इन्धनको कर कटौती गरेर मूल्य समायोेजन «

इन्धनको कर कटौती गरेर मूल्य समायोेजन

सरकारले इन्धनमा लाग्दै आएको कर कटौती गरी मूल्य घटाएको छ । इन्धनमा अत्यधिक मूल्य वृद्धि हुँदा नागरिकको दैनिक जीवन निर्वाहमा परेको असरलाई मध्यनजर गर्दै सरकारले डिजेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ प्रतिलिटर कर कटौती गर्ने निर्णय गरेको हो ।
यो निर्णयसँगै शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ प्रतिलिटर मूल्य घटेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शनिबार पत्रकार सम्मलेन गर्दै इन्धनको कर कटौती गरिएको जानकारी दिएका हुन् । “पेट्रोलियम पदार्थको मूल्य बढ्दा सर्वसाधारणको जीवनमा यसले नकारात्मक असर परेको छ । यसैलाई देखाएर बजारमा मूल्य वृद्धि गरिएको छ । त्यसैगरी अत्यावश्यक वस्तुहरुमा पनि यसैकारण मूल्य वृद्धि भएको छ । यसले सर्वसाधारण जनता मारमा परेको कुरामा सरकार गम्भिर हुँदै करलाई समायोजन गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरिएको छ,” उनले भने ।
केही दिनअघि नेपाल आयल निगमले डिजेलमा प्रतिलिटर २७ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ भाउ बढाई पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजेल १९२ रुपैयाँ कायम गरेको थियो । इन्धनमा भएको मूल्य वृद्धिको चौतर्फी विरोध भएपछि सरकारले कर कटौती गरेर मूल्य घटाएको हो ।

नयाँ मूल्यअनुसार डिजेल प्रतिलिटर १६३ र पेट्रोल १७९ रुपैयाँ कायम भएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सरकारलाई पेट्रोलियम पदार्थको मूल्य घटाउन सुझाव दिएको थियो ।
अहिले नेपाल आयल नियमले इन्डियन आयल कर्पोरेसन (आईसोसी)बाट पेट्रोल १३१.९१ रुपैयाँ र डिजेल १४६.५२ रुपैयाँ प्रतिलिटरमा खरिद गरिरहेको छ । त्यसमा सरकारले पेट्रोलमा ६५.६१ रुपैयाँ र डिजेलमा ४९.५३ रुपैयाँ राजस्व उठाउँदै आएको छ । ढुवानी भाडा, व्यवसायीको मुनाफा, निगमको खर्चसमेत गरी पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ तथा डिजेल प्रतिलिटर १९२ रुपैयाँ पुगेको थियो । यसमा शनिबार कर कटौती गरी मूल्य समायोजन गरिएको हो ।
यसअघि पनि सरकारले १० रुपैयाँ कर कटौती गर्दै मूल्य समायोजन गरेको थियो । तर, त्यसको केही दिनमा नै आयल निगमले पुनः मूल्य बढाएको थियो ।
सरकारले इन्धनमा कर कटौती गरेपछि मूल्य वृद्धिमा केही सहजता आउने देखिएको छ । इन्धनको भाउ बढ्दा बजारमा देखिएको महँगी केही नियन्त्रण हुने आकलन पनि गरिएको छ । सत्तारुढ गठबन्धनको बैठकले समेत सरकारलाई सबै वस्तुमा भएको मूल्य वृद्धि नियन्त्रण गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्