व्यापारघाटामा छिमेकीको योगदान «

व्यापारघाटामा छिमेकीको योगदान

नेपालको व्यापारघाटामा सबैभन्दा बढी योगदान उत्तरी तथा दक्षिणी छिमेकीको रहेको छ । नेपालको सबैभन्दा बढी व्यापार साझेदार भारतसँग व्यापारघाटा बढी छ भने उत्तरी छिमेकी चीनसँग पनि व्यापारघाटा धेरै छ । केही वर्षअगाडिसम्म नेपालको व्यापारघाटा चीनसँग उल्लेख्य नरहेकोमा हालका वर्षहरूमा उत्तरी छिमेकीसँग पनि अत्यधिक व्यापारघाटा बढ्नुको कारण भने एकतर्फी व्यापार हो । चीनसँग नेपालले व्यापार गर्ने दुई नाकामध्यै दुवै नाकामा लगातारजस्तै समस्या भइरहेका कारण पछिल्ला वर्षहरूमा चीनसँग सहज निर्यात हुन सकेको छैन, जसका कारण नेपालले गत आर्थिक वर्षमा उत्तरी छिमेकी देश चीनसँगको व्यापारमा मात्र २ खर्ब ६३ अर्ब ९७ करोड रुपैयाँँभन्दा बढीको व्यापारघाटा बेहोरेको छ । अघिल्लो आर्थिक वर्षमा २ खर्ब ३२ अर्ब ९० करोड रुपैयाँको व्यापारघाटा बेहोरेकोमा गत आर्थिक वर्षमा ३१ अर्ब थप व्यापारघाटा बढेको छ । उद्योगी तथा व्यापारीहरूका अनुसार चीनसँगको व्यापारघाटा लगातार बढ्नुमा चीनतर्फ निर्यात व्यापारको अवस्था दयनीय भएको हुनाले हो । भन्सार विभागको तथ्यांकअनुसार नेपालले आर्थिक वर्ष २०७७/०७८ मा चीनतर्फ १ अर्ब १ करोड ६० लाख रुपैयाँको वस्तु निर्यात गरेकोमा गत आर्थिक वर्ष २०७८/०७९ मा ८० करोड ८७ लाख ५४ हजार रुपैयाँको वस्तुमात्र निर्यात गर्न सकेको छ । एकै वर्षमा आयात ३१ अर्बले बढे पनि निर्यात भने २१ करोडले कमी आएको कारण पनि चीनसँगको व्यापारघाटा बढ्दै जान थालेको हो । चीनतर्फका दुवै व्यापारिक नाका तातोपानी तथा रसुवागढीबाट गत आर्थिक वर्षमा निर्यात शून्य रहेको छ । दुवै नाकाबाट नेपालले उच्च आयात गरे तापनि निर्यात भने शून्य रहनु भनेको नेपाल सरकारको पनि कमजोरी हो । व्यापारीहरूले लगातार सरकारलाई झकझकाइरहे तापनि सरकारले पनि बेवास्ता गरेको उनीहरूको गुनासो छ, जसका कारण चीनतर्फका निर्यात भने भन्सार विभागको तथ्यांकका अनुसार शून्य छ । काठमाडौंदेखि पूर्वमा रहेको सिन्धुपाल्चोकको तातोपानी नाकाबाट गत आर्थिक वर्षमा १४ अर्ब २ करोड ३७ लाख रुपैयाँबराबरको वस्तु आयात भएको छ भने काठमाडौंदेखि करिब पश्चिम रहेको रसुवाको रसुवागढी नाकाबाट २६ अर्ब ६२ करोड ८९ लाख रुपैयाँबराबरको वस्तु आयात भएको छ । तर, निर्यात भने यी दुवै नाकाबाट शून्य छ ।
तर, चीनबाट गत आर्थिक वर्षमा २ खर्ब ६४ अर्ब ७८ करोड ३७ लाख १३ हजार रुपैयाँबराबरको वस्तु आयात हुँदा २ खर्ब २४ अर्ब रुपैयाँबराबरको सामग्री कोलकाता बन्दरगाह तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार हुँदै भित्रिएको छ, जसका कारण व्यापारीको लागत बढेको छ । व्यापारीको लागत बढेका कारण बजारमा चिनियाँ वस्तुको भाउ पनि बढेको छ । विशेषत: पहिला सस्तो मानिने चिनियाँ वस्तुमा लत्ताकपडाजस्ता वस्तुको भाउ बढेको बजारमा देखिन्छ । यसको प्रमुख कारण भने नेपालको कमजारी हो । नेपाल सरकारले चीनसँग दुवै भन्सार नाका सुचारु गराउन गम्भीर पहल नगरेका कारण उपभोक्ताले चिनियाँ वस्तुको मूल्य बढी तिर्नुपरेको छ । साथै, कमजोर भन्सार पूर्वाधारका कारण चीनसँगको व्यापारमा नेपालले अपेक्षित लाभ पनि पाउन सकेको छैन । नेपाल र चीनबीचको मुख्य व्यापारिक नाका तातोपानी भूकम्पयता सुनसान छ । केरुङको नाका पनि वर्षमा करिब ६ महिना बन्द हुँदै आएको छ, जसका कारण नेपाली व्यापारीले चिनियाँ सामान कोलकाता नाका हुँदै भिœयाउनुपर्ने अवस्था रहेको छ । चीनसँगको निर्यात व्यापारमा कमी आउनुमा उत्तरी छिमेकीले प्राकृतिक कारण देखाए तापनि प्रमुख रूपमा नेपालको कूटनीतिक कमजोरी नै हो । सरकारलाई नेपाली व्यापारीको समस्या थाहा भए तापनि समाधान गर्न कूटनीतिक चातुर्य नभएका कारण निर्यात व्यापार ठप्प भएको, कोलाकाताबाट ल्याउँदा व्यापारीको लागत बढेको, र यसैको कारण उपभोक्ताले बढी मूल्य तिर्नुपरेको हो । त्यसैले चीनले प्राकृतिक कारण देखाए तापनि नेपालले कूटनीतिक रूपमा यसको समाधान तत्काल खोज्नु आवश्यक भइसकेको छ । किनकि उत्तरी छिमेकीमा निर्यात व्यापारको असीमित सम्भावना छ । कूटनीतिक कमजोरीका कारण नेपालले लाभ लिन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्