हस्तकला निकासी ८० प्रतिशतले बढ्यो

कोभिड महामारीका कारण संकटमा परेको हस्तकला व्यवसाय विस्तारै लयमा फर्कन थालेको छ । हस्तकला व्यवसायीहरूका अनुसार काठमाडौं उपत्यकाभित्रका विभिन्न ‘हस्तकला हब’हरूमा पहिलेकै रौनक देख्न थालिएको छ । हस्तकलाजन्य वस्तुको उत्पादनसँगै निर्यातमा पनि वृद्धि भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीईपीसी) को तथ्यांकअनुसार चालू आर्थिक वर्षको ११ महिनामा हस्तकलाजन्य वस्तुको निकासी ८० प्रतिशतले बढेको छ ।
नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्य कोभिडका कारण लामो समयदेखि सुस्ताएको हस्तकला क्षेत्र सुधारको बाटोमा अघि बढेको बताउँछन् । “हस्तकला क्षेत्र पहिलेकै अवस्थामा फर्किन केही समय लागे पनि हामी आशावादी छौं । हामी पहिलेभन्दा राम्रो अवस्थामा फर्कंदैछौं,” अध्यक्ष शाक्य भन्छन् । उनका अनुसार बैंकमा तरलता अभावका कारण सिर्जना भएको कर्जा ठप्प तथा बजारमा अत्यधिक महँगीजस्ता समस्यासँग जुधेर हस्तकला व्यवसायीले उत्पादन वृद्धि गर्नु आफैंमा सकारात्मक पक्ष हो । सरकारले हस्तकला क्षेत्रलाई संरक्षण गर्न थोरैमात्र नीतिगत सुधार गर्न सकेमा यस क्षेत्रले कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा उल्लेख्य योगदान गर्न सक्ने उनको भनाइ छ ।
टीईपीसीका अनुसार चालू आर्थिक वर्षको ११ महिनामा ३५ करोड ३६ लाख रुपैयाँ बराबरका हस्तकलाजन्य सामग्री निर्यात भएका छन् । यद्यपि, यो तथ्यांक काष्ठ तथा धातुजन्य हस्तकलाको मात्र हो । ऊनीजन्य हस्तकलाका सामग्रीको व्यापार जोड्ने हो भने योभन्दा कैयौं गुणा बढी हुने व्यवसायीहरू बताउँछन् । हस्तकला क्षेत्रलाई एचएस कोड काष्ठ तथा धातुजन्य वस्तुका लागि मात्र दिइएका कारण अर्थतन्त्रमा यसको योगदान कम देखिएको उनीहरूको भनाइ छ । ११ महिनाको काष्ठ तथा धातुजन्य हस्तकला सामग्री निकासी अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८० प्रतिशतले बढी हो । अघिल्लो वर्षको ११ महिनामा १९ करोड ६५ लाख तथा आर्थिक वर्ष २०७६÷०७७ को ११ महिनामा ११ करोड १९ लाखको हस्तकला सामग्री निकासी भएको तथ्यांक छ ।
महासंघ अध्यक्ष शाक्य हस्तकला ग्रामको सञ्चालनपछि उत्पादन तथा निकासी बढ्ने बताउँछन् । “हस्तकला ग्रामको पूर्ण सञ्चालन पनि हाम्रो प्राथमिकता हो । यसमा संघीय र प्रदेश सरकारको पनि सहभागिता सुनिश्चित गर्न खोजेका छौं,” उनले भने, “अहिले आइरहेका समस्या समाधान गर्दै पहिलेकै अवस्थामा फर्कनुपर्ने चुनौती एकातिर छ भने उत्पादन र निर्यातमा परिमाणात्मक वृद्धि गर्नुपर्ने अर्को चुनौती पनि उत्तिकै छ ।”
वल्र्ड क्राफ्ट काउन्सिलले ललितपुरलाई क्राफ्ट सिटी घोषणा गरेकाले नेपालको हस्तकला क्षेत्रको भविष्य उज्वल रहेको नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य कृष्णलाल महर्जन बताउँछन् । उनका अनुसार हाल नेपाल हस्तकला महासंघ र ललितपुर महानगरपालिकाले क्राफ्ट सिटी प्रवद्र्धनका निमित्त व्यवस्थित र मर्यादित बनाउन सहकार्य गर्दै आइरहेको छ । कोभिड महामारीका कारण यसको नतिजा देखिन नसके पनि चाँडै नै परिणाम देखिने उनी बताउँछन् ।
हस्तकलाको सहर ललितपुरको च्यासल क्षेत्रमा माटाका भाँडा बनाइन्छ भने सानागाउँमा सुकुल र परालबाट गुन्द्री चकटीजस्ता वस्तु बनाइन्छ । नागबहाल चाँदीका भाँडाकुँडाका लागि प्रख्यात छ भने बुङमतिको काष्ठकला, खोकनाको तेल, लुभुको टेक्सटायल, टंगालको तामाका भाँडाकुँडा हस्तकलाका लागि महत्वपूर्ण मानिँदै आएको छ ।