो । अहिले त देशको सर्वोच्च अदालतको प्रधानन्यायाधीशलाई फालेर अर्को मान्छे लिएर मनपर्दी गर्दै हिँड्ने काम भएको छ । यो गणतन्त्र, संघीयताका लागि केपी ओली १४ वर्ष जेल बसेका हुन् । झापामा टाउका काटे भन्ने इत्यादि कुरा पनि सुनेका छौं । ओलीले यी तीनवटा कुरा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता खाँदैनन् भन्ने मलाई लाग्छ । हामी त गुण र दोषको आधारमा बोल्छौं । अहिले पनि देशमा समस्या यथावत् छन् । करको दायरा हेरफेरको विषयमा के भएको थियो त ? सत्यमा हामी उभिनुपर्छ । तथ्यमा उभिनुपर्छ ।
संघीयता कार्यान्वयन प्रक्रियामा पनि समस्या छ । केन्द्र, प्रदेश र स्थानीय तहको कुरा छ, एउटा प्रदेशमा त भ्रमण र बैठकमात्रै ९४ करोड खर्च भएछ । हाम्रो देशमा भीआईपीको संख्यामात्रै ४८ सय छ । संसारका भीआईपी एकातिर र नेपालका भीआईपी अर्कातिर राख्दा नेपालका भीआईपी धेरै छन् । अब नेपालको विकास हुन एक हजार वर्ष लाग्नेछ । यो विषयलाई चुनावको एजेन्डा बनाउने कि नबनाउने ? यो कुरा अहिले मुख्य प्रश्न बनेको छ । अहिले घर र घरको पनि झ्यालैपिच्छे मन्त्री छन् । जसलाई पायो त्यसैलाई मन्त्री बनाउने काम भएको छ । राजनीतिक लोकतन्त्रको ग्यारेन्टी हुन्छ भने धार्मिक लोकतन्त्रको ग्यारेन्टी हुनुपर्छ कि पर्दैन ? अबको निर्वाचनमा सही उम्मेदवार चयन हुनुपर्छ ।
एमाले अध्यक्ष ओलीले पनि मुलुकमा अब दुई दल भए राम्रो हुन्छ भनिसकेका छन् । मैले देख्दा पनि दुई दलीय प्रणाली नराम्रो होइन । सर्वोच्च अदालतको परमादेश ठिक हो भन्नु गलत हो । त्यो परमादेश सही थियो त ? केपी ओली निरंकुश र स्वेच्छाचारी थिए । उनले हाउस विघटन गर्नु दुईवटा गल्ती थियो । एउटा— संविधानविपरीत, अर्को भनेको अदालतको अवज्ञा । त्यही दुईवटै विषय बनाएर ओलीलाई मानहानिको मुद्दामा केन्द्रीय कारागारमा कोचिदिएको भए केपी ओली नामको कर्ता हामीले सदाकाल बोकिरहनुपर्ने थिएन नि । अब त अर्को १० वर्षसम्म, केपी ओलीको कहर हामीले बोकिरहनुपर्ने भयो । म केपी ओलीको हनुमान होइन, दुनियाँको कुनै पनि देशमा न्यायालयले प्रधानमन्त्री बनाउने नै होइन । यी चीज पनि अबको निर्वाचनमा विषयवस्तु बन्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्