बढ्दो इन्धनको मूल्यले महँगो अर्थतन्त्र «

बढ्दो इन्धनको मूल्यले महँगो अर्थतन्त्र

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटीतेलको मूल्य बढाएको छ । आइतबार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर पेट्रोल १ सय ९९ रुपैयाँ, डिजेल र मटीतेल १ सय ९२ रुपैयाँ प्रतिलिटर भएको छ । साथै, हवाई इन्धन (आन्तरिक र बाह्य) को मूल्य पनि प्रतिलिटर १९ रुपैयाँ र प्रतिकिलोलिटर १ सय अमेरिकी डलर बढाइएको निगमले जनाएको छ । यसअघि २६ जेठमा इन्धनको मूल्य बढाएको निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) ले पछिल्लो पटक पठाएको मूल्यसूचीअनुसार समायोजन गरेर भाउ बढाइएको जनाएको छ । निगमका अनुसार आईओसीले २ असारमा पठाएको सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ६.५२ रुपैयाँ र डिजेलमा १९.०३ रुपैयाँ बढेको छ, जसका कारण निगमको खरिद लागत पेट्रोलमा प्रतिलिटर २१२.५८ रुपैयाँ र डिजेलको २०५.९५ रुपैयाँ पुगेको जनाएको छ भने हवाई इन्धनमा पनि आईओसीले लिटरको १९.९१ रुपैयाँ बढाएर पठाएको जनाएको छ । तर, प्रतिसिलिन्डर १८ सयमा बिक्री भइरहेको खाना पकाउने एलपी ग्यासमा पनि ७५१.१४ रुपैयाँ घाटा भएको भन्दै इन्धनमा समग्र रूपमा नयाँ मूल्यसूचीअनुरूप बेच्दा पनि १५ दिनमा २ अर्ब ३५ करोडभन्दा धेरै घाटा हुने निगमको भनाइ छ । निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैं कच्चा तेल खरिद गर्दैन । आईओसीबाट सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको निगमले आईओसीले हरेक महिना पन्ध्र–पन्ध्र दिनमा पठाएको मूल्यअनुरूप बढाएको जनाएको छ । तर, निगमले भाउ घटेर आउँदा घटाउने नगरेका प्रशस्त समय छन् । तर, हाल भने अन्तर्राष्ट्रिय बजारमा नै बढेका कारण निगमले बढेको जनाउँदै लगातार भाउ बढाएको छ । निगमले अन्तर्राष्ट्रिय बजारमा भाउ घट्दा नघटाएका कारण पनि उपभोक्तामाझ निगमको राम्रो छवि छैन । आईओसीले पठाएको मूल्यमा पेट्रोलियम आयात गरेबापत सरकारलाई तिर्नुपर्ने भन्सारलगायत महसुलहरू, आफ्नो प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसनसमेत जोडेर उपभोक्ता मूल्य तय गर्छ । अन्तर्राष्ट्रिय बजारमा रूसले तेल निर्यात गर्न नपाउँदा मूल्य अझै बढ्न सक्ने अनुमान छ, जसका कारण नेपालमात्र नभई विश्व नै प्रताडित भएको छ ।
तर, इन्धनको मूल्यवृद्धिले समग्र अर्थतन्त्र प्रभावित हुन्छ । नेपालजस्तो मुलुकमा त झन् इन्धनका कारण औद्योगिक उत्पादनको लागत पनि बढ्छ, जसका कारण नेपाली वस्तु बजारमा प्रतिस्पर्धा गर्न सक्दैनन् । नेपाली अर्थतन्त्र महँगो हुँदा नेपाली उत्पादनको आन्तरिक तथा बाह्य बजार दुवै बिग्रन्छ । किनकि नेपाल उद्योग परिसंघको औद्योगिक गतिविधिको अध्ययन प्रतिवेदन तेस्रो अंकका अनुसार चालू आर्थिक वर्ष २०७८÷०७९ को दोस्रो त्रैमासिक अवधिमा उत्पादनमूलक उद्योग र सेवाक्षेत्रका उद्योगले आफ्नो कुल उत्पादन क्षमताको ७१ प्रतिशत क्षमता मात्र उपयोग गरेको देखाएको छ । त्यतिमात्र नभएर विद्युत्को आपूर्तिमा आउने समस्याका कारण अझै पनि ६४.४ प्रतिशत उद्योगले जेनेरेटर प्रयोग गरिरहेको अध्ययनले देखाएको छ । यसबाट स्पष्ट छ, नेपाली उत्पादनको लागत बढ्दो छ । इन्धनको मूल्यवृद्धि हुनुको अर्थ नेपाली उत्पादन झन् महँगो हुनु हो । प्रतिवेदनले अघिल्लो आर्थिक वर्ष २०७७÷०७८ को दोस्रो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा उद्योगको आय वृद्धिदर २७.१ प्रतिशत बढेको देखाएका कारण व्यवसायको क्षमता उपयोग सुधारोन्मुख रहेको देखिन्छ । तर, अझै आधाभन्दा बढी उद्योगले नियमित विद्युत् आपूर्तिको अभावमा जेनेरेटर प्रयोग गर्नुपर्ने कारण उत्पादन लागत महँगो हुनु स्वाभाविक हो । एकातिर उत्पादन लागत बढ्ने अनि अर्कातिर इन्धनको मूल्य बढ्दा ढुवानी लागत पनि बढ्दै जाँदा स्वाभाविक रूपमा नेपाली उत्पादन आन्तरिक तथा बाह्य बजारमा प्रतिस्पर्धा गर्न असक्षम हुँदै गएको छ । त्यसका अतिरिक्त उत्पादनमूलक उद्योगले औसतमा ९.४ प्रतिशत ब्याज तिरेका छन्, जुन गत वर्षको सोही अवधिमा ८.६ प्रतिशत मात्र थियो भने सेवाक्षेत्रका उद्योगले औसतमा ९.१ प्रतिशत ब्याज तिरेका छन् । इन्धनको मूल्यवृद्धिले लागतदेखि ढुवानीसम्म मूल्यवृद्धि हुने अनि अर्कातिर ब्याज बढ्दै जाँदा यसै पनि नेपाली उत्पादन बजारमा टिक्न गा¥हो हुने देखिन्छ । सरकारको स्थानीय उत्पादनलाई बढावा दिने योजना हचुवाका भरमा बनाइएको तथा लोकप्रिय हुन मात्र स्वदेशी उत्पादन बढाउने नारा दिने गरेको स्पष्ट छ ।

प्रतिक्रिया दिनुहोस्