Logo

वैदेशिक रोजगार ऐनमा वैदेशिक रोजगारीमा जाँदा अनिवार्य तालिम लिनुपर्ने व्यवस्था छ ।

वैदेशिक रोजगारीमा दक्ष कामदारको माग

दक्षिण एसियाबाट अधिकांश अदक्ष युवा न्यून ज्यालामा वैदेशिक रोजगारीमा जाने गर्छन् भन्ने गरिन्छ । यसबाट नेपाल पनि अछुतो छैन । नेपाली युवा आफ्ना आवश्यकताका लागि वैदेशिक रोजगारी जाने गरेका हुन् । मुलुकमा आफ्नो योग्यताअनुसारको रोजगारी पाउने सम्भावना नभएका कारण तथा शिक्षा एवं सीप नभएका कारण नै उनीहरू वैदेशिक रोजगारीमा जान थालेका हुन् । हुन त जनयुद्ध चर्केका केही वर्ष सुरक्षाका दृष्टिकोणले पनि कैयौं युवा वैदेशिक रोजगारीमा गएका थिए । जब उनीहरूले नेपालमा रेमिट्यान्स पठाउन थाले, त्यसपछि विभिन्न विकास साझेदार तथा नीतिनिर्माताले शिक्षायुक्त तथा सीपयुक्त युवा वैदेशिक रोजगारीमा पठाउन सके बढी रेमिट्यान्स आउने भएका कारण सरकारलाई सीपयुक्त युवा वैदेशिक रोजगारीमा पठाउन सुझाव दिन थालेका हुन् । अन्यथा डर्टी, डेन्जरस तथा डिफिकल्ट जब अर्थात् फोहोर, जोखिमयुक्त तथा गा¥हो कामका लागि नेपाली युवाको माग बढी हुने गथ्र्यो, त्यहीअनुरूप म्यानपावर कम्पनीहरूले पनि नेपाली युवालाई न्यून ज्याला तथा असुरक्षित कामको वातावरणमा पनि वैदेशिक रोजगारीमा पठाउने गर्थे ।
तर, बिस्तारै वैदेशिक रोजगारी नेपालको अर्थतन्त्रको जीवन रक्षा कवच बन्न थाल्यो, त्यसपछि शिक्षायुक्त एवं सीपयुक्त युवा वैदेशिक रोजगारीमा पठाए बढी रेमिट्यान्स आउने तथा सुरक्षित पनि हुने प्रवृत्ति बढेको छ । हुन त अझै पनि वैदेशिक रोजगारीमा नेपाली युवा अन्य मुलुकका युवाभन्दा बढी नै असुरक्षित छन्, तैपनि केही वर्ष अगाडिभन्दा भने सरकार तथा विकास साझेदारका कारण पनि सुरक्षित हुन थालेका छन् । सुरक्षाका साथसाथै उनीहरूले पहिलाभन्दा सम्मानजनक तथा कम जोखिमयुक्त काम गर्ने र पहिलाभन्दा बढी रेमिट्यान्स नेपाल भिœयाउन मद्दत गरेका छन्; जसका कारणले विगत वर्षको तुलनामा वैदेशिक रोजगारीमा जाने सीपयुक्त जनशक्तिको संख्या वृद्धि भएको छ । सीप–तालिम लिने र फर्केर आएका पनि सीप परीक्षण गरेर जाने प्रवृत्ति विकास भएका कारण पछिल्लो समय दक्ष जनशक्तिको संख्या वृद्धि भएको हो । गत वर्षको जेठमा ६० प्रतिशत अदक्ष श्रमिक वैदेशिक रोजगारीमा गएकोमा यो वर्षको जेठमा सीपयुक्त युवाको हिस्सा ७० प्रतिशत पुगेको वैदेशिक रोजगार विभागले जनाएको छ । यस वर्षको जेठ महिनाको तथ्यांकमा उच्च दक्ष, पेसागत कर्मचारी, दक्ष र अर्धदक्षको संख्या ७० प्रतिशत पुगेको विभागको तथ्यांकमा उल्लेख छ । विगतमा सीप भएका युवा पनि त्यसको परीक्षण नगरी वैदेशिक रोजगारीमा जाने गरेका कारण आधाभन्दा बढी अर्थात् ४८ प्रतिशत श्रमिक अदक्ष रहेको सरकारको दाबी छ । तर, पछिल्लो समय सरकारले तोकिएको क्षेत्रअनुसार सीपसम्बन्धी तालिम नलिएका युवा वैदेशिक रोजगारीमा जान नपाउने जनाउँदै आएका कारण पनि अदक्ष श्रमिकको रूपमा वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढेको हुनुपर्छ । वैदेशिक रोजगारीमा जाने युवाको कामलाई आम्दानी र सुरक्षाका हिसाबले मर्यादित बनाउन सीप विकास तालिम अनिवार्य बनाउने विषयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु मुलुकको पनि हितमा छ । रोजगारमूलक सीप विकास तालिम सञ्चालन कार्यविधि, २०७५ लागू भएपछि नेपालबाट वैदैशिक रोजगारीमा जाने सबै युवा सीपयुक्त प्रमाणपत्रको आधारमा जानुपर्ने थियो । साथै, वैदेशिक रोजगार ऐनमा वैदेशिक रोजगारीमा जाँदा अनिवार्य तालिम लिनुपर्ने व्यवस्था छ । रोजगारीका लागि विदेश जाने युवाले विगतमा तालिम नै नलिई नक्कली प्रमाणपत्र लिई विदेश जाने प्रवृत्ति देखिएका कारण यसलाई कडाइका साथ कार्यान्वयन गर्न तथा सूक्ष्म निगरानी गर्न आवश्यक छ । बोर्डले सीप तालिमलाई वैदेशिक रोजगार विभागको अनलाइन पद्धतिमा एकीकृत हुने गरी र सीप तालिम लिएका व्यक्तिको समग्र विवरण लिने गरी तालिम व्यवस्थापन सूचना प्रणालीको निर्माण गरी कार्यान्वयनमा ल्याइएको जनाएको भए तापनि पछिल्लो समय वैदेशिक रोजगार विभाग तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको इमिग्रेसनमा झन् गैरकानुनी असुली बढेको भन्ने गुनासो बढेको छ । त्यसैले, सरकारले गम्भीरतापूर्वक नियमन गर्ने, वैदेशिक रोजगारीमा जाने युवालाई सहजीकरण गर्ने तथा उनीहरूलाई सीपयुक्त बनाएर मात्र पठाउन पहल गर्न आवश्यक छ । अन्यथा रेमिट्यान्स आय पनि घट्ने तथा नेपाली युवाको जीवन पनि झन् असुरक्षित भइरहन्छ ।

प्रतिक्रिया दिनुहोस्