Logo

पेट्रोलमा कोटा प्रस्ताव, भाउ बढ्यो

यसअघि पेट्रोलियम पदार्थको खपत कम गर्न सातामा दुई दिन बिदा दिन सरकारलाई सुझाव दिएको नेपाल आयल निगमले इन्धनको खपत कम गर्न दुईपांग्रे र साना सवारीसाधनलाई पेट्रोलमा कोटा लगाउने अर्को प्रस्ताव अघि सारेको छ । स्मरणीय छ, सरकारले एक महिनामात्र सातामा दुई दिने बिदा लागू गरेर असार १ गतेदेखि रद्द गरेको थियो । तर, सरकारले हटाएको आइतबार सार्वजनिक बिदाको व्यवस्था पुनः लागू गर्न पनि निगमले सुझाव दिएको छ ।
निगमले डिजेल र पेट्रोल गाडीको आयात प्रतिबन्ध गर्न, सरकारी, निजी र दुई पांग्रेसहितका सबै खाले सवारी सधान पूर्ण क्षमतामा सञ्चालन गर्न, छोटो दूरीमा सवारीसधनको प्रयोग नगर्न, ढुवानीका सवारीसाधनहरु पूर्ण क्षमतामा चलाउने व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिएको छ । निगमले अधिकतम मात्रामा सवारीसाधन तथा घरायसी प्रयोगमा विद्युत खपत गर्ने वातावरण मिलाउन पनि सरकारलाई आग्रह गरेको छ ।
रुस तथा युक्रेनको लगातारको युद्धले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण वित्तीय स्थिति नाजुक भइरहेको भन्दै निगमले सरकारलाई पत्र नै लेखेर इन्धन खपत कम गर्ने १० उपाय सिफारिस गरेको निगमले जनाएको छ । निगमले घाटा चुलिएर थेग्नै नसक्ने अवस्था बनेको भन्दै प्रधानमन्त्री तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको ध्यानाकर्षण गराएर पत्र लेखेको हो ।
निगमले मोटरसाइकललाई एकपटकमा बढीमा ५ लिटर, कार र जिपलाई २० लिटर मात्रै इन्धन दिन आग्रह गर्दै शनिबार प्रमुख सहरमा सवारी साधन निषेध गर्न पनि सुझाव दिएको छ ।
साथै, आर्थिक स्रोतको व्यवस्था नभए निकट भविष्यमै इन्धन आपूर्ति प्रभावित हुन सक्ने चेतावनी पनि निगमले सरकारलाई दिएको छ । निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले लेखेको पत्रमा उल्लेख छ, ‘विषम परिस्थितिमा निगमलाई कुनै स्रोतबाट आवश्यक रकम उपलब्ध हुन सकेन, मूल्य समायोजन पनि हुन नसकेको हुँदा निकट भविष्यमा नै पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या हुनसक्छ ।’
घाटा धान्नै नसकिने अवस्थामा पुगेको भन्दै निगमले यसबाट बच्नका लागि इन्धन खपत कम गर्नुको विकल्प नभएको पनि पत्रमा उल्लेख गरेको छ । चालू आर्थिक वर्षको अन्त्यसम्म निगम ५५ अर्ब रुपैयाँ नोक्सानीमा जाने देखिएको पत्रमा उल्लेख छ । साथै, भारतलाई इन्धन खरिदको भुक्तानी गर्नुपर्ने रकम ३० अर्ब नाघेको पनि निगमले जनाएको छ ।
इन्धनको मूल्य वृद्धिका कारण मुलुकको अर्थतन्त्र र निगमलाई जोगाउन अन्य कुनै उपाय नरहेको निगमको दाबी छ । पछिल्ला महिनाहरुमा इन्धनको खपत पनि नघटेको तथा आर्थिक स्रोत पनि नजुटेका कारण सरकारसँग इन्धन खपत कम गर्ने उपायका लागि आग्रह गरिएको भन्दै निगमले सातामा दुई दिन बिदाले पेट्रोलको खपत घटेको दाबी गरेको छ ।

निगमका सुझाव
– दुईपांग्रेलाई एक पटकमा पाँच लिटर र चारपांग्रेलाई २० लिटरमात्रै इन्धन
– आइतबार सार्वजनिक बिदा दिने निर्णय पुनः लागू गर्ने
– सरकारी र निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्ने
– छोटा दूरीमा सवारीसाधनको प्रयोग नगरी पैदल यात्रा गर्न आह्वान गर्ने
– प्रत्येक शनिबार गाडीरहित सार्वजनिक बिदाको घोषणा गर्ने
– विद्युतीय सवारीसाधनको प्रयोग वृद्धि गर्न प्रमुख सहर र राष्ट्रिय राजमार्गहरुमा निःशुल्क चार्जिङ स्टेसन निर्माण गर्ने
– सार्वजनिक तथा निजी पार्किङ स्थानमा विद्युतीय सवारीसाधनका लागि निःशुल्क पार्किङस्थल तोक्ने
– पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन र अन्य उपकरण आयातमा प्रतिबन्ध लगाउने
– खाना पकाउने ग्यासको खपत कम गर्न विद्युतीय चुल्हो सहुलियत दरमा बिक्री गर्ने र घरायसी प्रयोजनको बिजुलीको शुल्क कम गर्ने
– ठूला उद्योग, परियोजना, होटल लगायतले डिजेल र एलपीजी ग्यासको खपत नगरी बिजुलीको खपत गर्ने नियम बनाउने

भाउ बढ्यो
नेपाल आयल निगमले पेट्रोल, डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी एक लिटर पेट्रोलमा २ रूपैयाँ र डिजेल/मटीतेलमा ९ रूपैयाँ र आन्तरिक हवाई इन्धनमा ५ रूपैयाँ बढाएको हो ।
अब काठमाडौं उपत्यकामा पेट्रोल १८१ रूपैयाँ, डिजेल र मटीतेल १७२ रूपैयाँ प्रतिलिटर पर्ने भएको छ । आन्तरिक हवाई इन्धनको मूल्य १९० रूपैयाँ प्रतिलिटर पुगेको छ । खाना पकाउने एलपी ग्यासको भने मूल्य भने यथावत् (१ हजार ८ सय रूपैयाँ) छ । यसअघि असार ११ गते आयल निगमले पेट्रोलमा २० रूपैयाँ तथा डिजेल र मटीतेलमा २९ रूपैयाँ घटाएको थियो ।

प्रतिक्रिया दिनुहोस्