मेगा बैंक १३औँ वर्षमा प्रवेश, कुल निक्षेप डेढ खर्ब नाघ्यो

मेगा बैंक नेपाल लिमिटेड १२ वर्ष पूरा गरी १३ वर्षमा प्रवेश गरेको छ । हाल चुक्ता पुँजीका हिसाबले सातौँ स्थानमा रहेको मेगा तत्कालीन समयमा २८औँ वाणिज्य बैंकका रुपमा स्थापना भएको थियो ।
बैंकले गत असार मसान्तसम्ममा कुल निक्षेप करिब १ खर्ब ५६ अर्ब संकलन गरेको छ । त्यस्तै कुल कर्जा करिब १ खर्ब ५० अर्ब रहेको बैंकले जनाएको छ । मेगा बैंकले १८ सयभन्दा बढी कर्मचारीबाट देशभरका ६१ जिल्लामा फैलिएका २ सय ८ शाखा सञ्जाल, १ सय ४५ वटा एटीएम, २५ वटा एक्सटेन्सन काउन्टर र ६० वटा शाखारहित बैंकिङ सेवामार्फत १४ लाख ७५ हजार भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाहले बैंकलाई देशकै अग्रणी बैंक बनाउन अहम भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद व्यक्त गरे । लगानीकर्ताको विश्वास जित्दै सानो सानो पुँजीको लगानी र परिचालनबाट मेगा परियोजना सञ्चालन गर्न सकिन्छ भन्ने उदाहरण मेगा बैंक भएको अध्यक्ष शाहले बताए र
उत्पादनमूलक, रोजगारीको सिर्जना गर्ने र आयातलाई प्रतिस्थापन गर्दै निर्यातको प्रवर्द्धन गर्ने उद्योग–व्यवसायलाई भरथेग गर्दा मात्र आत्मनिर्भर अर्थतन्त्रको निर्माण हुन सक्ने उनको भनाइ छ । अध्यक्ष शाहले मेगा बैंकले तर्जुमा गरेका रणनीतिक पञ्चवर्षीय योजना, बजेटको सही प्रक्षेपण र कार्यान्वयनले छोटो समय (१२ वर्षको अवधि)मै कतिपय विधाहरुमा अग्रणी बैंकको रुपमा स्थापित हुन पुगेको बताए ।
बैंककी कायममुकायम सीईओ रविना देशराज श्रेष्ठले वित्तीय बजारमा मेगा बैंक एक प्रतिष्ठित, अब्बल तथा जनप्रिय बैंकको रुपमा स्थापित भएको बताए । कामु सीईओ श्रेष्ठले दिगो विकासका साथ नयाँ प्रविधिसहित अघि बढ्दै मेगा बैंकलाई आधुनिक प्रविधिमैत्री ‘डिजिटलाइज्ड बैंक’ बनाइएको बताए । साथै, स्थापनाकालदेखि नै मेगा बैंकले सामाजिक उत्तरदायित्व वहनलाई समुदायमा बैंक र यसको सोचलाई स्थापित गराउँदै आएको उनले बताए ।
समता अस्पताललाई पाँच लाख सहयोग
मेगा बैंक नेपालले वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौंको बौद्धस्थित समता सामुदायिक अस्पताललाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका अध्यक्ष शाहले समता अस्पतालका अध्यक्ष उत्तर सञ्जेललाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।
एक सय रुपैयाँमा सर्वसाधारणको उपचार गराउँदै आएको यस अस्पतालबाट न्यून आय भएका सर्वसाधारणको उपचारमा मद्दत मिलोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको मेगा बैंकले जनाएको छ ।