विदेशी मदिराको अवैध कारोबार बढ्ने जोखिम उच्च

सरकारले तयारी मदिरा आयातमा प्रतिबन्ध लगाएको मौका छोपेर अवैध रुपमा आयातित विदेशी मदिराको कारोबार व्यापक हुने जोखिम बढेको सम्बद्ध व्यवसायीले बताएका छन् ।
सरकारले विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै १४ वैशाखमा राजपत्रमा सूचना प्रकाशित गरी तयारी मदिरालगायत १० किसिमका वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । वैधानिक बाटोबाट विदेशी ब्रान्डका मदिरा भित्रिन नपाएको र आयातकर्ता व्यवसायीसँग भएको स्टक सकिँदै गएकोले अवैध रुपमा मदिरा भित्र्याउने समूह सक्रिय हुन थालिसकेको विदेशी मदिराका अधिकृत बिक्रेताहरु बताउँछन् ।
प्रतिबन्धका कारण आफूहरुले आयात गर्न नपाएको अवस्थामा पनि विदेशी मदिराका नयाँ नयाँ संस्करण बजारमा देखिएको उनीहरुको भनाइ छ । त्यस्तो मदिरा हवाई यात्रुले ड्युटी फ्री र अवैध कारोबारीले खुला सिमानाबाट भित्र्याएको अनुमान व्यवसायीको छ । दसैं, तिहार जस्ता मदिरा बढी खपत हुने सिजन नजिकिएकोले आयातमा लगाइएको प्रतिबन्ध खारेज नगरे अवैध कारोबार चुलिने व्यवसायी बताउँछन् । अहिले नै एलसी नखोले दसैंको बेला बजारमा सामान पु¥याउन नसकिने उनको भनाइ छ ।
मदिरामा उच्च दरमा राजस्व लाग्ने हुँदा भारतबाट भन्सार र अन्य कर छलेर ल्याउनेले धेरै नाफा कमाउँछ । जसले गर्दा यसको अवैध कारोबारमा ठूलै समूह सक्रिय रहेको आशंका गरिन्छ । मदिरा आयात गर्दा ३०० प्रतिशतसम्म कर लाग्छ । भारतमा नेपालको तुलनामा मदिरामा कम कर लाग्ने हुँदा उता कर तिरेरै ल्याउँदा पनि राम्रै नाफा हुने अध्ययनले देखाएको छ ।
नेपालमा मदिरा आयात खुला रहेकै बेला पनि गत माघमा ठूलो परिमाणमा अवैध रुपमा आयातित विदेशी मदिरा काठमाडौंमा बरामद भएको थियो । प्रहरीले काठमाडौंको रामकोट, बानेश्वर, कपनलगायत ठाउँबाट २१६ कार्टुन कर छलेको विदेशी मदिरा बरामद गरेको थियो । उक्त कारोबारमा संलग्न चार जना पक्राउ परेका थिए ।