दूषित पानीको प्रयोगले हैजाका बिरामी बढे

मानव जीवनमा पानी अत्यन्तै महत्वपूर्ण तरल पदार्थ हो । पानीको अभावमा संसारमा कुनै पनि प्राणी जीवित रहन सक्दैन । पानी सजीव वस्तुका लागि अत्यन्तै महत्वपूर्ण मानिन्छ । सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले मार्च महिनाको २२ तारिखलाई विश्व पानी दिवस भनेर घोषणा गरेपछि विश्वभर पानी दिवस मनाउन सुरु गरिएको थियो ।
हाम्रो दैनिक जीवनमा पानी अत्यन्तै महत्वपूर्ण हुन्छ । पानीबिना कुनै पनि कार्य सम्पादन गर्न निकै गाह्रो हुन्छ । तर, हामीले खाने पानी कत्तिको सफा अनि खानयोग्य छ भनेर हामी कहिल्यै परीक्षण गर्दैनौं । त्यसको फलस्वरूप पानीजन्य विभिन्न प्रकारका रोगको सिकार भएको हामी देख्छौं । दूषित पानीको सेवनले पछिल्लो समय हाम्रो मुलुकको राजधानीभित्र पनि विभिन्न उमेर समूहलाई हैजा, रगतमासी, दिसाजन्य रोग, झाडाबान्ता, रुघाखोकी, ज्वरोजस्ता रोगहरू लागेर विभिन्न अस्पतालमा उपचार गराइरहेको देख्न सकिन्छ । यी रोगहरू विशेष गरी दूषित पानीको सेवनले गर्दा निस्किने भाइरसका जीवाणुले गर्दा लाग्ने रोगहरू हुन् । यो क्रम पछिल्लो समय राजधानीका विभिन्न भागमा हैजाको बिरामी बढिरहेको तथ्याङ्कले पनि देखाएको छ ।
अझ हाम्रो मुलुकका विभिन्न दुर्गम भागहरू, जहाँ यातायातका पूर्वाधारको कमी छ, ती ठाउँमा धेरै बालबालिकाले दूषित पानीको सेवनले हैजा, झाडाबान्ताजस्ता रोगहरू लागी समयमा नै उपचार पाउन नसक्नाले कलिलै उमेरमा ज्यान गुमाउनुपरेको सुनिन्छ र देखिन्छ पनि । पछिल्लो समय फोहोर खानेपानीको मुहान, दूषित खानेपानीको सेवनलगायतका कारणले यस्ता रोगहरू लागेको चिकित्सकहरू बताउँछन् । यी रोगहरू लाग्नबाट बच्नका लागि खानेपानीको गुणस्तर मापन गरी खानयोग्य सफा पानीलाई सधैं फिल्टर गरेर, उमालेर, मनतातो बनाएर मात्र खान चिकित्सकहरू सल्लाह दिन्छन् भने कुनै पनि कारणले रोग लागिहालेमा तुरुन्त अस्पताल गएर स्वास्थ्य परीक्षण गर्नसमेत चिकित्सकहरूले आग्रह गरेका छन् ।
अहिलेको मौसम भनेको मनसुनको मौसम पनि हो । आकाशबाट नियमित पानी परिरहेर खानेपानीको मुहान सतहवरपर फोहोर पानी जमिरहेको हुन्छ । कतिले राजधानीमा पानीको अभावले यो समयमा आकाशको पानीमा पनि भर पर्नुपर्ने भएका कारण पनि आकाशको पानी दूषित भएकाले बालबालिकाहरूमा समस्या उत्पन्न हुन सक्छ । त्यसबारेमा पनि सोच्नु जरुरी देखिन्छ ।
त्यतिमात्र होइन, बालबालिकाहरूलाई त विशेष गरी यो पानी पर्ने मौसममा धेरै लामो समयसम्म भिज्न दिनु हुँदैन । जथाभावी पानीको सेवन पनि गर्न दिनु हुँदैन । यसले गर्दा रुघाखोकी, ज्वरो, झाडाबान्ता, हैजाजस्ता रोग लाग्ने भएकाले यी ससाना कुरामा अभिभावकहरूले विशेष ध्यान दिए पनि बालबालिकाहरूलाई पानीजन्य रोग लाग्नबाट बचाउन सकिन्छ ।
राजधानीमा पछिल्लो समय हैजाका बिरामी बढ्नुको कारण पनि लामो समयसम्म राजधानीको फोहोरको उचित व्यवस्थापन हुन नसक्नु नै हो । पछिल्लो समय अत्यधिक फोहोरको कारणले गर्दा वातावरण दूषित भई दूषित वातावरणमा मिसिएको पानीको सेवनले गर्दा पनि हैजाका बिरामी राजधानीमा देखिनुलाई फोहोरको कारण मान्न सकिन्छ । त्यसैले मानव जीवनमा पानी अत्यन्तै महत्वपूर्ण भएकाले पानीको सही सदुपयोग गरौं, पानी खेर नफालौं, पानी सफा अनि खानयोग्य भएकोलाई मात्र फिल्टर गरेर, उमालेर मात्र सेवन गरौं । कुनै पनि रोग लागे तुरुन्त अस्पताल गएर बिरामीको परीक्षण गरौं ।