कमलामाईको प्राथमिकतामा उत्पादनमुखी कार्यक्रम «

कमलामाईको प्राथमिकतामा उत्पादनमुखी कार्यक्रम

प्रदेश : बागमती
जिल्ला : सिन्धुली
पालिका : कमलामाई नगरपालिका, सिन्धुली
प्रमुख : उपेन्द्रकुमार पोखरेल
उपप्रमुख : मञ्जु देवकोटा
प्रमुख प्रशासकीय अधिकृत : विशकसेन ढकाल
वडा संख्या : १४
जनसंख्या : ७७८४५
कमलामाई नगरपालिकाले उत्पादनमुखी कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेको छ । नगरको उत्पादनमुखी कार्यक्रमले युवालाई रोजगारीसँग जोड्नेछ । नगरवासी युवा, महिला, बालबालिका तथा लक्षित समूहका लागि आयमूलक कार्यक्रममा जोड्ने पहिलो प्राथमिकता छ । सँगै दीर्घकालीन सडक निर्माणका जस्तै नगरपालिकाका सबै सडक कालोपत्रे हुने गरी र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तता दिने योजना छ । सफा खानेपानी, शिक्षा र स्वास्थ्यलाई विशेष जोड दिने छौँ । नगरवासीलाई स्वच्छ खानेपानीको व्यवस्था गरिनेछ । अहिले नगरपालिकामा वितरण भइरहेको धाराको पानी पिउन योग्य छैन । विभिन्न मुहानबाट वितरण भइरहेको धाराको पानी पिउनयोग्य छैन । हाल वितरण गरिएका मुहानको पानीलाई पाँच वर्षभित्रमा यहाँका बासिन्दाले ढुक्कसँग पिउन सक्ने बनाउने मेरो योजना छ । नगरवासीको आवश्यकताका आधारमा काम गर्ने म प्रतिबद्धता गर्छु । नगरवासीको आवश्यकतालाई ध्यानमा राखेर काम गर्नेछु, आजको विकासलाई होइन, दिर्घकालीन विकासलाई जोड दिनेछु । विगतमा नगरपालिकाको सबै ठाउँमा सम्मान विकास भएको छैन । त्यसले गर्दा जनता निराश भएको देखिन्छ । मेरो कार्यकालमा सम्मान रूपले विकास निर्माणका काम गर्नेछु । वैशाखमा म निर्वाचित भएर नगरपालिका आएसँगै कर छुट गरेको छु । अनुत्पादिक क्षेत्रमा जनताले तिरिरहेका कर छुट गरिएको छ । सिन्धुलीगढीमा निर्माण भएको युद्ध संग्रहालय अवलोकनमा ५० प्रतिशत छुट र समाचार संकलनका लागि जाने पत्रकारलाई निःशुल्क प्रवेश गर्न दिने निर्णय भएको छ । आगामी दिनमा नगरवासीको आवश्यकताका साथै मागका आधारमा करको दायरा फराकिलो बनाउँदै लगिनेछ । बढीभन्दा बढी स्रोतको व्यवस्थापन गरेर नगरवासीको चाहना पूरा गर्ने लक्ष्यका साथ अघि बढेका छौँ । नगवासीको त्यति ठूलो चाहना छैन । नगरका सबै सडक कालोपत्रे होस्, सफा होस्, सार्वजनिक स्थानमा शौचालय होस्, शुद्ध खानेपानी धारामा आओस् भन्ने नै छ । हरेक सडकलाई कालोपत्रे बनाउन तत्काल सम्भव नहोला । भएका सडकलाई सफा बनाउन सकिन्छ, शौचालय बनाउन सकिन्छ । खानेपानीको पनि व्यवस्थापन गर्न सकिन्छ । घरेलु उद्योग, मझौला उद्योग, आफैंले उत्पादन गरेका वस्तुहरूको बजारीकरणको थलो हुनेछन् । नगरवासीलाई उद्यमशील र स्वावलम्बन बनाउने सोच अगाडि सारिसकेका छौँ । बेरोजगारीको तथ्यांक लिने र कहाँ कसरी दक्ष जनशक्ति बनाउने भनेर कामहरू गरिनेछ । नगरवासीलाई दक्ष बनाएर रोजगारीमा आबद्ध हुने वातावरण बनाउन लाग्नेछौँ । नगर कृषिको उर्वर भूमि हो । तरकारी खेती, पशुपालन, पोल्ट्री फार्म, केराखेती, माछापालनजस्ता क्षेत्रलाई प्रवद्र्धन गर्नेछौँ । कृषिमा किसानलाई प्रोत्साहन गर्ने नीति तथा बजेटहरू बनाएका छौँ । कृषिमा युवाहरूलाई व्यावसायिक रूपमा लाग्ने बनाउन ब्याज अनुदानका कार्यक्रम, विदेशको सीप, स्वदेशमा लगानीजस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनेछौँ । स्पष्ट कार्यविधि बनाएर रोजगारी सिर्जना गर्न लाग्नेछौँ । निर्वाचनका बेला जाँदा बेरोजगारीको ठूलो समस्या देखिएको छ । बेरोजगारी घटाउनका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारले मिलेर काम गर्नुपर्ने टड्कारो आवश्यकता महसुस गरेको छु । अब तीनै तहका सरकारले यसलाई योजनाबद्ध ढंगबाट काम गर्नुपर्छ । विगतमा सञ्चालन गरिएका प्रधानमन्त्री रोजगार कार्यक्रम र मुख्यमन्त्री रोजगार कार्यक्रमलाई अझै प्रभावकारी र युवाहरूलाई लाभ हुने गरी सोच्नुपर्ने देखिन्छ । यहाँका जनताको स्वास्थ्य सुविधाका लागि कम्तीमा एक स्वास्थ्य संस्थामा चिकित्सकको व्यवस्था गर्ने तथा एम्बुलेन्स सेवालाई सुलभ र प्रभावकारी बनाउनेछौँ । ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा लिन जान÷आउन निकै समस्या भएको कुरा चुनावी दौरानका क्रममा सुनाउनुभएको छ, त्यसलाई समाधान गरेर कम्तीमा वडाबाटै वितरण गर्ने व्यवस्था मिलाउनका लागि मेरो प्रयत्न हुनेछ ।

प्रस्तुति: उर्मिला भट्टराई

प्रतिक्रिया दिनुहोस्