समावेशीकरणमा जोड दिँदै राष्ट्रिय बिमा नीति «

समावेशीकरणमा जोड दिँदै राष्ट्रिय बिमा नीति

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटलाई आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र बञ्चितीकरणबाट समावेशीतातर्फ प्रस्थान बजेटका रुपमा प्रस्तुत गरिएकाले सोही अनुसार निर्देशित भएर राष्ट्रिय बिमा नीतिको मस्यौदालाई अन्तिम रुप दिन सम्बद्ध पदाधिकारीहरुलाई निर्देशन दिएका छ्न ।
अर्थमन्त्री शर्माले सरकारले बजेटमा बिमासहित पुँजी बजारलाई प्राथमिकता दिएको बताए । देशका सबै क्षेत्र र वर्गलाई समेट्ने गरी समावेशीकरणमा जोड दिने भन्दै मन्त्री शर्माले बिमा कम्पनीले नाफामुखी मात्र नहेरी सेवा सहितको उत्तरदायित्व बहन गर्ने र सचेतनापूर्वक ढङ्गले स्वतःस्फूर्तरुपले बिमा गर्ने अवस्था सिर्जना गर्ने गरी राष्ट्रिय बिमा नीतिको मस्यौदालाई अन्तिम रुप दिनुपर्ने बताए ।
अर्थमन्त्री शर्माले ठूला टावरका साथै सरकारी र निजी क्षेत्रका संरचनाहरुको समेत बिमा गर्ने र कृषि तथा पशुपन्छी बिमाको दाबी सजिलै पाउने गरी कृषि तथा पशुपन्छी बिमा गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुपर्ने बताए ।
उनले राष्ट्रिय पुँजी निर्माण र उत्पादनमा बिमालाई परिचालन गर्नेतर्फ गम्भीरतापूर्वक ध्यान दिन आग्रह गर्दै बिमा सूचना केन्द्र स्थापना गर्न र हरेक जिल्ला तथा पालिकामा बिमा सम्बन्धी शिक्षा एवम् चेतना फैलाउन बिमा सम्बन्धी तालिमप्राप्त जनशक्ति तयार गर्नुका साथै प्रविधि विकासमा समेत जोड आग्रह गरे ।
उनले सरकारको मुख्य उद्देश्य गरीबी न्यूनीकरण भएकाले गरीबी न्यूनीकरणमा ठोस योगदान पुग्ने गरी राष्ट्रिय बिमा नीतिको मस्यौदालाई अन्तिम रुप दिन समेत निर्देशन दिए ।
अर्थसचिव मधुकुमार मरासिनीले बिमालाई आम जनताले विश्वास गर्ने गरी सुरक्षित, व्यवस्थित र विश्वसनीयरुपमा अगाडि लगेमा मात्र नागरिकको हित हुने बताए ।
अर्थ मन्त्रालयका राजस्व सचिव कृष्णहरि पुष्करले बिमा क्षेत्रमा व्यवसाय र सेवाबीच सन्तुलन कायम गरी जेष्ठ नागरिक, विरामी र अपाङ्गता भएकाहरुलाई समेत बिमामा कसरी समेट्न सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्ने बताए ।
बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सम्बद्ध सबै सरोकारवालाहरुको सुझाव र बिमाा सम्बन्धी अन्तर्राष्ट्रिय प्रचलन एवम् अभ्यास समेतका आधारमा राष्ट्रिय बिमा नीतिको मस्यौदा तयार गरिएको बताए । उनले राष्ट्रिय बिमा नीति आएपछि सोही नीति अनुरुप प्रदेश र स्थानीय बिमा नीति तर्जूमा हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्