सिमेन्ट र छड भारत निर्यातले जगाएको आशा «

सिमेन्ट र छड भारत निर्यातले जगाएको आशा

बुधबार टीएमटी छड उत्पादन गर्दैै आएको रूपन्देहीको श्री स्टिल्स प्रालिले आफ्नो उद्योगबाट उत्पादित छड भारत निर्यात सुरु ग¥यो । कम्पनीले बुधबार ३५ टनको पहिलो खेप भैरहवाको बेलहिया नाका हुँदै भारत महाराजगन्ज जिल्लाको कुनसेरवामा पहिलो पटक निर्यात सुरु गरेको छ । उद्योगले आगामी दिनमा भारतीय बजारको मागअनुसार निर्यात बढाउँदै लैजाने योजना पनि बनाएको छ । पछिल्लो समय सरकारको नीतिका कारण निर्यात सहज भएको तर नीतिअनुसारका अन्य काम फटाफट भए अझै सहज हुने उद्योगीको अनुमान छ । यसअघि नवलपरासीमा रहेको पाल्पा सिमेन्ट उद्योगले पनि तानसेन ब्रान्डको सिमेन्ट भारत निर्यात सुरु गरेको थियो । पश्चिम नवलपरासीको पाल्पा सिमेन्ट उद्योगले सुनौली नाका हुँदै तीन ट्रक सिमेन्ट भारततर्फ सिमेन्ट निर्यात सुरु गरेको हो । भारत निर्यात गरिएको सिमेन्ट आरएमसी गु्रपले सुरुमा परीक्षणका लागि तीन ट्रक पठाएको भए तापनि आगामी दिनमा त्यसलाई बढाउँदै लैजाने बताएको छ । यसरी तानसेन ब्रान्डको पिपिसी सिमेन्ट निर्यात भएपछि जगदम्बा, सर्वोत्तम, सौर्य, अर्घाखाँचीलगायत सिमेन्ट उद्योग पनि निर्यातको तयारीमा रहेका छन् । तर, नेपालका प्रतिस्पर्धी क्षमता भएका अन्य उद्योगभन्दा सिमेन्ट र छडजस्ता उत्पादनशील उद्योगले निर्यात गर्न सक्नु सकारात्मक भए तापनि सरकारले नीतिगत रूपमा कसरी सहजीकरण गर्छ, त्यसबाटै यी उद्योगका निर्यात दीर्घकालीन हुने वा नहुने आकलन गर्न सकिन्छ । हाललाई सरकारले बजेटमा स्टिल (छड), सिमेन्ट, मिनरल वाटर तथा जुत्ता–चप्पलजस्ता स्वदेशी उत्पादन भारत तथा तेस्रो मुलुक निर्यात गर्दा ती उद्योगलाई ८ प्रतिशत नगद प्रोत्साहन प्रदान गर्ने निर्णय भएसँगै सिमेन्ट तथा छड भारत निर्यात गर्न सहज भएको बताइएको छ । भारतबाटै कच्चा पदार्थ ल्याएर नेपालमा छड उत्पादन गरी फेरि भारतमै बिक्रीका लागि पठाउनु चानचुने कुरा होइन । त्यसैले तत्कालका लागि हेर्दा सरकारले दिने भनेको ८ प्रतिशत इन्सेन्टिभको नीतिले निर्यात प्रवद्र्धन गरेको भन्न सकिन्छ । अन्यथा भारतीय बजारमा भारतीय उत्पादनसँग नेपाली सिमेन्ट तथा स्टिलले प्रतिस्पर्धा गर्नु सहज पक्कै छैन । त्यसैले यो सकारात्मक सुरुवातलाई दीर्घकालीन बनाउन सरकारको दीर्घकालीन नीतिको सहजीकरण चाहिएको हो । यसअघि सरकारकै नीतिका कारण केही छड उद्योग बन्द हुने अवस्थामा पुगेको कारण विरोध भएको थियो । त्यसैले श्री स्टिल्सको निर्यात प्रयासले समग्र छड उद्योगलाई नै निर्यात गर्न सक्षम बनाउने नीति ल्याउन सरकारलाई दबाब पनि पर्छ । साथै, उद्योगमा निर्यात प्रवद्र्धन हुँदा नेपालको बढ्दो व्यापारघाटामा कमी ल्याउन मद्दत गर्नुका साथै वैदेशिक मुद्रासमेत स्वदेश भिœयाउन सकिन्छ । हाल आयात बढी भएका कारण नै विदेशी मुुद्रा सञ्चितिसमेत दबाबमा परेको छ ।
उद्योगीहरूका अनुसार नेपालका स्टिल उद्योगहरूले वार्षिक करिब ३० लाख टन स्टिल उत्पादनको क्षमता राख्दै आएका छन् । ती उद्योगबाट उत्पादित स्टिल छडको खपत नेपालमा ५० प्रतिशत रहेको उद्योगीहरूको भनाइ छ । त्यसैले बाँकी ५० प्रतिशत भारत निर्यात गर्न सकिने आकलन छ । त्यसैले नेपाली उद्योगको क्षमता विस्तारका लागि नियमित बिजुली तथा कच्चा पदार्थलगायतका समस्या पनि निजी क्षृेत्रले सरकारको मद्दतमा समाधान गर्नेछ भन्ने आशा गर्न सकिन्छ । यसका लागि सरकारले उद्योग–व्यवसायमैत्री नीति बनाउने तथा सहजीकरण गर्ने कामलाई कति गम्भीरतापूर्वक लिन्छ, त्यसबाट पनि सिमेन्ट तथा छडको निर्यातको दीर्घकालीन अवस्था स्पष्ट हुन्छ । नेपालमा गुणस्तरयुक्त सिमेन्ट तथा छड उत्पादन हुनु तथा यसको आन्तरिक बजारको माग पूरा गरेर निर्यात गर्नु आफंैमा एउटा आशालाग्दो सुरुवात हो, जसले मुलुकमा रहेको बेरोजगारी समस्या पनि समाधान गर्न मद्दत गर्छ । हाल मुलुकमा पर्याप्त रोजगारी नभएका कारण नै युवाहरू मलेसियादेखि खाडीसम्म आफ्नो श्रम बेच्न बाध्य छन् । तर, यदि नेपालका उद्योगले आफ्नो क्षमता विस्तार गरी निर्यात गर्न थाले युवाको लागि वैदेशिक रोजगारीको विकल्प पनि हुुने थियो ।

प्रतिक्रिया दिनुहोस्