स्वदेशी उत्पादनकोे बजारीकरणमा सहजीकरण गरौं «

स्वदेशी उत्पादनकोे बजारीकरणमा सहजीकरण गरौं

नेपालका हरेक जिल्लामा आफ्नै मौलिक पहिचान बोकेका वस्तु उत्पादन गर्ने चलन थियो । तर, पछिल्लो कालखण्डमा मुलुक आयातमुखी अर्थतन्त्रको जञ्जालमा फस्दै जाँदा ती वस्तु उत्पादनको लागत बढ्दै गयो र उत्पादन गर्ने सीप पनि मर्दै गयो । पुरानो पुस्ताबाट नयाँ पुस्तामा सीपको हस्तान्तरण नहुनुमा ती वस्तुको व्यवसायीकरण तथा बजारीकरणमा कसैको चासो नहुनु तथा उत्पादन लागत बढ्दै जानु त हो नै । साथै, त्यसको उपभोग हुन छोड्नु पनि अर्को समस्या हो । सरकारले बेला–बेलामा यस्ता वस्तुको प्रवद्र्धन गर्नुपर्ने बताउँदै गर्दा निजी क्षेत्र पनि उपभोग नहुने तथा लागत बढी पर्ने वस्तुमा आकर्षित हुन सकेन । तर, पछिल्लो समय कोरोना कहरका कारण आयात ठप्प भएपछि सरकार, नीति निर्माता तथा निजी क्षेत्रमा पनि दबाब बढेको छ, स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने । तर, सरकारले उत्पादन लागत घटाउने कुनै व्यवस्था नगर्दा स्वदेशी उत्पादन प्रवद्र्धन गर्ने कुरा व्यावहारिक बन्न सकेको छैन । नेपाल उद्योग वाणिज्य महासंघ तथा महासंघअन्तर्गतको युवा उद्यमी मञ्चले धेरै वर्षअघिदेखि स्वदेशी वस्तु उत्पादनको प्रवद्र्धन गर्न खोजेको हो । तर, त्यसको कुनै प्रतिफल निस्किएन । सरकारले नीतिगत रूपमा साथ नदिँदासम्म प्रतिफल ननिस्कनु स्वाभाविक हो । हालै नेपाल उद्योग परिसंघले पनि स्वदेशी वस्तु उत्पादन प्रवद्र्धन गर्न तथा उपभोग गर्न अभियान सुरु गरेको छ । तर, त्यो पनि सरकारको नीतिगत सहयोग तथा सहजीकरण नहुने हो भने बिस्तारै सेलाउँदै जानेछ । त्यसैले सरकारले कोरोना कहर तथा हाल जारी रूस तथा युक्रेनको युद्धले निम्त्याएको आपूर्ति असहजताबाट पाठ सिकेर तत्काल नीतिगत सहजीकरण गर्न आवश्यक छ ।
यसै मेसोमा झापामा कोदोको रक्सीलाई ब्रान्ड बनाउने तयारी गरिएको छ । गाउँघरमा बनाइने कोदोको रक्सीले बजार नपाएको अवस्थामा घरेलु उत्पादनलाई प्राथमिकता दिन र विदेशी रक्सीको आयात कम गर्न कोदोको रक्सीलाई ब्रान्डिङ गर्न लागिएको बताइएको छ । कोदोको रक्सीलाई ब्रान्ड बनाउन झापा जिल्लास्तरीय प्रवद्र्धन समिति गठन गरिएको तथा जिल्लाभरिका सबै जातजातिलाई समावेश गरेर गठित झापा जिल्लास्तरीय प्रवद्र्धन समितिले कोदोको रक्सीलाई ब्रान्ड बनाएर अन्तर्राष्ट्रियकरण गर्न प्रयास गर्ने जनाएको छ । यसका साथै, कोदोको रक्सीलाई ब्रान्ड बनाएर अन्तर्राष्ट्रियकरण गर्न झापासहित प्रदेश नं. १ का १४ वटै जिल्लामा कार्यसमिति निर्माण गरिने कार्यमा प्रदेश १ को नीति तथा कार्यक्रमअन्तर्गत कोदोको रक्सीलाई आयआर्जनको रूपमा लैजाने गरी परियोजना सञ्चालन गर्ने तयारी गर्नु सकारात्मक हो । आशा छ, उक्त परियोजनाले प्रदेशका मुख्यमन्त्री, आर्थिक मामिला तथा योजना मन्त्री, उद्योगमन्त्रीलगातयको साथ पाउनेछ । स्थानीय वस्तुको उत्पादन तथा बजारीकरण गर्दा मुलकभित्रै आर्थिक कारोबार हुन्छ, जसले गर्दा विदेशी रक्सीको आयात प्रतिस्थापन गर्न सकिन्छ । साथै, युवाहरूले स्वदेशमै रोजगार पाउनेछन् । यसका साथै, हालै तेह्रथुम जिल्लालाई ढाका कपडाको राजधानी घोषणा गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र म्याङलुङ नगरपालिकाको संयुक्त आयोजनामा घोषणा गरिएको ढाका कपडाको राजधानी तेह्रथुमले पनि स्वदेशी उत्पादनको प्रवद्र्धन तथा बजारीकरणमा सकारात्मक भूमिका खेल्ने आशा छ । जिल्लामा उत्पादित ढाका कपडाको प्रवद्र्धन गरी ढाका उद्योगको विकास, विस्तार र बजारीकरण गर्ने उद्देश्यका राखिएको यस कार्यक्रमलाई पनि स्थानीय सरकारको साथ रहने तथा रोजगारी सिर्जनामा मद्दत हुने अपेक्षा गर्न सकिन्छ । तर, ढाका कपडा उत्पादनका लागि कच्चा पदार्थ तथा सीप महŒवपूर्ण छ । स्वदेशी उत्पादनले आयात प्रतिस्थापन गर्ने तथा दीर्घकालमा विभिन्न मुलुकहरूमा निर्यात प्रवद्र्धन गर्न सकिने हुँदा सरकारले स्थानीय उद्यमीलाई नीतिगत रूपमा सहजीकरण गर्ने तथा ब्रान्डिङ गरेर बजारीकरणमा मद्दत गर्ने हो भने मुलुकमा रोजगारी सिर्जना हुन्छ । यसबाट हाल निराश युवा मुलुकमा नै परिश्रम गर्ने वातावरण पनि बन्छ । वैदेशिक रोजगारीले कुनै पनि मुलुक समृद्ध हुँदैन, यो एउटा मध्यकालीन उपायमात्र हो । त्यसैले स्वदेशी वस्तु प्रवद्र्धन गर्न तिनको उपभोग बढाउने उपाय गरौं ।

प्रतिक्रिया दिनुहोस्