इन्धनको मूल्य समायोेजनमार्फत महँगी नियन्त्रण «

इन्धनको मूल्य समायोेजनमार्फत महँगी नियन्त्रण

सरकारले इन्धनमा लगाउँदै आएको कर कटौती गरी मूल्य घटाएको छ । इन्धनको बढ्दो मूल्यका कारण बजारमा अत्यधिक महँगी बढेको गुनासो पनि सरकारले इन्धनमा कर घटाएको हो । सरकारले डिजेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ प्रतिलिटर कर कटौती गर्ने निर्णय गरेर शनिबार राति १२ बजेदेखि लागू गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले दाबी गरेझैं इन्धनको कर कटौती भएपछि नागरिकलाई राहत हुने आशा गर्न सकिन्छ । किनकि पेट्रोलियम पदार्थको मूल्य बढ्दा सर्वसाधारणको जीवनमा नकारात्मक असर परेको छ । अत्यावश्यक वस्तुहरूमा मूल्यवृद्धि हुँदा मध्यम तथा निम्नवर्गीय नागरिकको जीवनयापनमा कठिनाइ भएको छ । एक साताअघिसम्म पनि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेका कारण घरेलु बजारमा भाउ बढेको तथा इन्धनको कर सरकारको राजस्व आम्दानी भएका कारण घटाउन नमिल्ने भनेको सरकारले अचानक फेरि करका दरमा समायोजन गर्न सरकार गम्भीर भएको हो कि भन्ने संकेत हो । तर, करका दर समायोजन गर्नुमात्र यसको निराकरण भने होइन । किनकि आगामी साता फेरि इन्धनको भाउ बढेर आउने अनि फेरि घरेलु बजारमा पनि भाउ बढ्ने पक्का छ । रूस तथा युक्रेनको युद्ध चाँडै समाप्त हुने लक्षण पनि देखिन्न । जसका कारण अन्तर्राष्ट्रिय बजारमा भाउ घट्ने कुनै संकेत पनि छैन । त्यसैले सरकारले भाउ घटाउन करको दर समायोजना गरेको हो । गत सातामात्र नेपाल आयल निगमले डिजेलमा प्रतिलिटर २७ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ भाउ बढाई पेट्रोल प्रतिलिटर १ सय ९९ रुपैयाँ र डिजेल १ सय ९२ रुपैयाँ कायम गरेको थियो । इन्धनमा भएको मूल्य वृद्धिको चौतर्फी विरोध भएपछि सरकारले कर समायोजन गरेर केही मत्थर गरेको छ । नयाँ मूल्यअनुसार डिजेल प्रतिलिटर १ सय ६३ र पेट्रोल १ सय ७९ रुपैयाँ कायम भएको छ । तर, यो दीर्घकालीन समाधान भने होइन । हाल नेपाल आयल नियमले इन्डियन आयल कर्पोरेसनबाट पेट्रोल १३१.९१ रुपैयाँ र डिजेल १४६.५२ रुपैयाँ प्रतिलिटरमा खरिद गरिरहेको छ । सरकारले उक्त खरिद मूल्यमा लगाएको पेट्रोलमा ६५.६१ रुपैयाँ र डिजेलमा ४९.५३ रुपैयाँ राजस्वमा मात्र समायोजन गरेको हो । यसबाट निगमलाई केही फरक पर्दैन ।
यसअघि पनि सरकारले १० रुपैयाँ कर कटौती गर्दै मूल्य समायोजन गरेको थियो । तर, त्यसको केही दिनमा नै आयल निगमले पुनः मूल्य बढाएको थियो । त्यसैले यस पटक पनि आगामी साता फेरि इन्धनको मूल्य बढ्ने अनुमान छ । सरकारले इन्धनमा कर कटौती गरेपछि मूल्य वृद्धिमा केही सहजता आउने देखिन्छ । किनकि पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्य वस्तु तथा सेवाको मूल्य पनि घट्नुपर्ने हुन्छ । तर, बजारमा सरकारको कमजोर उपस्थिति तथा अन्य गैरआर्थिक कारणले बजारभाउ महँगो भएको छ । साथै, नियामक निकायहरूको कमजोरी एवं अनुगमनको कमजोरीका कारण पनि बजार अराजक छ । इन्धनको भाउ घट्नासाथ आइतबारदेखि नै सार्वजनिक यातायातको भाडा पनि घटेको छ । आइतबारदेखि लागू हुने गरी यात्रुवाहक सवारी साधनको भाडा ५.४१ प्रतिशतले घटेको छ । साथै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा ६.७९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा ७.६८ प्रतिशतले घटेको छ । यसरी घटेको भाडा दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने राष्ट्रिय रुटमा लागू हुनेछ । इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार स्वचालित रूपमा बढ्ने वा घट्ने व्यवस्थाअनुसार मूल्य समायोजन गरिएका कारण यसले बजारमा केही राहत दिने अपेक्षा छ । यातायात तथा ढुवानीको भाडा घटेपछि यसले बजारमा भाउ पनि घटाउन मद्दत गर्ने अपेक्षा गर्न सकिन्छ । तर, यसका लागि सरकारको नियमन कडा हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्