पेट्रोलको भाउ घटाउने मन्त्रीको आश्वासन

सरकारले कर समायोजन गरेर पेट्रोलियम पदार्थको भाउ घटाउने संकेत गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पछिल्लो समय पेट्रोलियम पदार्थमा वृद्धि गरिएको मूल्य घटाउने संकेत गर्दै करका दरहरुमा समायोजन गर्न सकिने जनाएका हुन् ।
करका दरहरुमा समायोजन गरेरै भए पनि पेट्रोलियम पदार्थको मूूल्य समायोजन गर्नुपर्ने विषय संसद्मा उठेको र सरकारको ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले सरकार सोही अनुसार अघि बढ्न सक्ने बताए । बिहीबार उनले विद्युतको खपत बढाएर पनि पेट्रोलियम पदार्थको मूल्यलाई सहज बनाउन सकिने योजनामा सरकार रहेको पनि बताए । मन्त्री बडूले भने, “पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने विषयमा सरकारको ध्यानाकर्षण भएको छ ।”
मन्त्री बडूले विद्युत खपत बढाएर पेट्रोलियम पदार्थको निर्भरता घटाउने कामलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको दाबी समेत गरे । यसअघि संसद्मा बोल्दै उनले सरकारको राजस्वमा असर पर्ने कारण करका दर पनि घटाउन नमिल्ने बताउँदै आएका मन्त्री बडूले अन्तर्राष्ट्रिय बजारमा भाउ बढेका तथा नेपालको उत्पादन नभएका कारण पेट्रोलियम पदार्थको मूल्य बढाउनु सरकारको बाध्यता भएको बताएका थिए ।

अन्तर्राष्ट्रिय बजारमा भाउ बढको भन्दै सरकारले आइतबार राति पेट्रोल, डिजेल र मटीतेलको भाउ बढाएको थियो । पेट्रोलको भाउ २१ रूपैयाँले बढेर प्रतिलिटर १९९ पुगेको छ भने डिजेल र मटीतेलको मूल्य प्रतिलिटर २७ ले बढेर १९२ रुपैयाँ पुगेको छ । भारतबाट नेपालमा इन्धनको मूल्य बढेर आएको भन्दै नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनमा भाउ बढाएको हो । यसैगरी, आन्तरिक तथा बाह्य हवाई इन्धनको मूल्य पनि बढेको छ । तर, खाना पकाउने ग्यासको भाउ भने बढेको छैन ।
पेट्रोलको भाउ १९९ प्रतिलिटर हुँदा पनि आयल निगमलाई प्रतिलिटर १३.५८ रुपैयाँ घाटा रहेको निगमको दाबी गरेको छ । यस्तै, प्रतिलिटर डिजेलमा १३.९५ रुपैयाँ घाटा तथा मटीतेलमा ४३.०६ रुपैयाँ नाफा रहेको निगमको भनाइ छ ।
सरकारले जेठ १९ गते पूर्वाधार कर बराबर प्रतिलिटर १० रुपैयाँ पेट्रोल, डिजेल र मटीतेलमा मूल्य समायोजन गरेको भए पनि त्यसयता यो दोस्रो मूल्यवृद्धि हो । इन्धनमा भाउ बढ्दा समग्र वस्तु तथा सेवामा भाउ बढ्ने हुनाले महँगी झन् बढेको छ ।