खाद्य संकटबाट मुलुक बचाऔं «

खाद्य संकटबाट मुलुक बचाऔं

रूस र युक्रेनबीचको युद्ध सुरु भएयता विश्वमा बिस्तारै खाद्य संकट देखा पर्न थालेको छ । युद्धका कारण युक्रेनले आफ्नो खाद्यान्न उत्पादन विश्व बजारमा पठाउन नपाएपछि विश्व बजारमा खाद्यान्नको भाउ बढेको छ । विशेषत: गहुँ तथा सूर्यमुखी तेललगायतको संकटका कारण विश्व बजारमा खाद्यान्नको भाउ बढ्नु स्वाभाविक हो, जसका कारण विश्वका विभिन्न मुलुकले आफ्ना नागरिकका लागि खाद्यान्न जोहो गर्न निर्यातमा कडाइ गर्न थालेका छन् र यसै मेसोमा भारतले पनि आफ्ना नागरिकका लागि खाद्यान्नको जोहो गर्न खाद्यान्न निर्यातमा अंकुश लगाएको छ । तर, नेपालका लागि भने भारतले खाद्यान्न निर्यातमा कुनै कठोरता देखाएको छैन । नवनियुक्त भारतीय राजदूतले भारतले नेपालका लागि खाद्यान्न निर्यातमा बन्देज नलगाएको बताएपछि नेपालको लागि केही राहत भए पनि नेपालको आफ्नो उत्पादन केही नभएका कारण त्यति उत्साहित हुनुपर्ने कारण त छैन र पनि चाडबाड नजिकिँदै गर्दा नेपाली उपभोक्ताले भने केही राहत महसुस गर्नेछन् । कारण यसै पनि नेपालको उत्पादन नभएका कारण आयातमा निर्भर रहेको नेपालको अवस्था भारतबाट चिनी तथा गहँुजस्ता अत्यावश्यक वस्तु आयात गर्न निषेध नभएका कारण आउँदो चाडपर्व खल्लो नहुने भएको छ । अन्यथा महँगीको मारले पीडित नेपाली उपभोक्ता चिनीजस्ता अत्यावश्यक वस्तुको अभावमा चाडपर्वमा अत्यन्त मर्माहत हुने थिए । भारतले नेपालका लागि निर्यात निषेध नगरेका कारण सरकारले भारतबाट चिनी र गहुँ आयात गर्न व्यवसायीलाई अनुमति दिने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबार सूचना निकालेर भारतबाट गहुँ र चिनी आयातका लागि व्यवसायीलाई अनुमति दिने जनाएको छ । आउँदो दसैँ, तिहार तथा छठजस्ता चाडबाडमा चिनी, मैदा, पीठोजस्ता अत्यावश्यकीय वस्तुको अभाव नहोस् भनेर कूटनीतिक संवाद गरी आयात गर्न लागिएको मन्त्रालयले जनाए तापनि नवनियुक्त भारतीय राजदूतले आफ्नो कार्यकाल सम्हाल्न आउँदा नै सो सन्देश बोकेर ल्याएका थिए । उनले नेपाली उद्योगी–व्यापारीसँगको भेटमा नेपालका लागि उक्त प्रतिबन्ध नलाग्ने जनाएका थिए । भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाए पनि नेपालका लागि भने लागू नहुने उनले स्पष्ट पारेका थिए । व्यवसायीले उनीसँगको भेटमा गुनासो गर्दा नै उनले नेपालका लागि उक्त निर्यात बन्देज नलाग्ने बताउँदा बताउँदै पनि बजारमा केही व्यापारीले अवसरको फाइदा लिन खोजेका थिए ।
भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको वैशाखसम्ममा भारतबाट करिब दुई लाख टन गहुँ आयात भएको थियो । तर, जेठदेखि भने आयात भएको थिएन । किनकि रूस र युक्रेनबीच युद्ध बढेसँगै संसारभर खाद्य संकट सुरु हुने चर्चाबीच भारतले वैशाख अन्तिम सातादेखि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले महŒवपूर्ण चाडबाड नजिकिँदै गएका बेला कुनै पनि वस्तुको अभाव नहोस् भनेर आयात खुलाउन प्रस्ताव आह्वान गरेको छ । स्वदेशी चिनी उद्योगको उत्पादन अपुग हुने भएकाले चाडबाडको मुखमा चिनीको आयात गर्न मन्त्रालयले सहजीकरण गर्नु सकारात्मक हो । साथै, केही समयदेखि गहुँ आयात हुन नसकेका कारण केही स्वदेशी उद्योगसमेत समस्यामा पर्न थालिसकेका कारण पनि मन्त्रालयले कम्पनीको नाम, भारतबाट खरिद गर्ने उद्योगको विवरण, आयात गर्नुको उद्देश्य, कुन नाकाबाट ल्याउने हो सोको विवरणलगायत उल्लेख गरी प्रस्ताव माग गरेको छ । गहुँ आयात नहुँदा मैदा उद्योगहरू मारमा परेको र त्यसको प्रभाव चाउचाउ, बिस्कुट, पाउरोटी, चाउमिनलगायतको उत्पादनमा पनि परेको छ । त्यसैले सरकारको निर्णयपछि नेपाली उद्योगलाई पनि राहत भएको छ । अन्यथा नेपाली उद्योगहरूले कच्चा पदार्थको अभावका कारण आफ्नो उत्पादन क्षमता घटाउनुपरेको थियो । यसले राष्ट्रिय उत्पादकत्वमा नै नकारात्मक असर पार्ने हुनाले तथा स्वदेशी उद्योगहरू आफ्नो पूर्ण क्षमतामा चल्न नसकेका कारण पनि कुल गार्हस्थ्य उत्पादनमा नै नकारात्मक असर पर्ने अवस्था थियो । साथै, नेपालले खाद्य संकट पनि बेहोर्नुपर्ने अवस्था पनि हुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्