सैन्य हस्तक्षेपका विषयमा अमेरिकी प्रशासन विभाजित

भेनेजुएलामा जारी राजनीतिक विद्रोहमा अमेरिकाले सैनिक हस्तक्षेप गर्ने भनिएको विषयमा यहाँका अधिकारीहरूको मत विभाजन भएको छ ।
समाचारअनुसार यहाँ सैनिक हस्तक्षेप गर्नेबारेमा ठोस निर्णय हुन सकेको छैन । केही अधिकारीले यहाँ राजनीतिक समाधानमा जोड दिएका छन् भने कतिपय अधिकारीले भने यहाँको विवाद समाधानका लागि अमेरिकाले सेना पठाउनुपर्ने धारणा पनि राखेका छन् ।
बुधबारका अमेरिकी छापाहरूमा यस विषयमा अमेरिकी प्रशासन राष्ट्रिय सहमतिमा पुग्न नसकेको भनी विभिन्न समाचर टिप्पणीहरू आएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यहाँ अमेरिकी सैन्यबलमार्फत हस्तक्षेप गर्न सकिने इच्छा व्यक्त गरेको उनका एक जना पूर्व सहयोगीले जनाएका छन् ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ अझै पनि भेनेजुएलामा शान्तिपूर्ण समाधानकै आवश्यकता रहेको बताउँछन् । उनले भेनेजुएलाको अहिलेको राजनीतिक संकट शान्तिपूर्ण रूपमै समाधान होस् भन्ने चाहना धेरैको रहेको बताए ।
तर, उनले सैन्य कारबाहीलाई पनि नकारेनन् । यो संकटको समाधान शान्तिपूर्ण रुपमा नै निस्कियोस् भन्ने चाहना त धेरैको छ नै, तर पनि यसबाट सम्भव नभएमा सैनिक कारबाही पनि असम्भव नभएको उनले बताए ।
केही महिनाअघि अमेरिका र अन्य पश्चिमा राष्ट्रहरूले भेनुजुएलाका विपक्षी नेता हुवा ग्वाइदोलाई अन्तरिम राष्ट्रपतिको रूपमा मान्यता दिएका थिए । यो उनीहरूको अकस्मात् निर्णय आएपछि त्यहाँको राजनीतिक संकट झन् गहिरिएको हो ।
त्यसयता यहाँको राजनीति झन जटिल बन्दै गएको छ । विपक्षी नेता ग्वाइदोले राष्ट्रपति निकोलास मडुरोलाई सत्ताबाट हटाउनुपर्ने माग राख्दै आन्दोलन थालेका छन् ।
अहिले आएर उनले हालैमात्र नेता मडुरो सत्ताबाट नहटुन्जेल श्रृंखलाबद्ध रूपमा आम हड्तालको आह्वान गरेका छन् ।
सुरुमा विपक्षी नेता ग्वाइदोले सैन्य विद्रोह गराउन रचेको योजना विफल भएपछि उनले सरकारका विरुद्धमा आमहड्ताल थालेका थिए ।
उक्त सैन्य विद्रोह विफल भएपछि राजधानीमा भेला भएका हजारौँ प्रदर्शनकारीलाई सम्बोधन गर्दै उनले अबको चरणमा सरकारी कर्मचारी हड्तालमा सामेल हुने बताएका थिए ।
यो विद्रोह यस साता थप चर्किएको छ । विपक्षीहरूले सडकमा प्रदर्शन गरेका छन् र राष्ट्रपति निकोलास मडुरो नहट्दासम्म यो आन्दोलन जारी रहने बताएका छन् ।
यस विषयमा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले कुनै निर्णय गरेको छैन । तर, यसका लागि अर्थात् भेनेजुएलामा सैनिक हस्तक्षेपका लागि आफूहरूले कुनै तयारी भने नथालेको मन्त्रालयले बताएको छ ।
भेनेजुएलामा यतिखेर यहाँका दुवै जना नेताहरू वर्तमान राष्ट्रपति मडुरो र विपक्षी नेता ग्वाइदो दुवैको आफू नै यहाँको संवैधानिक राष्ट्रपति भएको दाबी छ ।
ग्वाइदोले राजनीतिक विद्रोहमार्फत आफूलाई नै अन्तरिम राष्ट्रप्रमुखका रूपमा स्वघोषणा गरेका थिए । तर, त्यसलाई सरकारले मान्यता दिएको छैन ।
त्यसपछि उनका विरुद्धमा सरकारले कारबाही थालेको छ । हाल यहाँको सरकारले उनको सम्पत्ति रोक्का गरेको छ र देश छाड्नसमेत प्रतिबन्ध लगाइएको थियो ।
तर, सरकारको त्यस घोषणाको उल्लंघन गर्न र मडुरोविरुद्धको आन्दोलनमा विदेशी समर्थन जुटाउन ग्वाइदोले दुई महिना अघिमात्र ल्याटिन अमेरिकी देशहरूको भ्रमण गरेका थिए ।
उनलाई सरकारले पक्राउ गर्ने भनेको भए पनि त्यसै त्रासकै बीच गत मार्च महिनामा उनी स्वदेश फर्किएका थिए ।