कोरिया जाने श्रमिक बढे «

कोरिया जाने श्रमिक बढे

सन् २०२२ को ६ महिनामा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जाने नेपाली युवाको संख्या ३ हजार पुगेको छ । कोरोना संक्रमणका कारण लामो समय रोकिएको कोरियाको रोजगारी संक्रमणको कमीसँगै पुनः लयमा फर्किएको हो ।
कोरोना संक्रमणअघि औषत वार्षिक ६ हजार युवा कोरिया जाने गरेकोमा ६ महिनामा मात्र त्यसको आधा अर्थात् २ हजार ९२२ श्रमिक कोरिया प्रवेश गरेको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागले सार्वजनिक गरेको जेठ महिनासम्मको प्रगति प्रतिवेदनमा विगत २ आवको तुलनामा उल्लेख्य सुधार भएको जनाइएको छ । विभागका महानिर्देशक शेषनारायण पौडेलले सन् २०२० मा १ हजार २७ युवा कोरिया प्रवेश गरेकोमा २०२१ मा घटेर ३८७ मा झरेको भए पनि २०२२ मा सो संख्या ३ हजारको हाराहारीमा पुगेको जानकारी दिए ।
ईपीएस अन्तर्गत कोरिया जाने श्रमिक बढेसँगै कोरियाबाट आउने रेमिट्यान्स समेत वृद्धि हुने भएको छ । कोरोना संक्रमणपछि कोरियाले जनस्वास्थ्यसँग सम्बन्धित विभिन्न शर्त पूरा गरेपछि पहिलो चरणमा प्रतिवद्ध श्रमिक (कमिटेड वर्कर) लाई लैजाने गरी कोरियाको रोजगारी नियमित भएको थियो । प्रतिबद्ध श्रमिक भनेको कोरियामा रोजगारीका क्रममा एकै रोजगारदातासँग नियमित ४ वर्ष १० महिना काम गरेर पुनः रोजगारीका लागि अनुमति पाएका श्रमिक हुन विगत २ वर्षदेखि ३ हजार कमिटेड वर्कर र ७ हजार नयाँ श्रमिक गरी १० हजार युवा रोकिएको कोरियाको रोजगारी सुचारु हुने आशामा बसेका थिए ।
विश्वभरी महामारीका रुपमा फैलिएको कोभिड १९ को कारणले विगतमा लकडाउन भई अन्तर्राष्ट्रिय उडान समेत बन्द भएकोले दक्षिण कोरियामा नियमित तथा कमिटेड कामदारहरुको उडान प्रकृया रोकिएको थियो । ईपीएस अन्तर्गत हालसम्म करिब ७० हजार भन्दा बढी नेपाली युवा कोरिया पुगिसकेका छन् । तीमध्ये ३५ हजारको हाराहारीमा नेपाली युवा कोरियामा कार्यरत रहेका छन् ।

तुलनात्मक रुपमा नेपाली श्रमिकहरु कर्तव्यनिष्ठ, इमानदार, लगनशील र मेहनति भएकाले कोरियन रोजगारदाताको छनौटमा उच्च प्राथमिकतामा पर्ने गरेका कारण पनि कोरियन पक्ष बढीभन्दा बढी नेपाली श्रमिक लैजाने सम्बन्धमा सकारात्मक भएको छ । महामारीका कारण कोरियन सरकारले अन्य १२ देशबाट समेत कामदार माग गर्ने प्रक्रियामा रोक लगाएका बेला नेपाली श्रमिकले कोरिया प्रवेश पाएका थिए । नेपाली श्रमिकलाई कोरिया पठाउने प्रकृया सुचारु गर्नका लागि नेपाल सरकारको तर्फबाट विभिन्न चरणमा एचआरडी कोरिया समक्ष प्रयास गरेको थियो । सन् २०२० को मार्चबाट श्रम सम्झौता र भिसा इस्यू भएका १० हजार भन्दा बढी श्रमिक कोरिया जान नपाएर रोकिएका थिए ।
दक्षिण कोरियाले श्रमिक लैजाने क्रमसँगै हालै ५ वर्षयताकै सबैभन्दा बढी श्रमिक नेपालबाट लैजाने गरी पहिलो छनोट चरणको भाषा परिक्षाको आवेदन माग गरेको छ । ईपीएस शाखाले परीक्षा आवेदन दिने अन्तिम म्यादसम्म कृषि क्षेत्रतर्पm १० हजार ८५८ र उत्पादनमूलक क्षेत्रमा ३३ हजार ९९५ को आवेदन परेको जानकारी दिएको छ । विगत वर्षको तुलनामा कोरोनाका कारण बीच–बीचमा कोरिया जाने क्रम रोकिएका कारण कोरियाको रोजगारीप्रति युवाको आकर्षण घटेको देखिन्छ । सन् २०१९ पछि २ वर्ष रोकिएको भाषा परीक्ष २०२२ को लागि ९ हजार ६५४ जनालाई छनोट गर्ने योजना सहित जेठबाट परीक्षा सञ्चालन गर्न आवेदन माग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्